Kathmandu Press

विवाहपञ्चमी महोत्सव : जनकपुरधाममा धनुषयज्ञ

विवाहपञ्चमी महोत्सव : जनकपुरधाममा धनुषयज्ञ

जनकपुरधाम, मंसिर १९ : जनकपुरधाममा आज रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुषयज्ञ मनाइँदैछ। त्रेतायुगमा भगवान् रामले धनुष भाँचेर सीतासँग विवाह गरेको भन्ने धार्मिक विश्वासमा आज रामको प्रतीकात्मक रुप धारण गरेका बालबालिकाले पनि धनुष भाँच्ने अर्थात् धनुषयज्ञ कार्यक्रम गरेको जानकी मन्दिरका महन्त रामतपेश्वर दासले जानकारी दिए।

रामायणमा वर्णन गरिएअनुसार पर्शुरामले मिथिलाका राजा जनकलाई उक्त धनुष प्रदान गरेका थिए। राजा जनकले धनुष उठाएर  वाण छोड्ने महाशक्तिशालीसँग मात्रै सीताको विवाह गर्ने उद्घोष गरेकाले धनुषयज्ञमा चौतर्फी रुपमा दर्जनौं शक्तिशाली र बलबान राजा महाराजा र राजकुमार सहभागी भए पनि कसैले धनुष हल्लाउन सकेनन्।

Hardik ivf

अन्त्यमा आयोध्याबाट आएका दशरथपुत्र रामले यज्ञमा राखिएको धनुषलाई सहजै उठाएर ताँदो चढाउन लाग्दा तीन टुक्रा भएको थियो। धनुषको तीन टुक्रामध्ये एक आकाश, एक धनुषाधाम र एक भारतको गिरिजास्थान गएको धार्मिक विश्वास छ।

सप्ताहव्यापी विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन र दोस्रो दिन शनिबार फूलबारी लीला सम्पन्न भइसकेको छ भने आज धनुषयज्ञ मनाइएको छ। विवाहपञ्चमीको चौथो दिन भोलि सोमबार तिल्कोत्सव, मङ्गलबार मटकोर रहेको छ भने बुधबार मुख्य दिन विवाह महोत्सव रहेको छ ।

बिहीबार रामकलेवा गरी विधिवत् रुपमा विवाहपञ्चमी महोत्सव समापन हुनेछ। त्रेतायुगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष एक हप्तासम्म धुमधामले विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ।

गत दुई वर्षदेखि कोरोना महामारीले असर पारेको महोत्सवमा  यसवर्ष धुमधाम साथ मनाउने तयारी रहेको मन्दिरका महन्थ बैष्णवले बताए। अहिले विवाह पञ्चमीका अवसरमा जानकी मन्दिरलाई नवबेहुली झै सजाइएको छ भने जनकपुरधाम नगर क्षेत्रलाई सरसफाइ गरी मुख्य चोकमा प्रवेश द्वार निर्माण गरिएको छ।

महोत्सव हेर्न देशभित्र र भारतसहित तेस्रो मुलुकका पर्यटकको पनि उल्लेख्य सहभागिता देखिएको छ।

प्रकाशित मिति: १७:११ बजे, आइतबार, मंसिर १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्