‘नायकसरह नायिका पनि खलनायकसँग झगडा गर्ने, भिड्ने स्थापित मानक भत्काइनुपर्छ’
चलचित्रलाई व्यावसायिक बनाउन सासुले बुहारीलाई तातो पानी खन्याउने, दाइजो नाममा कुटपिट हुनेदेखि हत्या र बलात्कार गरिएका दृश्य चलचित्रमा आउँछन्। चलचित्रका यस्ता दृश्यले अप्रत्यक्ष रूपमा हिंसालाई प्रश्रय दिए कि महिलाको अधिकार वा हिंसाविरुद्धको आवाज बुलन्द गरे ? यो भने बहसको विषय छ।
काठमाडाैं, मंसिर १४ : एक अन्तर्वार्तामा निर्देशक दयाराम दाहालले भनेका थिए, ‘निरुता सिंहलाई चलचित्रमा जति रुवाउन सक्यो, त्यति नै चलचित्र सफल।’
चलचित्रलाई व्यावसायिक बनाउन सासुले बुहारीलाई तातो पानी खन्याउने, दाइजो नाममा कुटपिट हुनेदेखि हत्या र बलात्कार गरिएका दृश्य चलचित्रमा आउँछन्। चलचित्रका यस्ता दृश्यले अप्रत्यक्ष रूपमा हिंसालाई प्रश्रय दिए कि महिलाको अधिकार वा हिंसाविरुद्धको आवाज बुलन्द गरे ? यो भने बहसको विषय छ।
नाम नै स्त्रीप्रधान वा स्त्रीलिंगमा आधारित भएका नेपाली फिल्म थुप्रै छन्। नेपालमा बनेको पहिलो नेपाली चलचित्र हो, आमा। यसलाई २०२० सालमा हीरासिंह खत्रीले बनाएका थिए। त्यस्तै, नेपाली पहिलो रंगीन चलचित्र हो, कुमारी। यसलाई २०३४ सालमा प्रेमबहादुर बस्नेतले बनाएका थिए। तर, के नेपाली फिल्मले महिलाका मुद्दालाई गहिरो गरी वा मुद्दा विशेषका रुपमा उठाएका छन् त ? यो प्रश्नमा भने अलिकति घोत्लिनुपर्ने हुन्छ।
पछिल्लो पुस्ताका निर्देशक दीपेन्द्र के खनाल भन्छन्, ‘महिलालाई नै प्रमुख चलचित्र नै बन्नका लागि एकाध प्रयास भएका छन्। तर, हालसम्म हिंसाविरुद्ध केन्द्रित चलचित्र भने निकै कम बनेको छ।’ आफैँ पनि यससम्बन्धी चलचित्र बनाउने योजनामा रहेको उनले बताए।
खनालका अनुसार आधुनिक समाजसँगै महिला हिंसाको स्वरूप बदलिएको छ। डिजिटल युगमा हिंसा फेरिएको मात्र हो, कम भएको छैन। समाज अझै पनि पितृसतात्मक हिँडिरहेको क्रममा महिलाहिंसा विरुद्धको चलचित्रमा महिलालाई प्रमुख पात्र बनाएर चलचित्र बन्नुपर्ने धारणा उनी राख्छन्।
अर्का निर्देशक दीपेन्द्र लामा नेपाली चलचित्रमा महिलाहिंसाका विषय उठ्न नसकेको विषयलाई स्विकार्छन्। अप्रत्यक्ष रूपमा चलचित्रमार्फत नै महिलाहिंसा भइरहेको पनि उनी बताउँछन्। ‘चलचित्रमा जसरी महिलाका संवेदनशील अंग अनावश्यक रूपमा फोकस गरिन्छ, त्यो पनि एक प्रकारको हिंसा नै हो,’ उनी भन्छन्, ‘नायिकाहरू सो पिसको रूपमा प्रस्तुत हुने परिपाटीबाट अझै सिनेमा क्षेत्र अझै उठ्न सकेको छैन।’
केही विदेशी फिल्म
सन् २०२० मा बनेको बलिउड फिल्म ‘थप्पड’ले भारतीय सिनेमा क्षेत्रमा एक किसिमको बहस सिर्जना ग¥यो। कथा भिन्न थिएन, दैनिक जीवनमा महिलाले भोग्दै आएका हिंसासँग सम्बन्धित थियो। चलचित्रकी प्रमुख पात्र अमृता गृहिणी हुन्। कथा विकासका क्रममा उनलाई श्रीमान्ले गालामा एक थप्पड हान्छन्। यही एक ‘थप्पड’पछि फिल्म यसरी अगाडि बढ्छ, अमृता पतिसँग सम्बन्धविच्छेद गर्न पुग्छिन्। फिल्ममा घुमेको एक थप्पड वरपरको कथाले कसरी महिलाहरु हिंसा सहिरहेका छन् भन्ने देखाएको छ।
