Kathmandu Press

नेपाली सेनाले अब जग्गा प्लटिङ नगर्ने

काठमाडौं, भदौ ६ : सबैतिरबाट विरोध हुन थालेपछि नेपाली सेनाले जग्गा प्लटिङ नगर्ने भएको छ। सेनाले सकल दर्जालाई सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गर....

नेपाली सेनाले अब जग्गा प्लटिङ नगर्ने

काठमाडौं, भदौ ६ : सबैतिरबाट विरोध हुन थालेपछि नेपाली सेनाले जग्गा प्लटिङ नगर्ने भएको छ। सेनाले सकल दर्जालाई सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीति परिवर्तन गरेको छ।

जग्गा किनेर प्लटिङ गरी घडेरी बनाएर सकल दर्जालाई उपलब्ध गराउने नीति परिमार्जन गरिएको नेपाली सेनाले जनाएको छ। त्यसको साटो सहुलियतपूर्ण ब्याजदरमा घरकर्जा उपलब्ध गराउने योजना रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले बताए।

सैनिकलाई आवास उपलब्ध गराउन भनेर सेनाले देशका विभिन्न ठाउँमा जग्गा खरिद गरेर प्लटिङको गर्न खोजेको थियो। त्यसमा विभिन्न क्षेत्रबाट टिकाटिप्पणी आएपछि सहुलियतपूर्ण घरकर्जा उपलब्ध गराउने नीति लिएको जनाएको छ।

सेनाले काठमाडौँको कीर्तिपुर, भक्तपुरको दुवाकोट, सुनसरीको इटहरी र चितवनको पिठुवामा जग्गा खरदि गरेको छ। त्यसमा सैनिकलाई घडेर उपलब्ध गराउने योजना अघि सारेको थियो।

यसमध्ये इटहरी र पिठुवाको घडेरी बिक्री भइसकेको छ। कीर्तिपुर र दुवाकोटको जग्गा एक दशकअघि खरिद गरिएको भए पनि प्लटिङ गरेर सैनिकलाई बिक्री गरेको छैन।

यसअघि प्लटिङ गरिएका घडेरी पाँच आनाका दरले गोलाप्रथाको माध्यमबाट वितरण गरिँदै आएको थियो।

सम्बन्धित व्यक्ति आफैँ निर्माण गर्दा लागत कम हुने, चाहेको स्थानमा खरिद र निर्माण गर्न सकिने तथा तुलनात्मकरूपमा सङ्गठनले धेरै सङ्ख्यामा आउने मागलाई  सम्बोधन गर्न सहज हुने विश्लेषणका आधारमा पछिल्लो निर्णय भएको प्रवक्ता पाण्डेले बताए।

दुवाकोटमा २०६६ मा एक सय २२ रोपनी तथा २०६५ मा कीर्तिपुरमा दुई सय ५६ रोपनी घडेरीका लागि खरिद गरेको थियो। त्यो जग्गा अब के प्रयोजनमा प्रयोग गर्ने भन्नेबारेमा सेनाले निर्णय गर्न बाँकी नै रहेको छ। (रासस)

प्रकाशित मिति: ११:१४ बजे, शुक्रबार, भदौ ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्