‘फस्ट म्यान’ अर्थात् चन्द्रमामा पहिलो मानव पाइलाको कथा : त्यसयता के भए उपलब्धि ?
पहिलो हुनुको गौरवभित्र भोग्नु र झेल्नुपर्ने पीडा र असफलताका शृंखलाहरूको सचित्र ऐना देखाउने चलचित्र हो, सन् २०१८ मा रिलिज भएको अमेरिकी सिनेमा ‘फस्ट म्यान’।काठमाडौं, मंसिर ४ : ४ नोभेम्बरमा अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस)मा अन्तरिक्ष यात्रीले खुर्सानी फलाएको समाचारले विश्वभरका सञ्चार माध्यममा प्रमुखता पायो। किनकि, अन्तरिक्षमै बाली लगाएर सफलता प्राप्त भएको यो पहिलो घटना थियो। चन्द्रमामा मानव पाइला टेकिएको ५२ वर्षको इतिहासमा प्राप्त यो उल्लेखनीय घटना पनि थियो। २० जुलाई १९६९ मा अमेरिकी अन्तरिक्ष यात्री निल आर्मस्ट्रङले पहिलोपटक चन्द्रमाको सतहमा पाइला टेकेका थिए।
यस्तै, एक महिनाअघि ‘च्यालेन्ज’ नामक रुसी चलचित्र पनि पूर्णतया अन्तरिक्षमा सुट हुने पहिलो सिनेमा बनेको छ। यसअघि अमेरिकी अभिनेता टम क्रुजले एलन मस्कको ‘स्पेस एक्स’ को सहयोगमा अन्तरिक्षमै चलचित्र छायांकन गर्ने योजना बनाएका थिए। तर, त्यस दौडमा रुसले पहिलो हुने बाजी मारेको छ। अझ स्पेस एक्सका संस्थापक एलन मस्क मंगल ग्रहमा मानव बस्ती बसाउने महत्त्वाकांक्षी योजना लिएर हिँडेका छन्। त्यसका लागि उनी अनवरत लागिपरेका छन्।
कुनै समय पृथ्वीबाट आँखाले मात्र देख्न सकिने अनेक गतिविधि अहिले अन्तरिक्षमा जारी छन्। अन्तरिक्ष अब कुनै सपनामा सीमित रहेन, यो त साहसिक यात्रा र उपलब्धीको केन्द्र बनेको छ। अधिकांश विकसित मुलुक एकपछि अर्को उपलब्धी हासिल गर्न लागिपरेका छन्।
अन्तरिक्षमा मानिसले गरिरहेका प्रयासबारे मन्थन गर्ने हो भने अन्तरिक्ष यात्रा जति कठिन छ, त्यति नै बर्सेनि सहज पनि बन्दै गएका छ। मानिसको स्वभाव नै हो, जहाँ बढी जोखिम हुन्छ, त्यहीँ आफूलाई अब्बल सावित गर्नु। त्यसैले त पानी पँधेरोझैँ बन्दैछ, अन्तरिक्ष यात्रा।
अनेक उपलब्धिमा पहिलो बन्ने दौडमा सहभागी छन्, अमेरिका, रुस, चीन र खाडी राष्ट्रहरू। पछिल्ला वर्षमा छिमेकी मुलुक भारत पनि अन्तरिक्षमा आफ्नो उपस्थिति जनाउन लालायित देखिन्छ। सोही होडबाजीको ‘बेन्चमार्क’ थियो, चन्द्रमामा मानव जातिको पहिलो कदम।
इतिहास रच्न सफलता प्राप्त गर्नु आफैँमा गर्वको विषय हो। तर, पहिलो हुनुलाई जति गौरवको विषय मानिन्छ, आफैँले गोहो पहिल्याउनुको चुनौती पनि उत्तिकै छ। पहिलो हुनुको गौरवभित्र भोग्नु र झेल्नुपर्ने पीडा र असफलताका शृंखलाहरूको सचित्र ऐना देखाउने चलचित्र हो, सन् २०१८ मा रिलिज भएको अमेरिकी सिनेमा ‘फस्ट म्यान’।
निल आर्मस्ट्रङको बायोपिक ‘फस्ट म्यान’
‘वान स्टेप अफ अ म्यान, इज अ जाइन्ट स्पेट फर अ म्यानकाइन्ड’। चन्द्रमामा पहिलोपटक पाइला टेक्दा निल आर्मस्ट्रङले व्यक्त गरेको भावना हो यो। ‘जेमिनी–८’ मिसनअन्तर्गत ‘एपोलो–११ लुनार मोडुलो इगल’ करिब आठ दिन अन्तरिक्षमा बिताइसकेको हुन्छ। यसपटक नासा र जेमिनी–८ का टिम दृढ छन्, चन्द्रमामा पुगेरै छाड्न।
