निजामती संगठनले भन्यो- राजनीतिक नेतृत्व नसच्चिएसम्म मुलुकमा सुशासन कायम हुँदैन
काठमाडौं, भदौ ९ : नेपाल निजामती कर्मचारी संगठनले राजनीतिक नेतृत्व नसच्चिएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने बताएको छ।
राजधानीमा सोमबार....

काठमाडौं, भदौ ९ : नेपाल निजामती कर्मचारी संगठनले राजनीतिक नेतृत्व नसच्चिएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने बताएको छ।
राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले भ्रष्टाचार र समयमै काम सम्पन्न हुन नसक्नुमा सधै कर्मचारी प्रशासनलाई दोषारोपण गर्ने काम भएको भन्दै आपत्ति जनाए।
उनले कर्मचारीलाई नियम विपरीत कामका लागि निर्देशन दिने राजनीतिक नेतृत्व नै सच्चिनु पर्ने आवश्यकता बताए। सरकारका मन्त्री, स्थानीय जनप्रतिनिधिलगायतले जेठ असारमा करोडाैंको काम गर्न निर्देशन दिने गरेको भन्दै उनले नियम विपरीत काम गर्न नमानेपछि कर्मचारीलाई दोषारोपण गर्ने गरिएको दाबी गरे।
सार्वजनिक खरिद ऐन विपरीत काम गर्न अस्वीकार गरेपछि नेतृत्वले कर्मचारी प्रशासनले काम गर्न दिएन भन्ने गरेको उल्लेख गर्दै देवकोटाले सबैभन्दा पहिले पानीको मुहान नै सफा हुनुपर्ने तर्क गरे।
उनले माघ–फागुनभित्र गर्नुपर्ने काम असारमा गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। उनले नियम संगत काम गर्नेलाई पुरस्कृत र नियम विपरीत गर्नेलाई दण्डित गर्ने काम नभएसम्म सुशासनको क्षेत्रमा सधै प्रश्न उठिरहने बताए।
उनले नेपाल सरकारले दरबन्दी भन्दा बढी संख्यामा कर्मचारी समायोजन गरेकाले स्थानीय तहले हाजिरी नगराउँदा १ सय ५० बढी कर्मचारीहरु अलपत्र परेको बताए। दरबन्दी सिर्जना गर्दा सम्बन्धित नगरपालिका, स्थानीय तह र सरकारबीच समन्वय हुन नसक्दा समस्या भएको उनको तर्क छ।
पत्रकार सम्मेलनमा पेशागत महासंघ नेपालसँग आवद्ध निजामती कर्मचारीहरुको राष्ट्रिय स्तरको ट्रेड युनियन नेपाल निजामती कर्मचारी संगठनको यही भदौ ६ र ७ गते काठमाडाैंमा सम्पन्न छैठौँ बैठकले गरेका निर्णयहरु सार्वजनिक गरिएको थियो।
बैठकले पेशागत हक हितलगायत विषयमा २९ बुँदे माग पत्र सार्वजनिक गर्दै सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएको छ।











-1784808429.png)