Kathmandu Press

युवराजको बयान सुरू, रवि लामिछानेको केहीबेरमा

चितवन, भदौ ९ : शालिकराम पुडासैनीको आत्महत्याको दुरुत्साहनको अभियोगमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको केहीबेरमा बयान लिइने भएक....

युवराजको बयान सुरू, रवि लामिछानेको केहीबेरमा
काठमाडौं प्रेस

चितवन, भदौ ९ : शालिकराम पुडासैनीको आत्महत्याको दुरुत्साहनको अभियोगमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको केहीबेरमा बयान लिइने भएको छ। उनीसँगै पक्राउ परेका युवराज कँडेलको बयान लिन थालिएको छ।

यस प्रकरणमा प्रहरीले रवि, युवराजसँगै अस्मिता कार्कीलाई पक्राउ गरेको थियो। अस्मितको हिजो बयान सकिएको थियो भने रवि र युवराजको बाँकी रहेको थियो।

आज बिहान कार्यालय खुल्ने वितिक्कै रवि र युवराजलाई जिल्ला प्रहरी कार्यालयको टोलीले जिल्ला अदालत चितवनमा पेश गरेको हो। जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासमा युवराजको बयान सुरू भएको श्रेस्तेदार रुद्रमणि गिरीले बताए।

उनका अनुसार, युवराजको बयान सकिएपछि रविको बयान लिइनेछ। ‘अहिले युवराजको बयान लिन थालिएको छ, त्यसपछि रविको बयान लिइनेछ,’ श्रेस्तेदार गिरीले भने।

दुवैको बयान सकिएपछि आजै थुनछेकको बहस हुनेछ। त्यसमा पक्ष र विपक्षका वकिलले बहस गर्नेछन्। सरकारी वकिलसँगै रवि, युवराज र अस्मिताका वकिलले पनि बहस गर्नेछन्। वकिल धेरै भएकाले आज बहस नटुङ्गिन पनि सक्नेछन।

आज बहस नटुङ्गिए भोलि फेरि बहस हुनेछ। आज टुङ्गिए अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने आदेश दिनेछ।

पत्रकार शालिकराम साउन २० गते राति नारायणगढको कंगारु होटलमा मृत अवस्थामा फेला परेका थिए। उनको आत्महत्या गर्नु अघिको भिडियोमा रवि, युवराज र अस्मितालाई दोषी देखाएका थिए। त्यसकै आधारमा प्रहरीले अनुसन्धान सुरू गरेको थियो।

यसैबीच जिल्ला प्रशासन कार्यालयले चितवनले निषेधाज्ञा जारी गरेको छ। आज बिहान ६ बजेदेखि लागू हुने गरी पाँच जना भन्दा बढी भेला हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको हो।

रविका समर्थकले दिनहुँ प्रदर्शन गर्न थालेपछि निषेत्राज्ञा जारी गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। हिजो पनि रविका सयौं समर्थकले चितवन जिल्ला अदालत अगाडि प्रदर्शन गरेका थिए।

प्रकाशित मिति: १२:५२ बजे, सोमबार, भदौ ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्