‘लुनार मोडुलो इगल’ यान ल्यान्ड गर्न निर्धारण गरिएको हुन्छ। तर, उक्त स्थान अन्तिम समयमा गएर उपयुक्त हुँदैन। यानमा रहेको अन्तिम ३० सेकेन्डमा इन्धन सकिन लाग्दा आर्मस्ट्रङले अर्को स्थानमा ल्यान्ड गर्छन्। चन्द्रमाको भूमि टेक्दा उनले माथिका पंक्तिमा आफ्ना भावना पोख्छन्। जसको अर्थ हुन्छ, ‘मानवको एउटा सानो पाइला, मानव जातिकै लागि ठूलो खुड्किलो हो।’ हुन पनि, चन्द्रमाको उक्त अवतरणले अन्तरिक्ष यात्राको रूपरेखा नै बदलिदियो।
२० जुलाई १९६९ मा चन्द्रमामा अवतरण गरी आठ दिन तीन घण्टा १८ मिनेट ३५ सेकेन्ड यात्रा तय गरेर फर्किन्छन्, आर्मस्ट्रङ र उनका सहयात्री बज अल्ड्रिन। यद्यपि, उक्त दृश्य चलचित्रको उत्तराद्र्धमा देखाइएको छ। चन्द्रमामा पहिलो पाइला राखेका निल र बजको जीवनीमा आधारित बायोपिक हो, फस्ट म्यान। चलचित्रको नामैले पनि फस्ट म्यान, पहिलो मानवको अर्थ दिन्छ।
चलचित्रको सुरुवाती दृश्य थोरै ‘डिस्टर्बिङ’ जस्तो लाग्छ। अन्तरिक्ष यानमा रहेका आर्मस्ट्रङ अन्तरिक्षबाट फर्केर धर्तिमा आफ्नो यानलाई अवतरण गराउन प्रयासरत छन्। सानो झ्यालजस्तो सिसाबाट कहिले निष्पट्ट अध्याँरो देखिन्छ भने कहिले सुन्दर नीलो सगर। यानको गतिमा सन्तुलन नहुँदा उनको जीवन नै जोखिममा रहेको अनुमान लगाउन सकिन्छ। यो दृश्य सन् १९६१ को थियो, जब उनले एक्स–१५ नामक रकेट दुर्घटनामा पर्छ। उनी भाग्यले बाँच्छन्।
उनकी छोरी ब्रेन ट्युमरका कारण बिरामी छिन्। उनी केही विचलित छन्। तर, औषधोपचारका क्रममै छोरीको मृत्यु हुन्छ। सन्तान वियोगका कारण अब उनले केही समय ब्रेक लिने अनुमान धेरैको हुन्छ। यद्यपि, उनले ‘जेमिनी–८’ ‘लुनार मोडुलो इगल’ नामक अन्तरिक्ष यात्राका लागि निवेदन दिन्छन्।
‘एपोलो–११ लुनार मोडुलो इगल’ अर्थात् चन्द्रमामा मानव अवतरणका लागि तय गरिएको प्रोजेक्ट। छोरीको दुःखद् निधनले उनी विचलित छन् तर होस गुमाएका छैनन्। उनी आफैँ पनि सन्तान वियोगको पीडाबाट टाढिन उक्त मिसनमा संलग्न हुन चाहेका हुन्छन्।
तर, अन्तरिक्षको यात्रा सहज छैन। त्यो पनि पहिलोपटक, आफैँमा जटिल विषय थियो। असफलताको शृंखलामा उनीहरूले सरकार, अमेरिकाका नागरिक तथा सञ्चार माध्यमबाट अनेक तर्क–विर्तक झेल्नुपर्छ। अर्कोतर्फ अन्तरिक्षमा पहिलो हुने दौडमा तत्कालीन सोभियत संघले बाजी मार्ने जोखिम देखिरहेका हुन्छन्, अमेरिकी अधिकारीहरूले। हुन पनि, तत्कालीन सोभियत संघले अन्तरिक्षमा एकपछि अर्को सफलता हासिल गरिरहेको हुन्छ।
यात्राका क्रममा विभिन्न कारणले ज्यान गुमाउने संख्या पनि कम हुँदैन। यसरी एउटा तनावग्रस्त वातावरणमा उनीहरूले काम गरिरहनुपरेको सिनेमामा देखाइएको छ।
पहिलो चरणको सफलतामा उनी अन्तरिक्षमा छोडिएको एक ‘डक’ जुन चन्द्रमाको नजिक हुन्छ, लाई उनीहरूले यात्रा गरेको यानसँग जोडनुपर्ने हुन्छ। जसमा उनीहरू केही हदसम्म सफल पनि हुन्छन्। यद्यपि, उनीहरूको पहिलो चरणको सफलताको खुशी लामो समय टिक्दैन। ‘डक’ मा समस्या आउँदा ‘डक’ फुत्किन्छ। यसरी चन्द्रमामा पुग्ने मिसन नजिकिदै जाँदा पछाडि फर्किनुपर्छ।
