रविको रिहाइको माग गर्दै कलाकारहरुले भने–छानविन स्वतन्त्र र निष्पक्ष होस्
काठमाडौं, भदौ ७ : चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा निष्पक्ष र स्वतन्त्र छानविन हुनुपर्ने बताएका छन्।....

काठमाडौं, भदौ ७ : चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा निष्पक्ष र स्वतन्त्र छानविन हुनुपर्ने बताएका छन्। उनीहरुले लामिछानेको रिहाइको पनि माग गरेका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा हाँस्यकलाकार, अभिनेता तथा फिल्म निर्माता दिपकराज गिरीले रवि लामिछाने भोलि रिहाइ हुने कामना गरे।
उनले भने,‘अब रविजीको बारेमा बोल्दा मैले मेरो मुहारपुस्तिकामा पनि लेखेको थिएँ, पछिल्लो कारण आयो, त्यसमा बोल्न चाहन्छु। त्यस्तै पीडाबाट म पनि गुज्रिरहेको व्यक्ति हुँ। आत्महत्या गर्नेप्रति मेरो समवेदना छ। चलचित्र प्रदर्शनको सिलसिलामा एक जना भाइ यही पीडाबाट गुज्रिनुपर्यो। त्यो पीडा मैले नजिकबाट आत्मसात गरेको छु। संसार एउटा महाभारत हो। हरेक प्रकारका युद्धको सामना गर्नुपर्छ। अन्याय हुन्छ भने कानूनको ढोका ढकढकाउनुपर्छ। जीवनको नाम संघर्ष हो।’
उनले रवि लामिछानेका लागि यति धेरै समर्थन रहेको पनि सुनाए। उनले भने,‘उहाँको पक्षमा ठूलो समर्थन छ। चासो छ। अहिले हामीले कानून संशोधन गरेका छौं म त कानूनमै दोष देख्छु। आक्षेप लगाउने मान्छे १०० प्रतिशत सत्य हुँदैन। कानून सुधार गर्नुपर्छ। यदि कोही मान्छेले म त मर्छु र अरुलाई पनि दुःख दिन्छु भन्यो भने धेरै मान्छे कष्टडीमा हुन्छन्।’
गिरीले आत्महत्या भनेको आफैंमा अपराध भएको बताए। ‘यो केशमा भोलि न्याय हुनेछ । रविजीले भोलि न्याय पाउनुहुन्छ,’उनले भने।
अर्का कलाकार निखिल उप्रेतीले विशुद्ध नेपाली झण्डामुनि बसेर सत्य बोल्ने मान्छेले नेपालमा दुःख पाउने सुनाए।
उनले पछिल्लो समय मानवता खत्तम भएको र सत्य भन्ने चीज हराएको बताए। उप्रेतीले भने,‘हामी सत्यको पक्षमा लडौं।’ देश र जनताप्रति राजनीतिक गर्ने व्यक्तिहरु इमान्दार हुनुपर्ने उनको भनाइ छ। तर, शक्तिकेन्द्रित भएपछि मान्छे नशामा केन्द्रित हुने उनले प्रष्ट्याए।
अर्का कलाकार रमेश उप्रेतीले रवि लामिछाने पक्राउ प्रकरणमा छिटोभन्दा छिटो छानविन हुनुपर्ने माग गरे। उनले भने,‘म रविजीको साथी हो। छिटोभन्दा छिटो छानबिन होस्। निश्पक्ष होस्। बिना कुनै दबाब काम गर्न दिइयोस्। यो देशमा अदालत छ। श्रीमान हुनुहुन्छ। यो केश कोर्टमा गइसक्यो। प्रेसर दिएर राम्रो निर्णय ल्याउँदैन।’ उनले रवि लामिछाने स–सम्मान छुट्नुहोस भनेर प्रार्थना गर्न आग्रह गरे।
कार्यक्रममा कलाकार निर्मल शर्मा ‘गैंडा’ ले पनि रवि लामिछाने निर्दोष रहेको भन्दै भोलि रिहाइ हुने विश्वास व्यक्त गरे।











-1784808429.png)