Kathmandu Press

हिन्दू धर्म के हो ?

हिन्दू धर्मको गौरवशाली महल ईश्वर, स्वर्ग, नरक, पाप पुण्य, दान आदिको स्तम्भमा टिकेको छ, जुन न तर्कमा विश्वास गर्छ, न विज्ञान प्रणालीमै। हिन्दू धर्मले एक सच्चिदानन्द परब्रह्म पुरुषोत्तमको कल्पना गरेको छ। जो सबै किसिमले सदा–सर्वदा परिपूर्ण छ भनिएको छ।
हिन्दू धर्म के हो ?

काठमाडाैं, मंसिर १८ : हिन्दू धर्म भारतवर्षमा पाँच हजार वर्ष पूर्वदेखि सुरु भएको थियो। हिन्दूहरू वेदलाई मानव जातिको सर्वप्राचीन साहित्य मान्छन्। हिन्दू धर्म वेदबाटै सुरु भएको मानिन्छ। हिन्दूका अग्नि, विष्णु, मत्स्य, वराह जस्ता पुराणहरूमा विष्णुलाई जगत्को कारण, सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ताको रूपमा स्विकारिएको छ। पुराणहरू अनुसार जलमा सुतिरहेका विष्णुले सबैभन्दा पहिले ब्रह्माको सृष्टि गरे। ब्रह्माले सृष्टिको कामलाई अघि बढाउन नसकेपछि विष्णुको शरीरबाट निस्केको मयलबाट मधु र कैटभ नामका राक्षस निस्किए। ती राक्षसले संसारमा उपद्रव मच्चाउन थालेपछि विष्णु उनीहरूसँग लडे र मन्त्रको बलले हराए। त्यसपछि तिनीहरूकै रगत, मासु र हाडबाट संसारको सृष्टि गरे भन्ने मान्यता छ।

शिव पुराण भने शिवलाई जगत्को कारण मान्छ। उसका अनुसार जगत्नै शिव हो। शिव पुराण ब्रह्माले शिवको सहायता लिएर आकाश, वायु, अग्नि, जल, पृथ्वी, पहाड, समुद्र, वृक्ष आदि सृष्टि गरे। श्रीमद्भागवतमा अक्षरबाट ब्रह्माले संसारको सृष्टि गरे भनिएको छ।

हिन्दू धर्म ग्रन्थहरूले सृष्टिको बारेमा अर्को कथा पनि भनेका छन्। त्यस मुताविक सुरुमा संसार जलमग्न थियो। विष्णु त्यहीं निदाएका थिएँ। उनको नाभीबाट कमल प्रकट भयो। विष्णुको कानेगुजीबाट मधु कैट्भ नामका दुई दैत्य निस्किए। तिनीहरूले सृष्टि कार्यमा लागेका ब्रह्मालाई आक्रमण गरे। विष्णु व्युँझिएर त्यो देखि रिसाए र दैत्यसँग युद्ध गर्न थाले। युद्धमा दैत्यहरू हारेपछि विष्णुले आफ्नो काखमा लिएर दुवै दैत्यलाई मारे। त्यसरी मारिएका दैत्यको बोसो पानीमाथि जम्यो र पृथ्वी बन्यो, मासुबाट पहाड बन्यो र हाडबाट ढुङ्गा बन्यो। उल्लिखित कथा मनन गर्दा सृष्टिकार्य गर्नु पूर्वनै पानीको अस्तित्व भएको, पानीमा कमल उम्रिसकेको, शक्तिशाली दैत्यहरू खडा भैसकेका जस्ता कुराहरू देखिन्छ। सृष्टि नै नभई त्यस्ता वस्तुहरूको अस्तित्व देखिदा कसैबाट सृष्टि गरेको भन्नु हास्यास्पद देखिन्छ।

Hardik ivf

हिन्दू धर्म आध्यात्मिक विकासको पक्षमा छ। सामाजिक मूल्य आत्मिक विकासको देन हो र अभ्यन्तरिक अनुशासनले दिव्यता पाउन सकिन्छ भन्ने त्यसको मान्यता छ। हिन्दू धर्म एकेश्वरवादमा मात्र सन्तुष्टि राख्दैन। यस अनुसार श्रम गरेपछि धन प्राप्त हुन्छ, धनले इन्द्रीय सुख पाउन सकिन्छ। यसले राजनीतिक समाजको कल्पना गरेको छ। यो भन्छ- जो भौतिक सुखको पछि लागेर आध्यात्मिक मूल्यलाई हेला गर्छ उसको विनास त्यहीबाट शुरु हुन्छ।

हिन्दू धर्म धेरै धर्मको एकै समूह पनि हो। शैवधर्म, वैष्णव धर्म, शाक्तधर्मका आ-आफ्नै ग्रन्थहरू, मान्यता र अनुयायीहरू छन् र पनि हिन्दूको घेरामा बाँधिएका छन्। मान्छेको स्वभाव अनुसार हिन्दू धर्ममा ज्ञानयोग, राजयोग, कर्मयोग, भक्तियोग जस्ता चारयोगको माध्यमद्वारा ईश्वर प्राप्त गर्न सकिने तरिका पनि वर्णन गरिएको छ।