हात पर्नै लागेको सफलता टाढिँदा कस्तो होला ? अनेक सफल प्रयासले एकाएक असफल मोड लिँदा पनि मिसन टिम विचलित हुँदैन। आर्मस्ट्रङ के दोस्रो पटकमा सफल होलान् ? चन्द्रमामा ल्यान्ड गर्दाको ऐतिहासिक क्षण कस्तो थियो ? उक्त समय कस्ता समस्या देखिए। अवतरण सहज थियो वा असहज ? यी तमाम प्रश्नको उत्तरका लागि भने अढाइ घण्टाको समय छुट्याउनुपर्नेछ, फिल्म ‘फस्ट म्यान’का लागि।
अन्तरिक्ष कस्तो देखिएला, कस्तो होला त्यहाँको परिवेश आदिबारे आम मानिसमा हुने कौतुहल पनि चलचित्रले मेटाउँछ। केही वर्षअघि मात्र बनेको चलचित्र भए पनि यसमा सन् १९६० को दशकको परिवेश चित्रण गरिएको छ। ‘फस्ट म्यान’ले साँच्चै अन्तरिक्षमै पुगेको अनुभूति दिलाउन सक्छ।
एडभेन्चर बाहिर व्यापार अनि प्रयोग
सोभियत संघका अन्तरिक्ष यात्री युरी गागरिनले पहिलोपटक सन् १९६१ मा अन्तरिक्षको यात्रा गरेका थिए। उनी नै अन्तरिक्ष यात्रा गर्ने पहिलो व्यक्ति हुन्। त्यसपछिको ठूलो मानव उपलब्धी थियो, चन्द्रमामा मानिसको अवतरण।
चलचित्रमा आर्मस्ट्रङको ध्यान चन्द्रमामा हुन्छ। उनी पारिवारिक भेला, गेट–टुगेदरमा पनि चन्द्रमालाई हेरेर बसेका हुन्छन्। धर्तिदेखि सगरमा रहेको चन्द्रमासम्मको यात्रा चलचित्रमा सुन्दर, सरल अनि भव्य रूपमा देखाइएको छ। चन्द्रमा पुग्नका लागि धर्तिमै बसेर अनवरत खटेका नासाका वैज्ञानिकहरूको योगदानलाई पनि उत्तिकै स्थान दिइएको छ, चलचित्रमा। मिसन सफल गराउने व्यक्तिका रूपमा निल आर्मस्ट्रङ सतहमा देखिए पनि उनको पछाडि रहेको टिमलाई पनि चलचित्रमा प्राथमिकताका साथ देखाइएको छ।
निलको समयमा चन्द्रमा पुग्नु निकै ठूलो उपलब्धी थियो। उनकै पदचाप पछ्याउँदै हालसम्म चन्द्रमामा ६ पटक मानिसको अवतरण भइसकेको छ। ५० भन्दा बढी प्रोजेक्ट सुरु भएका छन्। सामान्य लाग्ने यस्ता विषय प्रादुर्भाव हुन भने कति गाह्रो र जोखिमपूर्ण थियो भन्ने जान्न एकपटक चलचित्र हेर्नैपर्छ।
चीनले केही समययता पृथ्वीबाट नदेखिने चन्द्रमाको ‘डार्क साइड’मा आफ्नो यान उतारेर काम गरिरहेको छ। चन्द्रमाको डार्क साइडमा आलु, कपासलगायत खेती गरिएको छ। चन्द्रमाको ‘ग्राभिटी अफ ल’कै आधारमा त्यहाँ खेती भइरहेको छ। चीनको यो कामले सफलता प्राप्त गरेमा अन्तरिक्षमा अमेरिकाको एकल प्रभुत्व समाप्त हुनेछ। यो पनि निल आर्मस्ट्रङको पहिलो यात्राकै निरन्तरता हो।
पाँच दशक अघिसम्म अन्तरिक्ष र विभिन्न ग्रह, उपग्रहहरूको सतह कस्तो होला भन्ने जिज्ञासा थियो। पछिल्ला वर्षमा प्राप्त उपलब्धीमाझ अब ती जिज्ञासाका विषयमा सीमित रहेनन्। एडभेन्चर मानिने अन्तरिक्ष यात्रा अब व्यापार र भविष्यको मानव बस्तीका लागि तयार पारिँदैछ।
संसारभरका सयौँ निजी कम्पनीहरूको लगानी अन्तरिक्षमा जारी छ। र, त्यो लगानी हरेक वर्ष ३० प्रतिशतका दरले बढिरहेको फ्लोरिडास्थित न्यु स्पेस ग्लोबलका सह–संस्थापक रिचार्ड रकेटले एक अन्तवार्तामा बताएका छन्।
