जितेन्द्र देवको चुनौतीः सरकारले कश्मीरबारे बोल्ने आँट गरोस्
काठमाडौं, भदौ ६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले कश्मीरको समस्याबारे बोल्ने आँट गर्न सरकारलाई चुनौती दिएका छ....
काठमाडौं, भदौ ६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले कश्मीरको समस्याबारे बोल्ने आँट गर्न सरकारलाई चुनौती दिएका छन्।
राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा बोल्दै सांसद देवले सरकारले तत्काल कश्मीर समस्याबारे आफ्नो धारणा सार्वजनिक गर्नु पर्ने बताए। छिमेकी मुलुकहरुले आ–आफ्नो धारणा सार्वजनिक गरिरहेका बेला नेपाल मौन बस्नु सफल कूटनीति नहुने भन्दै उनले राष्ट्रिय सहमतिका साथ यसबारे सरकारले धारणा सार्वजनिक गर्नुपर्ने बताए।
‘परराष्ट्रमन्त्रीज्यूले हामीले नजिकबाट नियालिरहेका छौं भन्नु भएको छ। यो नियाल्ने भन्ने काम कहिलेसम्म हुने हो,’ सांसद देवले भने,‘कहिलेसम्म नियाल्ने हो? आँट छ भने सरकारले बोलोस्।’
सरकारले आफ्नो आधिकारिक धारणा राखेपछि कांग्रेसले पनि आफ्नो प्रतिक्रिया दिने उनको भनाइ छ। पछिल्ला कार्यशैलीले सरकार उत्तरतिर फर्कने प्रत्यत्न गर्दैछ भन्ने सन्देश गएको उनले बताए।
भारतसँगको कूटनीतिक सम्बन्धमा असन्तुलन पैदा हुँदा पर्न सक्ने सामाजिक, राजनीतिक र आर्थिक असरबारे समयमै सोच्न उनले आग्रह गरे।
उनले नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालले आफ्नो चासोका विषयमा अडानका साथ प्रस्तुत गर्न नसकेको आरोप लगाए। १९५० को सन्धिबारेमा नेपालले आफ्ना कुराहरु राख्न नसकेकोमा पनि उनले बताए।