‘विविधतामा एकता’ हिन्दू धर्मको अर्को मान्यता छ। प्रत्येक व्यक्तिले धर्मको अनुशरण गर्नुपर्छ, ईश्वरको बारेमा विवाद नगर्नु, विश्वास गर्नु भन्ने सन्देश यो धर्मले प्रसार गरिरहेछ।

वैदिक कालमा मन्दिर र देवमूर्ति थिएनन्। ब्राह्मणहरूको अस्तित्व हुन थालेपछि भगवानलाई खुसी पार्न यज्ञ गर्ने, मन्दिर र मूर्ति स्थापना गरेर पूजा गर्ने प्रचलन पनि बढ्यो। देवतालाई खुसी पार्न १८औँ शताब्दीमा नरबलि समेत दिन थालियो। हरिश्चन्द्रको यज्ञमा बलि दिन पिताले माहिलो छोरालाई बेचेको कथा समेत छ। काठमाडौँको नरदेवीलाई मान्छेको मासुको धूप र ललितपुरको हरिसिद्धिलाई नरबलि दिइन्छ भन्ने कहावत यद्यपि छ।

हिन्दू धर्मको बढावासँगै पुरुष प्रधान देवताहरूको सिर्जनाले समाजमा नारीहरूलाई शोषण गर्ने क्रम बढ्यो। हुन त नवदुर्गा, महाकाली, लक्ष्मी, पार्वती जस्ता देवीहरूले समाजमा अत्यन्त वीरतापूर्ण कार्य गरेका कथाहरू धार्मिक ग्रन्थहरूमा लेखिएका छन् तर, कालान्तरमा नारीहरूमाथि अन्याय, अत्याचार र शोषणको पराकाष्ठा थोपरिएको मात्र होइन नारीहरू पुरुषका दासी र सन्तान जन्माउने यन्त्र मात्र हुन् भन्ने अफवाह हिन्दू धर्मले नै फैलाउदै आएको देखिन्छ।

हिन्दू धर्म सदैव ईश्वरको सर्वोच्चतामा विश्वास गर्दछ। गीताको सार सङ्क्षेपमा लेखिएको छ- त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पयेत्’ अर्थात् ‘यस संसारमा हामीले केही बनाउन सकेका छैनौ। सम्पूर्ण चीज यसै संसारबाट प्राप्त गरेका छौँ। यहाँकै कृपाबाट प्राप्त वस्तु यहाँलाई नै समर्पण गर्दछु।’

हिन्दू धर्मले एक सच्चिदानन्द परब्रह्म पुरुषोत्तमको कल्पना गरेको छ। जो सबै किसिमले सदा-सर्वदा परिपूर्ण छ भनिएको छ। यो जगत् पनि त्यही परब्रह्माबाट पूर्ण छ किनकि यो पूर्ण जगत् पनि ऊ पूर्ण पुरुषोत्तमबाट नै उत्पन्न भएको हो। यस किसिमले परब्रह्मको पूर्णताबाट जगतपूर्ण भएको कारणले पनि परब्रह्म परिपूर्ण छ। त्यस्तो पूर्ण परब्रह्मबाट पूर्ण निकालेर पनि ऊ पूर्ण बचिरहेको छ। यो कुरालाई ईशावास्योपनिषद्को पहिलो श्लोकमै निम्न अनुसार वर्णन गरिएको छ, जसले सम्पूर्ण अस्तित्वको आध्यात्मिक एकत्वको घोषणा गरिएको छ-

‘ॐ पूर्णमद : पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते।
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते।।’

हिन्दू धर्मको गौरवशाली महल ईश्वर, स्वर्ग, नरक, पाप पुण्य, दान आदिको स्तम्भमा टिकेको छ, जुन न तर्कमा विश्वास गर्छ, न विज्ञान प्रणालीमै। हिन्दू पाँच हजार वर्ष पुरानो धर्म हो।

भारतको महान् धर्मको रूपमा यसको विकास भयो, यसलाई सनातन धर्म पनि भनिन्छ। हिन्दू धर्ममा साधारणतः एक यस्तो ईश्वरको विश्वास गरिन्छ, जो अमर छ, परम छ र मुक्त सत्ता छ।

हिन्दू धर्म अनुसार भौतिक सुख एवं कल्याणको खोजको साथै मान्छेले आध्यात्मिक विकास गर्नु जरुरी छ। यो धर्म बताउँछ कि यदि मान्छेले आध्यात्मिक विकास नगरी भौतिक सुखको मात्र पछि लाग्छ भने उसको विनाश निश्चित छ।

 

प्रकाशित मिति: १०:०६ बजे, शनिबार, मंसिर १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्