अन्तरिक्ष भविष्यमा इन्धनको स्रोत बन्ने प्रचुर सम्भावना छ। १२ अप्रिल २०२० मा बीबीसीमा प्रकाशित समाचारअनुसार तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चन्द्रमामा इन्धन उत्खनन गर्न निर्देशन दिएका थिए। किनकि, अहिले पृथ्वीमा रहेको इन्धनमा जति रुस र चीनको स्वामित्त्व छ, अमेरिकाको छैन। र, दुवै मुलुकलाई टक्कर दिन ट्रम्पले अन्तरिक्षमा रहेका विभिन्न ग्रह र उपग्रहबाट इन्धन आपूर्ति गर्ने महत्त्वाकांक्षी योजना अगाडि सारेका थिए। आफ्नो सुपर पावरलाई स्थापित गराइराख्ने अस्त्रका रूपमा ट्रम्पले भविष्यको अन्तरिक्ष अभियानलाई उपयोग गर्ने रणनीति बनाएको बुझ्न गाह्रो छैन।
बीबीसीको सोही रिपोर्टअनुसार ‘मेरिटाइम ल’जस्तो कानून अन्तरिक्षका हकमा बनेको छैन। त्यसैले अहिले कुनै मुलुकले अन्तरिक्षमा आफ्नो प्रभुत्त्व दाबी गर्न पाउँदैन। भनाइ नै छ, जसको शक्ति उसकै भक्ति। अमेरिकाले यही अवस्थामा अन्तरिक्षबाट अधिकतम लाभ हासिल गर्न सक्ने बुझाइ ट्रम्पको हुन सक्छ।
अन्तरिक्ष यात्राको कुरा गर्दा सन् १९७७ मा प्रक्षेपण गरिएको ‘भोएजर मिसन’लाई बिर्सन मिल्दैन। करिब ४४ वर्षको अन्तरालमा उक्त यानले हाम्रो ब्रह्माण्डको लामो यात्रा तय गरिसकेको छ। सोही यानले पठाएका विभिन्न ग्रह र उपग्रहका तस्बिरले पृथ्वीमा बसेर अन्तरिक्षको अध्ययनलाई सहज बनाइदिएका छन्।
‘फस्ट म्यान’मा भावनात्मक पक्ष
आफ्नो प्रिय व्यक्ति एकै भूगोल तर आँखासामु नहुँदा विचलित हुने गर्छ हाम्रो मन। सोही व्यक्ति यो भूगोल नभई ग्रहबाटै टाढा हुँदैछ भने कल्पना गरौँ त कस्तो हुन्छ होला हाम्रो मनस्थिति।
चलचित्रको एक पाटोमा निल आर्मस्ट्रङ मात्र होइन, अन्य अन्तरिक्ष यात्रीका परिवारको भावनात्मक पाटोलाई पनि प्रस्तुत गरिएको छ। एक लोकबाट अर्को लोकमा जहाँबाट फर्कने निश्चित छैन, उक्त समय परिवारका सदस्यमा छाउने सन्नाटा दर्शकलाई समेत अनुभव हुन्छ।
चन्द्रमाको मिसनका लागि जान लागेका आर्मस्ट्रङले आफ्ना सन्तानसँग यसबारे केही संवाद गर्न चाहँदैनन्। तर, उनी श्रीमती जेनेटको भावुक अपिलपछि दुई छोरासँग कुरा गर्छन्। कतै टाढाको यात्राले परिवारमा पार्ने भावनात्मक असर देख्न सकिन्छ चलचित्रमा। यसले एस्ट्रोनट्सहरू कति दह्रो मुटुका हुनुपर्छ भन्ने देखाउँछ।
चलचित्र अवधिभर आर्मस्ट्रङलाई सुख–दुःख, पीडा–आनन्द केही अनुभूति नहुने व्यक्तिका रूपमा देखाइएको छ। उनकी छोरी केनको मृत्युसँगै उनी कठोर बनेका छन्। तर, चन्द्रमामा अवतरण भएसँगै उनले चन्द्रमाकै एक भागमा आफ्नो छोरीको हातको ब्रासलेट छोडिदिन्छन्। जुन उसको अन्तिम चिनो थियो। तब मात्र उनी भावुक हुन्छ। र, रुन्छन् पनि।
यस्तै, उनी जितहार, सफलता–असफलताभन्दा पनि मिसनमा केन्द्रित छन्। सोही कारण उनी प्रेस मिटमा पनि अन्य उनका साथीको तुलनामा खासै उत्सुक देखिँदैनन्। यसरी ब्रह्माण्डको खोजमा निस्केका अन्तरिक्ष यात्रीहरूको दबिएको भावना पनि व्यक्त भएको छ, चलचित्रमा।