नेकपा प्रमुख सचेतकको घरमा बम हान्ने विप्लव समूहका तीन नेता पक्राउ
बुटवल, भदौ ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार गरेको आरोप तीन जना पक्राउ गरेका छन्। ....
बुटवल, भदौ ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार गरेको आरोप तीन जना पक्राउ गरेका छन्।
प्रमुख सचेतक ढकालको घरमा बम प्रहार गर्ने नेत्रविक्रम चन्द विप्लव समूहका नेता रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–११ का ५० वर्षीय विक्रम यादव, गैडहवा गाउँपालिका–६ का ४३ वर्षीय रुदल यादव र सियारी गाउँपालिका–४ का ६३ वर्षीय विष्णुप्रसाद तिवारी (मुकेश) लाई पक्राउ गरेको हो।
पक्राउ परेका विक्रम विप्लव समूहका रुपन्देही जिल्ला जनसरकार उपप्रमुख हुने भने रुदल प्रादेशिक जनसरकार सदस्य रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए।
गत साउन ३१ गते राति रुपन्देहीको सैनामैना नगरपालिका–८ शान्तिटोलमा रहेको ढकालको घर र गाडीमा बम विष्फोट गराइएको थियो। सचेतक ढकाल सुत्ने कोठा, उनका बाबाआमा सुत्ने कोठा र उनले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरको गाडीलाई लक्षित गरी बम प्रहार गरिएको थियो। बम प्रहारबाट घर अगाडि पार्किङ गरिराखिएको गाडीको पछाडिको भागमा केही क्षति पुगेको थियो।
उनीहरुमाथि रुपन्देही गैडहवा गाउँपालिका–२ सानो धुपहीस्थित एनसेलको टावरमा आगजनी गरेको आरोप समेत लगाइएको छ।






