Kathmandu Press

भारतीय विदेशमन्त्री भेट्न पूर्वप्रधानमन्त्री होटल गएकोबारे भट्टराई–थापा सवालजवाफ

काठमाडौं, भदौ ६ः पूर्वप्रधानमन्त्रीहरू भारतीय विदेशमन्त्री एस जयशंकरसँग उनी बसेको होटेल द्वारिकाजमा गएर विहीबार भेटघाट गरेको विषयमा पूर्व प्रधानमन्त्र....

भारतीय विदेशमन्त्री भेट्न पूर्वप्रधानमन्त्री होटल गएकोबारे भट्टराई–थापा सवालजवाफ
फाइल फोटो

काठमाडौं, भदौ ६ः पूर्वप्रधानमन्त्रीहरू भारतीय विदेशमन्त्री एस जयशंकरसँग उनी बसेको होटेल द्वारिकाजमा गएर विहीबार भेटघाट गरेको विषयमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्व उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाबीच सामाजिक सञ्जालमा दाहोरो बहस चलेकोे छ।

पछिल्लो ट्वीटमा कमल थापाले डा. भट्टराईको तर्कलाई स्वीकार पनि गरेका छन्। राप्रपा अध्यक्ष समेत रहेका पूर्व परराष्ट्रमन्त्री थापाले पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराई, कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवम् स्वास्थयमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष पूर्व परराष्ट्रमन्त्री उपेन्द्र यादवले भारतीय विदेशमन्त्रीलाई बिहीबार होटल द्वारिकाजमा गएर भेटवार्ता गरेका थिए । 

त्यस विषयमा थापाले ट्वीटरमा लेखेका थिए, ‘फेरि एकपटक देउजा, भट्टराई र यादवले कूटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै लम्पसारवादको नमूना पेश गरे । दिस इज टू मच ।’ 

ट्वीटरमार्फत् आएको कमल थापाको टिप्पणीलाई ट्वीटरमै पूर्वप्रधानमन्त्री डा. भट्टराईले देशहित छिमेकीसँग खुल्ला सम्बन्ध राख्ने पक्षमा आफू रहेको जवाफ फर्काए।

उनले ट्वीटरमा लेखे, ‘सिसाको घरमा बस्नेले अर्काको झुपडीमा ढुङ्गा हान्नु हुँदैन भन्ने लोकोक्ति मेरा सहपाठी मित्रले स्मरण गर्नु राम्रो होला ! सुगौली सन्धियताका शासकले भित्र दिल्लीको चाकरी गर्ने र बाहिर राष्ट्रवादको डङ्का पिटेर जनता ठग्ने विरासत तोड्दै हामी छिमेकीसँग देशको हितमा खुलासम्बन्ध राख्ने पक्षमा छौँ !’

भट्टराईको जवाफलाई फेरि थापाले प्रतिउत्तर पनि फर्काएका छन्– ट्वीटरमै । उनले भट्टराईको खुल्ला र मित्रतापूर्ण सम्बन्धबारे आफू सहमत रहेको ट्वीट गरे । ‘खुला मित्रतापूर्ण सम्बन्धबारे मेरा मित्रको धारणासँग सहमत छु’, थापाले अर्को ट्वीटमा लेखे, ‘त्यस्तो सम्बन्ध समानता, स्वाभिमान र मर्यादाभित्र रहोस् र सुगौली सन्धिपछि धेरै लामोसमय कायम आत्मसमर्पण अन्त्य होस् भन्ने मेरो मान्यता हो । सम्मानित पूर्वप्रमले एक विदेशीमन्त्रीलाई उसकै होटलमा औपचारिक रूपमा भेटेको अलि सुहाएन कि ?’

जयशंकरसँगको भट्टराई र यादवले भेटघाट गरेको तस्विरसहित भट्टराई आफैंले ट्वीट गरेका थिए ।  सोपछि राप्रपाका अध्यक्ष कमल थापाले देउवा, भट्टराई र उपप्रधानमन्त्रीसमेत रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कूटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै लम्पसारबादको नमुना पेश गरेको टिप्पणी गरेका थिए ।

समाजवादी पार्टीका संघीय अध्यक्ष पूर्व प्रधानमन्त्री भट्टराई र राप्रपा अध्यक्ष थापा २०२७÷२८ सालमा अमृत साइन्स क्याम्पसमा आईएससी पढ्दा सहपाठी थिए ।

प्रकाशित मिति: १३:०६ बजे, शुक्रबार, भदौ ६, २०७६