यस चलचित्रले मिश्रित प्रतिक्रिया पाएको थियो। कतिपय पुरुष वर्गले थप्पडजस्तो सानो विषयलाई यति बढाइँचढाइँ गर्न नमिल्ने भने। कतिले सूक्ष्म र सामान्य तरिकाले भएको हिंसाका विषयमा चेतना दिएको बताए। यसरी यस चलचित्रमाथि धेरै कोणबाट बहस भए।
त्यस्तै, बलिउड चलचित्र ‘पिंक’ले पनि महिलाहिंसा विरुद्धको आवाजलाई बुलन्द पारेको छ। हलिउड चलचित्र ‘वन्डर वुमन १९८४’ले महिला पात्रलाई शक्तिशाली देखाएको छ। यसले ‘सुपर हिरोइन् कन्सेप्ट’लाई स्थापित गरिदिएको छ।
नेपाली फिल्ममा महिला मुद्दा
नेपालमा महिला अधिकार वा हिंसा विरुद्धका कथामा आधारित चलचित्र बन्दै नबेनका होइनन्। तर, निकै न्यून छन्। अधिकांश नेपाली चलचित्रको कथा विकासका क्रममा सामान्य संवादमा महिला अधिकार वा हिंसाविरुद्धका कुरा आउने गर्छन्। तर, महिला अधिकार, महिला हिंसा वा विभेदका मुद्दालाई विशेष रूपमा उठाइएको कमै पाइन्छ।
पुराना कतिपय फिल्म ‘हिरोइन् भिलेनबाट बलात्कृत हुने र हिरो बचाउन आउने’ दृश्यबाटै सुरु भएका छन्। यसरी महिलालाई कमजोर र पुरुषलाई शक्तिशाली देखाएका नेपाली फिल्म धेरै छन्। त्यस्तै, कतिपय फिल्मका कथामा धनीकी छोरी (हिरोइन्)सँग गरिबको छोरो (हिरो)ले प्रेम गर्ने, वा धनीकी छोरीले घमण्ड गर्ने कथा नै आउँछन्।
केही नेपाली फिल्म
सती प्रथामा आधारित नेपाली चलचित्र ‘झोला’लाई महिला मुद्दाका दृष्टिले विशेष रूपमा चर्चा गरिन्छ। कृष्ण धरावासीको कथा र यादवकुमार भट्टराईको निर्देशन रहेको यस फिल्मकी मुख्य अभिनेत्री गरिमा पन्तले सन् २०१४ को सार्क चलचित्र उत्सवमा सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार पाइन्। यस फिल्ममा चन्द्र शमशेरले सती प्रथा हटाउनुअघिको महिलाको दुर्दशा देखाइएको छ। सतीप्रथामा पतिको मृत्युपछि पत्नीले जिउँदै चितामा जल्नुपथ्र्यो। त्यसमाथि उतिबेला नेपाली समाज बेमेल बिहे निकै प्रचलनमा थियो। झोलाको कथा अनुसार, कान्छी (गरिमा पन्त) को बिहे उनीभन्दा ४० वर्ष जेठो पुरुषसँग भएको थियो। यस अवस्थामा स्वाभाविक रुपमा पतिको मृत्यु छिटो भयो। सामाजिक प्रचलन अनुसार कान्छीले मृतक पतिको चितामा गई जिउँदै जल्नुपर्ने हुन्छ। तर, उनी त्यसो नगरी जसोतसो भागेर वनको गुफामा लुक्न पुग्छिन्। यो चलचित्रले हेर्ने दर्शकले आफ्नो आँसु थाम्न सक्दैनन्।
सन् २००१ मा बनेको नेपाली मौलिक चलचित्र ‘नुमाफुङ’ले पनि महिला मुद्दालाई उठाएको छ। यस चलचित्रमा विशेषतः पूर्वी नेपालमा बसोबास गर्ने लिम्बूहरुको सांस्कृतिक पक्ष तेन्धाम् मेःख्खिम् (मागी विवाह), सुनौली–रुपौली (सुन, चाँदी, नगद या जिन्सी÷वस्तु लिने÷दिने), दोस्रो विवाह, महिलामाथि हुने हिंसाको कथा आएको छ। यो फिल्मले नेपाली चलचित्रमा नयाँ बहस सिर्जना गरेको थियो।
