प्रचण्डको अध्यक्षतामा बसेको बैठकले गर्यो थप कार्य विभाजन
काठमाडौं भदौ ९ : पार्टी एकताको १५ महिनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पहिलो चोटी बसेको सचिवालय बैठकल....
काठमाडौं भदौ ९ : पार्टी एकताको १५ महिनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पहिलो चोटी बसेको सचिवालय बैठकले विभिन्न जिल्ला, जनसंगठन र विभागका उपप्रमुख तथा सहइञ्चार्जको जिम्मेवारी तोकेको छ। केन्द्रीय कमिटीमा चार जना नयाँ सदस्य थप गरेकाे छ भने पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले केहीको जिम्मेवारी हेरेफेर समेत गरेको छ।
बैठकले नयाँशक्ति पार्टीबाट आएका दुई र विद्नाेही नेकपाबाट आएका दुई जना गरी चार जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । नयाँशक्ति पार्टीबाट आएका देवेन्द्र पराजुली र कल्पना धमला तथा विद्नाेही नेकपाबाट आएका पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनयन गरेको हाे । पराजुली र धमला नाताले पतिपत्नी हुन् । धमला पूर्वमन्त्री समेत हुन् ।
नयाँ चार जना थपिएपछि नेकपा केन्द्रीय समिति चार सय ४५ सदस्यीय भएको छ ।
बैठकले कानुनमन्त्री भानुभक्त ढकाललाई सुरक्षा विभाग प्रमुखको जिम्मेवारी दिएको छ। यो विभागको उपप्रमुखमा यसअघि खोटाङको सहइञ्चार्ज रहेका रामकुमार राईलाई ल्याइएको छ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेललाई प्रादेशिक मामिला विभागको उपप्रमुखको जिम्मा तोकेको छ। नेकपाको प्रादेशिक विभागको प्रमुख घनश्याम भुसाल छन्। युवानेतृ रामकुमारी झाँक्रीलाई इञ्जिनीयर संगठनको सहइञ्चार्ज बनाएको छ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेललाई प्रादेशिक मामिला विभागको उपप्रमुख नियुक्त गरिएको छ। यो विभागको प्रमुखमा घनश्याम भुसाल छन्।
त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख रहेको विदेश विभाग उपप्रमुखमा विष्णु रिजाल नियुक्त भएका छन्। उनी यसअघि साविक एमाले प्रचार विभाग सचिव थिए। माधवकुमार नेपाल प्रधानमन्त्री छँदा उनी प्रेस सल्लाहकार भएका थिए।
बैठकले झलनाथ खनाल नेतृत्वको नीति अध्ययन प्रतिष्ठानको सहसंयोजकमा पूर्वराजदूत प्रमेश हमाललाई चयन गरेको छ।
बैठकले सहकारी तथा गरिवी निवारण विभागको उपप्रमुखमा कमल चौलागाईलाई थपेको छ। त्यस्तै कर्णाली अञ्चल सम्पर्क समन्वय कमिटीको इञ्चार्जमा सत्य पहाडी र सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको इञ्चार्जमा वीरमान चौधरीलाई जिम्मेवारी तोकेको छ।
जनवर्गीय संगठनतर्फ सहइञ्चार्ज थपिएको छ। महिलामा अमृता थापा र सीता पौडेल, आदिवासी जनजातिमा सुरेश आलेमगर र शेरबहादुर तामाङ, दलित मुक्ति मोर्चाको सहइञ्चार्जमा तिलक परियार र बोमवहादुर विक तथा प्रेस संगठनमा महेश्वर दाहाल सहइञ्चार्ज थप गरिएका छन्।
जनसांस्कृतिक महासंघको इञ्चार्जमा केदार न्यौपाने र सहइञ्चार्ज खगेन्द्र राई चयन भएका छन्। खेलकुद महासंघ र सम्बद्ध मोर्चाको इञ्चार्जमा जीवन घिमिरे र अजम्बर काङमाङ नियुक्त भएका छन् भने शिक्षक सम्बद्ध संगठनको सहइञ्चार्जमा हिक्मत कार्की चयन भएका छन्।
केही जिल्लामा सहइञ्चार्ज थपिएका छन्। तिलकुमार मेन्याङबो ताप्लेजुङ, भगवती चौधरी सुनसरी, प्रमोदनारायण यादव र हरिनारायण चौधरी सिरहा, चुँडामणी जंगली कास्की र दीपक देवकोटा कैलाली थपिएका हुन्। पर्सा जिल्ला इञ्चार्जमा रामचन्द्र साह तेली र मजदुर विशेष जिल्ला कमिटी सचिवमा बलराम खत्रीलाई जिम्मा दिइएको हो।
नेताविरुद्ध बाेल्न राेक
बैठकले कार्यकर्तालाई पार्टी र नेताको विषयमा सार्वजनिक आलोचना गर्न बन्देज लगाएको छ । सचिवालय बैठकले पार्टी नेता कार्यकर्ता आफूभित्रकै नेता कार्यकर्तामाथि जाइलाग्न थालेको निश्कर्षसहित सार्वजनिक टिका–टिप्पणीमा प्रतिबन्ध लगाएको हो ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीसँग भने, ‘हाम्रो पार्टीको नेतादेखि तल्लो तहका कार्यकर्तासम्मका कमरेडहरुको पार्टीका नेता वा कार्यकर्ताको बारेमा कुनै कुरा ब्यक्तिगत रुपमा उठाउनु परेमा पार्टीभित्र प्रक्रियासम्मत ढंगले उठाउनुपर्ने छ । यसलाई सार्वजनिक रुपमा गएमा स्पष्टीकरण प्रक्रिया अगाडि बढाउँदै कार्वाही गर्ने निर्णय बैठकले गरेको छ।'






