सुनको मूल्य ७२ हजार पाँच सय, चाडपर्वमा पनि सुस्तायो सुन बजार
काठमाडौं, भदौ ८ : सुनको मूल्यमा आइतबार नयाँ रेकर्ड कायम भएको छ। शुक्रबारको मूल्यमा प्रतितोला तीन सय रुपैयाँ बढेर आइतबार सुनको मूल्य प्रतितोला ७२ हजार ....
काठमाडौं, भदौ ८ : सुनको मूल्यमा आइतबार नयाँ रेकर्ड कायम भएको छ। शुक्रबारको मूल्यमा प्रतितोला तीन सय रुपैयाँ बढेर आइतबार सुनको मूल्य प्रतितोला ७२ हजार पाँच सय पुगेको छ।
मूल्य अत्याधिक बढेसँगै तीजमा पनि सुनको कारोबार हुन सकेको छैन। यसघिका वर्षमा तीजमा अत्याधिक रुपमा सुनको किनबेच हुने गरेको थियो। यसवर्ष तीज आउन एक हप्तामात्रै बाँकी रहदाँ बजार भने सुस्ताएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार नेपाली बजारमा सुनको मूल्य इतिहासकै बढी हो। गत साउन ३१ गते प्रतितोला ७१ हजार पाँच सय कायम भएको थियो। विश्वभरी सुनको माग बढेसँगै नेपाली बजारमा पनि सुनको भाउले नयाँ नयाँ रेकर्ड राख्दै आएको छ। साउनको पहिलो सातादेखि लगातार बढेको सुनको मूल्य भदौमा पनि बढिरहेको छ।
महासंघको तथ्यांकअनुसार दैनिक २५ देखि ३० किलोसम्म सुनको बिक्री हुने गरेको थियो। भाउ बढेसँगै दैनिक १० किलोको हाराहारीमा मात्र बिक्री भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि यसको असर नेपाली बजारमा परेको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले बताए। ‘बजारमा सुन किन्ने भन्दा बिक्री गर्ने बढी छन्,’ अध्यक्ष सुनारले भने। त्यस्तै, चीन र अमेरिकाको द्वन्द्वजारी रहेमा सुनको मूल्य अझै बढ्ने अध्यक्ष सुनारको भनाइ छ।
अमेरिका र चीनबीचको व्यापार युद्धसँगै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौति गरेपछि सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको छ। ब्याजदर घटेसँगै विश्वभरका लगानीकर्ता सुनतर्फ आकर्षित हुदाँ विश्वभर सुनको माग अत्याधिक भएको हो।






