Kathmandu Press

चितवन राष्ट्रिय निकुञ्जमा अर्ना र बाह्रसिङ्गे थपिने

चितवन, भदाै ७ : चितवन राष्ट्रिय निकुञ्जमा हाल अर्ना र बाह्रसिङ्गे रहेको ठाउँ विस्तार गरी ती वन्यजन्तु थप गरिने भएको छ। निकुञ्जको पुरानो पदमपुर क्....

चितवन राष्ट्रिय निकुञ्जमा अर्ना र बाह्रसिङ्गे थपिने

चितवन, भदाै ७ : चितवन राष्ट्रिय निकुञ्जमा हाल अर्ना र बाह्रसिङ्गे रहेको ठाउँ विस्तार गरी ती वन्यजन्तु थप गरिने भएको छ। निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा विसं २०७३ मा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे ल्याइएको थियो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार खोर विस्तारका लागि निकुञ्ज विभागले एक करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। हाल २२ हेक्टर जमीनमा विद्युतीय ‘पिसीसी मेस’ जालीसहितको तारबार गरेर अर्ना र बाह्रसिङ्गे राखिएको छ। सो ठाउँमा थप २५ हेक्टर क्षेत्रफल विस्तार गरिने ढकालले बताए। सँगै जोडेर वा गैँडालगायतका जनावरलाई वारपार गर्ने ठाउँ छाडेर कुन तरिकाले गर्दा उपयुक्त हुन्छ सोहीअनुरुप काम गरिने उनले जानकारी दिए।

प्राविधिकहरुसँग परामर्श गरेर छिट्टै काम शुरु गरिने ढकालको भनाइ थियो। ठाउँ विस्तार गरेपछि संख्या थप गरिने भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले ती जनावरलाई सधैँ खोरमा राख्न नसकिने भएकाले बथानमा छोड्न संख्या बढाउनुपर्ने बताए। खोरमा हाल तीन बच्चासहित १३ अर्ना र एउटा बाह्रसिङ्गे रहेका छन्।

सदर चिडियाखानाबाट तीन र कोशीटप्पुबाट १२ अर्ना ल्याइएको थियो। तीमध्ये पाँच मरेका छन् भने तीन बच्चा जन्मिएका छन्। हाल खोरमा दुई भाले र आठ पोथी रहेका छन् । शुक्लाफाँटाबाट सोही समयमा ल्याइएका सात बाह्रसिङ्गेमध्ये तीन मरेका र तीन बेपत्ता भएपछि एउटा मात्र खोरमा छ।

खड्काले खोर विस्तारसँगै थप अर्ना र बाह्रसिङ्गे ल्याइने बताए। २५/३० को हाराहारीमा पुगेपछि खोरबाट बाहिर छोड्दा बच्नसक्ने उनको भनाइ थियो। बाघको आक्रमणबाट बच्न बथानमा यो जनावर हिँड्ने गर्दछ। निकुञ्जले पहिलो चरणमा खोर विस्तार गर्नेछ भने त्यसपछि थप जनावर ल्याउन लागिएको हो।

खोरभित्र घाँसेमैदान व्यवस्थापन, पानीका पोखरी निर्माण र सुरक्षाका लागि निर्माण गरिएको मचान व्यवस्थित गरिने निकुञ्जले जनाएको छ। खोरभित्र अर्ना, बाह्रसिङ्गेसँगै मृग, बदेलजस्ता जनावर पनि रहेका छन्। निकुञ्ज सुरक्षार्थ सेना र कर्मचारीले नियमित सुरक्षा र निगरानी गरेर अर्ना र बाह्रसिङ्गे संरक्षण गरिरहेका छन् । दुई वर्षअघिको बाढीका कारण अर्ना र बाह्रसिङ्गे मरेका र बेपत्ता भएका थिए। रासस

प्रकाशित मिति: ११:३७ बजे, शनिबार, भदौ ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्