Kathmandu Press

रविसहित तीनै जनालाई अदालतमा पेश गरिँदै

चितवन, भदौ ८ : आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनालाई आज अदालतमा पेश गरिँदै छ।

पत्रकार शालिकसाम....

रविसहित तीनै जनालाई अदालतमा पेश गरिँदै

चितवन, भदौ ८ : आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनालाई आज अदालतमा पेश गरिँदै छ।

पत्रकार शालिकसाम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको आरोपमा रविसँगै पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरिएको थियो। उनीहरूलाई अनुन्सधानका लागि हिरासतमा राख्न दुई पटक म्याद लिइएको छ।

दोस्रो पटक लिएको पाँच दिनको म्याद हिजो सकिएको छ। हिजो शनिबार भएकाले अदालतमा पेश गर्न सकिएको थिएन्। आज पुनः म्याद थपका लागि जिल्ला अदालतमा पेश गरिन लागेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ।

अनुसन्धान पूरा नभए प्रहरीले जिल्ला अदालतमा अनुमति लिएर हिरासतमा राख्छ भने अनुसन्धान पूरा भए जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गर्छ।

अनुसन्धानका लागि प्रहरीले २५ दिनसम्म हिरासतमा राख्न पाउने कानुनी व्यवस्था छ।

मुद्दा दर्ता गर्ने कि अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिने भन्ने यकिन भएको छैन। रविसहित तीनै जनालाई केही बेरमा अदालतमा पेश गरिन लागेको जनाएको छ।

प्रकाशित मिति: ११:२९ बजे, आइतबार, भदौ ८, २०७६