विदेशमा रहेको राजपरिवारको सम्पत्ति नेपाल ल्याइसक्यौंः अर्थमन्त्री खतिवडा
काठमाडौं, भदौ ५ : अर्थमन्त्री डा. युवराज खतिवडाले राजपरिवारका नाममा विदेशमा रहेको सम्पत्ति नेपाल ल्याइसकेको बताएका छन्।
बिहीबार प....

काठमाडौं, भदौ ५ : अर्थमन्त्री डा. युवराज खतिवडाले राजपरिवारका नाममा विदेशमा रहेको सम्पत्ति नेपाल ल्याइसकेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले नेपाल ट्रष्ट गठनपछि राजपरिवारको सम्पत्ति धेरैजसो नेपाल ल्याइसकेको बताएका हुन्। ‘केही राजपरिवारका सदस्यको विदेशका बैंकहरुमा रकम भेटिएको थियो। त्यसलाई नेपाल ल्याएर नेपाल ट्रष्ट मातहत राखिसकिएको छ,’ उनले भने।
अर्थमन्त्री खतिवडाले संसादहरुले उठाएका विभिन्न विषयमा जवाफ दिँदै विदेशी बैंकमा नेपालीहरुले राखेको रकम नेपाल ल्याउन कठिन हुने बताए। ‘विदेशी बैंकमा नेपालीले राख्ने पैसा खोज्न कठिन छ, यसमा सबैको सहयोग चाहिन्छ,’ खतिवडाले भने।
उनले सम्बन्धित देशले सहयोग गरेर सूचना आदानप्रदान हुन सकेमात्र नेपालीले विदेशमा राखेको रकमबारे जानकारी पाउन सकिने समेत स्पष्ट पारे। सरकारले सम्पत्तिको खोजी निरन्तर गरिरहेको बताउँदै उनले अर्थ मन्त्रालयका राजश्व सचिवको अध्यक्षतामा समिति गठन गरिएको पनि सदनलाई जानकारी दिए।
राष्ट्र बैंक, नेपाल प्रहरी, सम्पत्ति सम्बन्धी वित्तीय जानकारी इकाई सम्मिलित समितिले काम गरिरहेको समेत अर्थमन्त्री खतिवडाले जानकारी दिए।
संसदमा नेपाली कांग्रेसका सांसद अतहर कमल मुसलमानले अर्थमन्त्री खतिवडालाई स्वीस बैंकमा नेपालीले जम्मा गरेको ५३ अर्ब रुपैयाँबारेमा कहिले छानविन हुन्छ भन्दै प्रश्न गरेका थिए।
अर्थमन्त्री खतिवाडले कतिपय नेपाली मूलका अन्य मुलुकका बासिन्दाको पनि रकम हुन सक्ने बताउँदै अनुसन्धान भने भइरहेको बताए। उनले गैरआवासीय नेपालीको पनि पैसा हुन सक्ने भएकाले अहिले नै यसबारेमा यति नै रकम नेपालीको विदेशमा छ भन्न नसकिने बताए।











-1784808429.png)