‘द मार्जिन’ अनलाइनमा सुमन लिङ्देल लेख्छन्, ‘नुमाफुङ दुई लिम्बू शब्द नुमा र फुङ मिलेर बन्छ, जसको नेपाली अर्थ ‘सुन्दर फूल’ हुन जान्छ। नुमाको जीवनमा यत्रो उतारचढाव छ, कसरी सुन्दर फूल भयो त ? ...श्रीमानसँग मन मिलेन, सँगै रहन सकिएन या श्रीमानको चोला उठ्यो भने विवाहित महिलाले जन्मघर आई आफ्नै तरिकाले रहन सक्छिन्।’
फितलो प्रस्तुति
नेपाली फिल्ममा नायिकाले ‘किक’ हानेको त्यस्तो प्राकृतिक लाग्दैन, जति हलिउड र बलिउडका महिला पात्रको अभिनयमा लाग्छ। निर्देशकीय काम वा चलचित्रको कथाले नै महिला मुद्दा र पात्रलाई स्थापित गरेको देखिँदैन। जसकारण महिला प्रधान चलचित्रका यस्ता पात्रको भूमिका फितलो देखिन्छ।
महिला पात्र वा मुद्दालाई स्थापित गर्न चलचित्रको मेकिङ, प्रस्तुतीकरण र कथाले भूमिका खेल्ने निर्देशक खनाल बताउँछन्। ‘कर्मसियल पक्षबाट चलचित्र बन्दा महिला पात्र फितलो हुन पुग्छन्,’ उनी भन्छन्, ‘फिल्म मेकिङले पनि पात्रलाई ‘रियलिस्टिक’ देखाउन भूमिका खेलेको हुन्छ।’
निर्देशक लामाका अनुसार, चलचित्रमा यदि पुरुषजस्तै महिलालाई बलियो वा क्रान्तिकारी देखाउने प्रयास गरिन्छ भने उक्त महिला क्यारेक्टरको विकास कसरी भयो स्पष्ट पार्नुपर्छ। ‘महिला पात्र बलियो हुनका लागि पुरुष पात्रले जस्तै किक हान्नुपर्ने, गुन्डासँग झगडा गर्नैपर्छ भन्ने छैन,’ उनी भन्छन्, ‘यसको साटो मनोवैज्ञानिक, बौद्धिक र भावनात्मक पक्षबाट महिला पात्रलाई सशक्त देखाउन सकिन्छ। यसो भन्दैमा महिला पात्रले फाइट गर्न नसक्ने भन्ने बुझाइमा फस्नु हुँदैन। कथामै महिला पात्र शारीरिक रूपमा सशक्त छ भने सोही अनुरूप पात्रलाई स्थापित गराउनुपर्छ।’
निर्देशक, निर्माता तथा सिनेम्याटोग्राफर शान्ता नेपाली चलचित्रमा महिला पात्र सशक्त देखिन पुरुष पात्रसरह गुन्डाहरूसँग झगडा गर्नुपर्ने, कुटपिट गर्नुपर्ने स्थापित मानकबाट बाहिर निस्कनुपर्ने बताउँछिन्। ‘महिलाप्रधान चलचित्रमा महिलाले पुरुषसरह नै शारीरिक तबरले बलियो हुनुपर्ने भाष्य गलत छ,’ उनी भन्छिन्। उनका अनुसार, त्यसो त महिलाले मार्सल आर्ट तथा युद्धकला गर्नै नसक्ने भन्ने होइन, गरिरहेका पनि छन्। नेपालमा महिला केन्द्रित चलचित्र बन्दै नबनेको भन्न मिल्दैन। उनी भन्छिन्, ‘तर, बनेका चलचित्रमा महिलाको प्रस्तुतीकरण तथा कथा कसले भनिरहेको छ, त्यसले फरक पार्छ। पितृसतात्मक समाजको संरचना जस्तो छ, सोही अनुसार नै चलचित्रमा प्रतिविम्बित हुने हो।’
चलचित्रमा महिलाका मुद्दा उठाउन महिलाले नै कथा भन्नुपर्ने उनको बुझाइ छ। ‘महिलाको कथा–व्यथा महिलाको आँखाबाट मात्र क्लिअर हुन्छ,’ उनी भन्छिन्, ‘महिलाभित्रै पनि विभिन्न पक्ष छन्- दलित महिलाको आफ्नै कथा छ। आर्यन, जनजाति तथा मधेसका महिलाका पनि भिन्न भोगाइ छन्। यस कारण महिलाको समष्टिगत र न्यायोचित चित्रणका लागि महिला कथाकार, निर्माता, निर्देशक, लेखक यो क्षेत्रमा आउनुपर्छ।’











-(86)-1764936079.jpg)
