‘तेश्रो लिङ्गी समुदायको अधिकारका लागि मिडियाहरुको भूमिका महत्वपूर्ण’
काठमाडौं, मंसिर ५ : लैगिंक तथा यौनिक अल्पसंख्यकहरुको समुदायले अधिकारका लागि सञ्चारमाध्यमहरुले महत्वका साथ समाचार सम्प्रेषण गरिरहेको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् ।आज राजधानीको...काठमाडौं, मंसिर ५ : लैगिंक तथा यौनिक अल्पसंख्यकहरुको समुदायले अधिकारका लागि सञ्चारमाध्यमहरुले महत्वका साथ समाचार सम्प्रेषण गरिरहेको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
आज राजधानीको नयाँ बानेश्वरमा नवौँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवको पुर्वसन्ध्यामा बेला फाउण्डेशनले गरेको ‘एलजीबीटीआई राईट्स एण्ड द रोल अफ मिडिया’ बिषयक अन्तक्रिया कार्यक्रमका सहभागीहरुले एलजीबीटीआई समुदायका लागि मिडियाहरुले प्राथमिकताका साथ समाचारहरु प्रकाशन प्रसारण गर्ने गरेको सहभागी पत्रकारहरुले बताएका हुन् ।
कार्यक्रममा अनलाइन खबरका सम्पादक एवं पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले मिडियाहरुमा यो समुदायले स्थान पाईरहेको तर सोही समुदायका व्यक्तिहरुको तदरुकता पनि जरुरी रहेको बताए । उनले भने,‘ मिडियाले यो समुदायका लागि के गर्नुपर्छ, त्यो सम्पादकै टेबलमा आएर ठोकेर भन्नुपर्दछ, अनि हामीलाइ पनि सजिलो हुन्छ, मिडियाले यो लेख्यो, यो लेख्ने भन्दा पनि यो समुदायका लागि मिडियाले के गर्नुपर्ने हो, के गर्यो भने ठिक हुन्छ भन्ने लाग्दछ, त्यो प्रष्ट रुपमा मिडियालाई जानकारी गराउनुपर्दछ ।
लामो समयदेखि एलजीबीटीआईका बिषयमा समाचार लेख्दै आएका पत्रकार माधव दुलालले यो समुदायका बिषयमा सरकारी निकायले बोल्न नचाहानु, सरकारलाई यो समुदायले झक–झकाउन नसक्नु, जनगणनामा यो समुदायलाई समावेश नगरिनु लगायतका समस्या रहेको औल्याए । उनले भने, ‘हामी पत्रकार साथीहरुले यसमा सहयोग त गरिरहेका छौं तर, यो समुदायमा नै एकरुपता नहुनु, पत्रकारहरुलाई नै धम्काउने लगायतका प्रबृत्तिले पनि गाह्रो भएको छ ।’
अधिवक्ता सुजन पन्त लगायतले यो समुदायका बिषयमा कानुनी हिसाबले धेरै कुराहरु गरेको तर केहि अधिकारहरु भने क्रमशः पुरा हुँदै जानेमा जोड दिए । उनले यसरी अधिकार स्थापित हुनुमा एलजीबीटीआई समुदायहरुले गरेका विभिन्न ‘मुमेन्ट’ हरुकै कारण स्थापित भएको बताए । कार्यक्रममा मानवअधिकारकर्मी बिष्णु खत्रीले यो समुदायका व्यक्तिहरुलाई पनि पत्रकारका संगठहरुको नेतृत्व तहमा समेत लैजानुपर्ने भन्दै मिडियामा यस समुदायका बिषयमा ‘फलोअप’ बिषयहरु आउनुपर्ने जनाए ।
तेस्रोलिङ्गी अधिकारकर्मी एवं नीलहिरा समाजकी अध्यक्ष पिङ्की गुरुङले आफ्नो समुदायका लागि करिब २० बर्षमा धेरै परिवर्तनहरु भएतापनि केहि अधिकारका बिषयहरु परिवर्तन हुने क्रममा रहेको जानकारी गराईन् । उनले आफ्ना समुदायका समाचारहरु धेरै आउने गरेको भएपनि कहिलेकाँही समाचारलाई पठानीय बनाउने नाममा गलत समाचारहरु समेत आउने गरेको गुनासो गर्दै त्यसमा कमी ल्याउनुपर्ने बताईन् । अझ युटुबमा आउने समाचारहरुले त आफूहरुलाई मानसिक समस्या समेत पर्ने गरेको उनको भनाइ छ ।
उनी थप्छिन्, ‘आफ्नो भ्युअर बढाउने नाममा हामीलाई मजाकको बिषय बनाउँदा दुख लाग्छ ।’ नेपाली मिडियाहरुमा आफ्नो समुदायभित्र पनि फरक–फरक पहिचान भएकाहरुलाई फरक किसिमले स्थान दिईनुपर्ने उनको माग छ ।
कार्यक्रममा महिला, बालबालिका समाज कल्याण मन्त्रालयका उपसचिव भरत शर्माले लैगिंक तथा यौनिक अल्पसंख्यकहरुको अधिकारका लागि धेरै पहिचानका हिसबाले कानुनहरुको निर्माण भएको भएपनि कार्यान्वयनको पक्ष फितलो भएको स्वीकार गरे । उनले यो समुदायका अधिकारका लागि सबैभन्दा पहिला परिवार र समाजले स्वीकार्ने वातावरणको सिर्जना गर्नुपर्नेमा जोड दिदै यसका लागि मिडियाहरुले समाचार सम्प्रेषण गर्नुपर्ने र राज्य र अन्य संस्थाहरुले त्यसमा साथ दिनुपर्ने बताए । जनगणनामा यो समुदायको तथ्याङ्क नलिएको बिषय जायज भएको समेत भनाइ थियो ।
यस्तै कार्यक्रममा सहभागी लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले कोभिड १९ को समयमा आफूहरुले धेरै समस्या भोग्नुपरेको गुनासो राखेका थिए । कार्यक्रममा लामो समयदेखि यहि बिषयमा कलम चलाईराखेका पत्रकार युवराज गौतमले एलजीबीटीआईका बिषयमा नेपालको मिडियामा भए गरेका प्रयासहरुको बारेमा कार्यपत्र र अनुभव प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालका लागि क्यानडाका उपराजदूत सुश्री अमान्डा स्ट्रोहानले पठाएको भिडियो सन्देश समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बेला फाउण्डेसनकी अध्यक्ष आरती लम्सालले भविष्यमा पनि यस्ता कार्यक्रमहरुबाट बिभिन्न समुदाय लक्षित बहस कार्यक्रमहरुको आयोजना गर्ने प्रतिबद्वता जनाईन् । बेला फाउण्डेशनले आयोजना गरेको कार्यक्रमलाई नयाँ दिल्लीमा रहेको हाई कमिसन क्यानडा र ‘ह्युमन राइर्टस फिल्म सेन्टर’ ले सहकार्य गरेको थियो ।