Kathmandu Press

‘पचली भैरव-रुक्मिणी’को कथामा परपीडक समाजको प्रतिविम्ब

‘पचली-भैरव’को कथा मात्र नभई ‘राम-सीता’ र ‘कृष्‍ण-राधा’का कथामा पनि परपीडक समाज सामुन्‍ने आउँछ। पश्‍चिमा किंवदन्तीका क्युपिड र साइकीको कथामा पनि त्यस्तै परपीडिक समाज सामुन्‍ने आउँछ।
‘पचली भैरव-रुक्मिणी’को कथामा परपीडक समाजको प्रतिविम्ब

काठमाडौं, कात्तिक २९ : ‘प्रेमले मन चिन्दो रहेछ तर जब प्रेम गर्भमा पुग्छ, तब घर अनि थर सोध्दो रहेछ,’ १२ वर्षपछि भेटेका भैरवलाई नाटकको उत्तरार्द्धमा रुक्मिणीले भन्छिन्।

अविवाहित महिला गर्भवती बन्दा सबैभन्दा पहिले उठ्ने प्रश्‍न हो- समाजले के भन्छ ? उनी मात्र नभई उनको परिवारले पनि त्यस भयको सामना उत्तिकै गर्नुपर्छ। सोही प्रश्‍न र समाजको लाञ्‍छनासँगै उनको जीवन अगाडि बढ्छ।

१२ वर्षपछि पचली भैरवलाई भेट्न आएकी रुक्मिणीको साथमा एक लक्का जवान छोरा पनि हुन्छन्। बिछोड हुँदा गर्भमा रहेको छोरा, जसलाई पचली भैरवले १२ वर्षअघि केवल एकपटक मात्र देख्‍न पाएको हुन्छ।

Hardik ivf

जीवनका भोगाइहरूले अब भने उनी समझदार अनि संयमित भएकी छन्। आफ्ना भोगाइ अनि सिकाइले बोध गराएका अनुभूति उनी सविस्तारमा भैरवलाई सुनाइरहेकी हुन्छिन्।

उनले जीवनमा भोगेका कठिनाइ सबैको दोष आफैँलाई दिन्छिन्। जीवनको एक कालखण्डमा भैरवको रहस्य जान्‍ने उत्सुकता र कौतुहलमा संयम हराउँदा जीवनको रूपरेखा नै परिवर्तन भएको हुन्छ, जसलाई उनी आफ्नै असंयमको परिणाम मान्छिन्।

प्रेमी भैरवको असली पहिचान खुल्दा आफूलाई सम्हाल्न सक्दिनन्। उनले सम्भवतः पाउन सक्ने श्रीमानको घर र थर दुवै गुमाउँछिन्। तर, जे हुन्छ राम्रैका लागि हुन्छ। सोही भोगाइले उनलाई एक परिपक्व महिला बनाउँछ र नई अजिमा (महिलाको शरीरमा पैदा हुने दैवी शक्ति) बन्छिन्।

के छ नाटकमा ?

प्रचलित पचली भैरव किंवदन्तीभन्दा केही पृथक छ, यो नाटक। कथा सुरु हुन्छ, पचली भैरव कान्तिपुरी नगरीको पचलीमा संध्याकालीन ध्यानमा लीन रहेको दृश्यबाट।

पचली भैरवलाई फर्पिङका प्रथम राजा यलम्बरका रूपमा व्याख्या गरेका छन्। कतिपयले भने उनी फर्पिङका दोस्रो राजा पलम्बर भएको बताउने गरेका छन्। यस नाटकको कथामा पनि पचली भैरवलाई पलम्बरकै रूपमा चित्रण गरिएको छ। फर्पिङका राजामा असाधारण शक्ति हुने गरेको किंवदन्ती रहिआएको छ। असाधारण शक्तिकै कारण प्रातःकालमा काशी पुगेर नित्य पूजापाठ गरी दिउँसो राज्य सञ्‍चालन गर्ने नाटकमा देखाइएको छ। संध्याकालमा थकान मेटाउन उनी काठमाडौं पचली आउने गरेको किंवदन्ती छ।

उनलाई पचलीकै एक सुन्दरी रुक्मिणीले देख्छिन्। साँझमा देखिने ती पुरुष पात्रलाई उनले चिनेकी हुन्‍नन्। तर, विस्तारै उनी राजातर्फ आर्कषित हुन्छिन्। दैनिक देखभेटमा यी दुईको चिनापर्ची हुन्छ। रुक्मिणीको मनमा पलाएको मायाको पालुवा फर्पिङका राजा (भैरव) को मनमा पनि फक्रिन्छ।

त्यसपछि रुक्मिणीको गर्भ बस्छ। माथि उल्लेख भएजस्तै प्रेमको समय चिनिएको मनले मात्र अब राजाको असली परिचय, घर र थर माग्छ। रुक्मिणीले आफ्नी आमाले भनेअनुसार नै भैरवलाई छलमा पर्छिन्। र, वास्तविक परिचय माग्छिन्। भैरवले उक्त समय रहस्य जान्‍न उचित नभएको बताउँछन्। तर, रुक्मिणीको दबाबको अघिल्तिर उनको केही लाग्दैन।

