Kathmandu Press

भारतका पूर्वअर्थमन्त्री अरूण जेटलीको निधन

नयाँ दिल्ली, भदौ ७ : भारतका पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन भएको छ।

भारतीय जनता पार्टीका वरिष्ठ नेतासमेत रहेका जेटलीको दिल्लीस्....

भारतका पूर्वअर्थमन्त्री अरूण जेटलीको निधन

नयाँ दिल्ली, भदौ ७ : भारतका पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन भएको छ।

भारतीय जनता पार्टीका वरिष्ठ नेतासमेत रहेका जेटलीको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ६६ वर्षको उमेरमा निधन भएको हो। एक वर्षअघि किड्नी प्रत्यारोपण गराएका जेटली केही समयदेखि गम्भीर बिरामी थिए। 

जेटली नरेन्द्र मोदीको पहिलो कार्यकालमा अर्थमन्त्री बनेका थिए। स्वास्थ्यमा समस्या आएपछि जेटलीले २०१९ को अन्तरिम बजेट प्रस्तुत गर्न सकेका थिएनन्। जेटली बिरामी परेपछि पीयूस गोयलले बजेट प्रस्तुत गरेका थिए। 

 भाजपा दोस्रो पटक सरकारमा गएपछि जेटलीले प्रधानमन्त्री मोदीलाई पत्र लेखेर आफूलाई सरकारको कुनै पनि जिम्मेवारी नदिन आग्रह गरेका थिए। वकालत पेशाबाट राजनीतिमा आएका जेटली भाजपाका वरिष्ठ नेता हुन्। 

इन्दिरा गान्धीको सरकारले घोषणा गरेको संकटकालका बेला जेटली  जेल चलान भएका थिए। विद्यार्थी राजनीति गरिरहेका बेला जेल परेका जेटली बाहिर आएपछि सक्रिय राजनीतिमा होमिएका थिए। जेटली पछि भारतीय जनता पार्टीमा आबद्ध भएका थिए।
 

प्रकाशित मिति: १३:०० बजे, शनिबार, भदौ ७, २०७६