Kathmandu Press

माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरूको यसरी हुँदैछ व्यवस्थापन 

लामो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासपात्र बनेर बसेका बादललगायत टोपबहादुर रायमाझी, लेखराज भट्ट र प्रभु साहलगायतको टिम पार्टी एकीकरणपछि छुट्टिँदा समेत एमालेमै बसेका थिए।
माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरूको यसरी हुँदैछ व्यवस्थापन 

भरतपुर, मंसिर ११ : एमालेको १०औं महाधिवेशनमा माओवादी केन्द्रबाट आएका नेताहरूलाई पद व्यवस्थापन गर्न कठिन बनेपछि यतिबेला चितवनमा म्याराथन बैठक भइरहेको छ। 

माओवादी केन्द्रका पूर्वनेता तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायत २५ जना नेतालाई कुन पदमा व्यवस्थापन गर्ने भन्ने विषय नै यतिबेला पेचिलो बनेको छ।

लामो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासपात्र बनेर बसेका बादललगायत टोपबहादुर रायमाझी, लेखराज भट्ट र प्रभु साहलगायतको टिम पार्टी एकीकरणपछि छुट्टिँदा समेत एमालेमै बसेका थिए। 
माओवादी केन्द्रले आफ्ना पूर्वसहकर्मीलाई ‘गद्दार’ को बिल्ला भिडाए पनि उनीहरू एमालेसँग भएको एकता प्रक्रियामा आफूहरू अडिग रहेको भन्दै साेही पार्टीमै बसेका थिए। 

Hardik ivf

महाधिवेशनभन्दा अगाडि बसेको केन्द्रीय कमिटीको बैठकमा पूर्वमाओवादी नेताहरूले अन्य पार्टीबाट पनि आएका सबैलाई समेट्न केन्द्रीय कमिटीलगायत अन्य पद बढाउनुपर्ने प्रस्ताव राखेका थिए। तर, यो प्रस्तावको विषयमा स्पष्टता नभए पनि शुक्रबार चितवनमा उर्लिएको जनलहरलाई हेरेर पार्टीले केन्द्रीय कमिटीलगायत केही पद थप्न विधान नै संशोधन गर्नुपरेको पूर्वमाओवादी केन्द्र तथा हाल एमालेका केन्द्रीय सदस्य टेक बलम्पाकीले बताए। 

‘हामीले पहिले नै बैठकमा प्रतिनिधि संख्या ३ हजार बनाएर जाऔं भनेका थियौं। किनभने, अहिलेको महाधिवेशनको विशेष अर्थ छ। यो एकता महाधिवेशन पनि हो,’ उनले भने। 

शुक्रबारको सम्मेलनमा ७७ वटै जिल्लाबाट डेढ लाखभन्दा बढी पूर्वमाओवादी कार्यकर्ता चितवन पुगेको बलम्पाकीको दाबी छ। उनी उर्लंदो जनलहरले गर्दा २ सय २५ जनाको केन्द्रीय कमिटीको प्रावधान संशोधन गरेर ३ सय १ पुर्‍याएको बताउँछन्। 

प्रचण्डलाई साथ नदिएर एकताको रटानमै बसेका बादललाई कुन पदमा ल्याउने भन्ने नै अहिलेको पेचिलो प्रश्न हो। उनलाई वरिष्ठ उपाध्यक्ष बनाउँदा एमाले पंक्तिमा कस्तो सन्देश जान्छ? यो पनि अर्को प्रश्न हो। निर्वाचन प्रक्रियामा जाँदा एकतामा आएका पूर्वमाओवादीको अवस्था कमजोर हुने हुनाले यस अधिवेशनमा सहमतिका आधारमा पद बाँडफाँड गर्ने चाहना अध्यक्ष केपी ओलीको छ। 

लामो समय एमालेको संगठनमा बसेर काम गरेका कारण वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको सम्भावना बलियो छ। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सहमत भएको खण्डमा उपाध्यक्षमा बादल, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ र भीम रावलको सम्भावना प्रबल छ। यद्यपि, भीम रावलले यसअघि केपी ओलीविरूद्ध अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन्। यस विषयमा पनि सहमतिको प्रयास भइरहेको छ। 

यस्तै, पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी र लेखराज भट्टलाई उपमहासचिव तथा प्रभु साहलाई स्थायी कमिटीमा ल्याउनेगरी सहमति बनाउने प्रयास भइरहेको स्रोतको दाबी छ। यस विषयमा बलम्पाकी मौन रहे पनि उनले अन्यको हकमा केन्द्रीय कमिटीमा व्यवस्थापन गर्ने प्रयास भइरहेको बताए। ‘यो एकता महाधिवेशन पनि भएको हुनाले कम्तीमा एकपल्ट सहमति जाऔं भन्ने अध्यक्ष केपी ओलीलगायत शीर्ष नेताहरूको मनशाय छ,’ उनले भने।
 

प्रकाशित मिति: १४:३९ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्