भैरवको वास्तविक स्वरूप देखेपछि रुक्मिणीले आफ्नो संयम गुमाउँछन्। उनी भैरवबाट टाढिन्छिन्। र, भैरव र रुक्मिणी छुट्टिन्छन्। रुक्मिणीले आफ्नो सन्तानसँगै आफ्नै दुनियाँ बसाउँछिन्। आरोह-अवरोहपूर्ण कठिन जीवनयात्रा पार गर्दै उनले आफूलाई बलियो बनाउँछिन्।

अब उनी पहिलेजस्तो बहकाउमा छैनन्। बालख छोरोले आफ्नो पिताको परिचय माग्दा उनले छोरालाई सम्झाउँछिन्। समयअघि रहस्य थाहा पाउँदा दुर्घटना मात्र निम्तिने बताउँछिन्। आफ्नो जीवनका भोगाइ र सिकाइले उनलाई परिपक्व र बौद्धिक बनाएको छ। सोही गुण उनले आफ्नो छोरालाई पनि सिकाउँछिन्, त्यसरी नै दीक्षित गर्छिन्।

बौद्धिकताको पु्ष्‍टि भैरवले साथैमा बस्‍न राखेको प्रस्तावको अस्वीकृतिबाट पनि हुन्छ। १२ वर्षपछि भेट्न आएका श्रीमती र छोरालाई उनले सँगै बस्‍न अनुनय गर्छन्। तर, उनले अस्वीकार गर्छिन्। आफू एकल महिलाकै रूपमा समाजमा लड्न र बाँच्‍न सिकेको उनले जवाफ दिन्छिन्।

बरु १२-१२ वर्षको अन्तरालमा भेट्न आउने वाचा गर्छिन्। सोही कारण सिकालीबाट पचली भैरवका लागि १२-१२ वर्षमा एक विशेष जात्रा हुन्छ। जानकारहरूको भनाइमा अजिमा रुद्रायणीको रूपमा सिकालीमा स्थापित गरिएको हो।

प्रतिविम्बमा रुक्मिणी र पचली भैरव

नाटक सुरु हुँदाकी एक लजालु, साधारण अनि उत्सुक महिला अन्तिम चरणमा नई अजिमा घोषित भएकी छन्। एक साधारण महिला कसरी नई अजिमासम्म कसरी हुन पुग्छिन् त ? त्यसको जवाफ उनको जीवन भोगाइले दिन्छ।

उनले आफ्नो प्रेमीबिनै नयाँ जीवन सुरु गर्छिन्। समाजमा बुवा नभएको सन्तानसहित बस्‍नु अहिलेको अत्याधुनिक युगमा त सहज छैन, परापूर्वकालमा अझ जटिल थियो। अनेक आरोह अवरोह छिचोल्दै उनी अगाडि बढ्छिन्।

समाजले औँला उठाउने उनको गर्भलाई समाजमा स्थापित हुने आधार बनाउँछिन् उनी। संयम गुमाउँदा भएको सानो गल्ती उनका लागि जीवनभरको पाठ बन्‍न पुग्छ। आधुनिक समाज पनि त्यहाँभन्दा टाढा कहाँ छ र !

आफ्नो वास्तविक स्वरूपमा प्रकट भएका भैरव अक्षता छर्किएपछि मात्र पुनः राजामा परिणत हुन्थे। तर, डराएर भागेकी रुक्मिणीलाई पर्खिँदै भैरवका रूपमा पचलीमा शिलामा बस्छन्। अर्थात्, ढुंगो बन्छन्। शिलामा परिणत हुनु नै निर्बलताको प्रतीक हो। यसरी भैरवले चाहेर पनि सामाजिक परिधिका कारण रुक्मिणी र उनका छोरालाई स्वीकार्न सक्दैनन्।

रुक्मिणी भने कहिले घाम कहिले वर्षा त कहिले आँधीबेहरी सहँदै बस्छिन्। जीवन मरणको दोसाँधमा पुग्दा भगवानलाई पुकार्छिन्। जसको कोही हुँदैन, उसको भगवान् हुन्छ भनेझैँ उनीभित्र दैवी शक्ति जागृति हुन्छ। त्यसैबाट उनी अजिमाको रूपमा प्रकट हुन्छिन्। नाटकमा देखाइने दैवी शक्ति भनेको अवचेतन मनको उपज हो।

नाटकमा उनी अजिमाको स्वरूपमा आउँदा एक रुख उनको सामु आउँछ। रुख आफैँमा जीवनको प्रतिविम्ब, जसले हामीलाई प्राणवायु प्रदान गर्छ। आफ्नो दैवी शक्तिको प्रभावबाटै उनले आफू र सन्तानलाई जीवित राखेकी छन्।

