डेङ्गु राेगबाट डोटीमा एकको मृत्यु
सिलगढी, भदौ ६ : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा डेङ्गु रोगबाट एक जनाको मृत्यु भएको छ।
डेङ्गुबाट दिपायल सिलगढी नगरपालिका–६ थाप....

सिलगढी, भदौ ६ : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा डेङ्गु रोगबाट एक जनाको मृत्यु भएको छ।
डेङ्गुबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’को मृत्यु भएको हो। लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि उनलाई कैलालीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो।
उपचारका क्रममा उनको मृत्यु भएको र पछि चिकित्सकले डेङ्गु रोग लागेको बताएको उनका जेठाजु नारद मलासीले बताए। ‘धेरै दिनदेखि बिरामी भएकाले भारइल ज्वरोको समस्या होला भन्नेमा थियौं, रोग निको नभएपछि कैलालीतर्फ लग्यौँ, उपचार गर्दागर्दै मृत्यु भयो, चिकित्सकले डेङ्गु हो भनेपछि आश्चर्यमा परेका छौं,’ उनले भने।
जिल्ला बाहिर कहिले नगएकी उनलाई कसरी डेङ्गु रोग लाग्यो, यो विषयमा जिल्लामा रहेका चिकित्सकसमेत अचम्मित भएका छन्। डेङ्गु रोग लागेर उनको मृत्यु भएपछि अहिले उक्त क्षेत्रमा त्रास छाएको स्थानीयवासी बताउँछन्।
मसालीलाई डेङ्गु र स्क्रप टाइफस गरी दुई रोग देखिएको मायामेट्रो अस्पतालका डा.विष्णु जोशीले बताए। ‘मृतकमा डेङ्गु र स्क्रप टाइफस रोगले धेरै सङ्क्रमण गरिसकेको थियो, उपचार सम्भव भएन र मृत्यु भयो,’ डा.जोशीले भने।
जिल्ला अस्पताल डोटीका डा.भुषण मिश्रले एडिज नामको लामखुट्टेको टोकाइबाट यो रोग सर्ने बताए। तर डोटीमा अहिलेसम्म पनि उक्त रोगका बिरामी नदेखिएको उनको भनाइ छ।
डा.मिश्रका अनुसार एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बाहरु हुन्छन्। यसले दिउँसो मात्रै मानिसलाई टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ।
यसले आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा करीब तीन सय अण्डा पार्दछ। ज्वरो आएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा उसलाई पनि डेङ्गु सर्दछ।
लामखुट्टेको कारण भन्दा पनि मानिसको तीव्र बसाइँसराइ र भ्रमणले यो रोग सार्न सहयोग गरिरहेको चिकित्सको दाबी छ।











-1784808429.png)