यस्तै, नृत्य र भावको प्रयोग गरी नाटकलाई अझ सशक्त बनाइएको छ। गर्भ बस्‍नुको कारण रुक्मिणीलाई उनकी आमाले सोधेकी हुन्छिन्, उनले त्यसको जवाफ नृत्यबाट दिएकी छन्। कतिपय स्थानमा प्रतीकात्मक रूपमा कथा बुझाउन नृत्यको प्रयोग भएको छ, नाटकमा।

दैनिक जीवनमा भएका मकै छोडाउने, स्थान र परिस्थितिको नक्कलले पनि नाटकलाई बलियो बनाएको छ। प्रेमको सुरुवाती चरणमा हुने लजाइ, अप्ठ्यारा र रोमाञ्‍चकताले दर्शककै मनमा पनि काउकुती लगाउँछ।

महिलाको महिमा वा परपीडक समाज

एउटा ग्रिक मिथक छ, क्युपिड र साइकीसँग सम्बन्धित। साइकी निकै राम्री हुन्छिन्। सौन्दर्यकी देवी भेनससमेत उनको सौन्दर्यबाट प्रभावित हुन्छिन्। मानिसले उनलाई छाडी साइकीलाई मान्‍न थाल्दा उनलेसाइकीलाई राक्षससँग प्रेममा पार्न आफ्नो छोरो क्युपिडलाई आदेश दिन्छिन्।

ग्रिक मिथकमा क्युपिड मानिसको मनमा प्रेम अंकुराउने जिम्मेवारी पाएका देवता हुन्। तर, साइकीको सौन्दर्यमा उनी आफैँ यति मोहित हुन्छन् कि उनी आफैँ साइकीसँग प्रेममा पर्छन्।

तर, क्युपिडसँगै अँध्यारोमा मात्रै साइकीसँग भेट्ने गर्छ। क्युपिडले आफ्नो परिचय लुकाएको हुन्छ र साइकीलाई पनि उक्त रहस्यबाट टाढा रहन भन्छ। एक रात साइकीले क्युपिड निदाएको समयमा उनको अनुहार हेर्छिन्। उक्त कुरो चाल पाएका क्युपिड अब कहिल्यै नभेट्ने भनी त्यहाँबाट भाग्छन्।

रुक्मिणी र पचली भैरव अनि क्युपिड र साइकीका कथा मिल्दाजुल्दा छन्। रुक्मिणी र पचली भैरवको कथामा रुक्मिणी भैरवको रूप देखेर भाग्छिन्। यस्तै, क्युपिड र साइकीको कथामा साइकीले आफ्नो रहस्य पत्ता लगाएको थाहा पाएर क्युपिड भाग्छन्।

उनीहरूको परिवेश र पृष्‍ठभूमि फरक भए पनि भोगाइ भने एकै किसिमको छ। साइकीले आफ्नो प्रेमीलाई पुनः प्राप्त गर्न विभिन्‍न बाधा व्यवधानको सामना गर्नुपर्छ। उनले आफ्ना श्रीमानलाई भेट्न अनेक परीक्षा पार गर्नुपर्छ। रुक्मिणी भने अविवाहित आमा हुन्छिन्, जसलाई सधैँ समाजले हेयको दृष्‍टिले हेर्छ। तर, पचली भैरव र क्युपिडले त्यस्तो केही भोग्‍नु पर्दैन ?

पचली भैरव पनि आफ्नो कर्तव्यले बाँधिएका छन्। देशको रक्षार्थ हरबखत खटिनुपर्छ उनलाई। क्युपिडलाई साइकीको अवस्थाबारे उनकी आमाले गुमराहमा राखेकी हुन्छिन्। साइकी र रुक्मिणीले समाजमा एकल हुँदा निकै कठिनाइ बेहार्नुपर्छ। चाहे समाजको कथित निम्‍न जातकी रुक्मिणी हुन् वा संसारकै सुन्दरी साइकी। समाजले महिलालाई पीडित नै देख्‍न चाहेको हुन्छ। प्रेमी र श्रीमानसँगको मिलनका लागि समाज परपीडक बनेको छ, उनीहरूका लागि।

नाटक ‘पचली भैरव’लाई गहिराइमा बुझ्‍ने हो भने समाज कति परपीडक हुन्छ भन्‍ने छर्लंग हुन्छ। महिला र पुरुषलाई भिन्‍न परिधिमा बाँध्ने समाज साँच्चैकै परपीडक छ। ‘पचली-भैरव’को कथा मात्र नभई ‘राम-सीता’ र ‘कृष्‍ण-राधा’का कथामा पनि परपीडक समाज सामुन्‍ने आएको छ। यी त पूर्वीय कथा र किंवदन्तीका प्रसंग भए। पश्‍चिमा किंवदन्तीका क्युपिड र साइकीको कथामा पनि त्यस्तै परपीडिक समाज सामुन्‍ने आउँछ।

प्रकाशित मिति: १५:०७ बजे, सोमबार, कात्तिक २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्