बत्तीमुनिको अँध्यारो : राजधानीकै ग्रामीण भेगमा पाइँदैनन् सार्वजनिक यातायात
संघीय राजधानी काठमाडौं उपत्यकाकै ग्रामीण भेगका बासिन्दाले सार्वजनिक यातायातका साधन नहुँदा पैदल यात्रा गर्नुपर्छ। सहरी क्षेत्रमै पनि राति आठ बजेपछि गाडी पाउन धौधौ पर्छ।काठमाडौं, कात्तिक २६ : २४ वर्षीया दीपिका थापाको बसाइ भक्तपुरबाट करिब चार किलोमिटर उत्तरस्थित छालिङमा छ। उनी छालिङदेखि भक्तपुरसम्म प्रायः पैदल यात्रा नै गर्छिन्। चाहे त्यो स्कुल होस् वा कलेज पढ्न अथवा परीक्षा दिन। हिउँद, बर्खा कहिल्यै गाडीमा यात्रा गर्न पाउँदिनन् उनले।
साविकका समयमा उनलाई चार किलोमिटरको यात्रा खासै कठिन लाग्दैन थियो। बानी जो परिसकेको थियो। तर, वर्षायाम र महिनावारीको समयमा गर्नुपर्ने यात्रा उनका लागि निकै कठिन हुन्छ। वर्षा सुरु हुनुअघि हावाहुरी आउँदा उनले पाटीपौवाको शरण लिनुपर्छ।
‘धन्न पुर्खाले बनाएको एउटा पाटी छ बीच बाटोमा,’ उनी भन्छिन्, ‘महिनावारीको समयमा एक त शरीर आफैँ पनि थकान हुने, त्यसमाथि पैदल यात्र, साह्रै कष्ट हुन्छ।’ यो समस्या उनले घरबाहिर निस्किन सक्ने भएदेखि अहिलेसम्म बेहोर्दै आएकी छन्।
‘आठ वर्षअघि ०७० सालमा करिब दुई वर्ष गाउँसम्म मिनीबस चल्यो,’ उनी सम्झिन्छिन्, ‘ बल्लतल्ल सञ्चालनमा आएको बस ६ असोज ०७२ देखि सुरु भएको नाकाबन्दीका कारण सधैँका लागि बन्द भयो।’ त्यसपछि उनी फेरि हिँडेरै कलेज र अन्य कामका लागि पैदल नै धाउन थालिन्।
अचम्म छ, मुलुकको संघीय राजधानीमै पनि यातायातको सुविधा छैन। ग्रामीण भेगका बासिन्दा अझै पनि दूरदराजका गाउँमा जस्तै पैदल यात्रा गर्छन्। उपत्यकाबाहिरका विकट क्षेत्रका दीपिकाका साथीहरू समेत अचम्मित हुन्छन्, यस्तो थाहा पाउँदा।
छालिङमा करिब ५-६ वटा विद्यालय छन्। दीपिकाले प्राथमिक तहसम्मको अध्ययन गाउँमै गरिन्। त्यसपछि माध्यमिक तहको अध्ययनका लागि उनले दैनिक भक्तपुरसम्मको यात्रा तय गर्नुपथ्र्यो।
भन्छिन्, ‘अहिले त स्कुलहरू आ-आफ्ना बस चलाउँछन्। हाम्रो पालामा त्यस्तो व्यवस्था नै थिएन।’ उनको गाउँसम्म सडक पुगेको छ तर सार्वजनिक यातायात सेवा पुगेकै छैन।
बसको सुविधा नहुँदा बिहानी सत्रमा पढ्ने किशोरीहरू समय-समयमा शारीरिक दुर्व्यवहारको शिकार हुँदै आएको उनी बताउँछिन्। सोही जोखिमका कारण बिहानी सत्रमा पढ्न किशोरीहरू हिचहिचाउँछन्। जन्मेर बुझ्ने हुँदादेखि २४ वर्ष पुग्दासम्म पनि गाउँमा यातायातको सुविधा नहुनु आफैँमा दुःखद् भएको उनी बताउँछिन्।
दीपिकाको जस्तै पैदल यात्रा गर्छन्, झौखेलका बाबुकाजी सुवाल। पेशाले शिक्षक उनी भने हिँड्नै रुचाउँछन्। भक्तपुरस्थित आदर्श आजाद माविमा उनले अध्यापन गराउँदै आएको लामो समय भइसक्यो। उमेरले ५० कटेका उनले आजसम्म कति वर्ष पैदल यात्रा गरे भन्ने लेखाजोखा राखेका छैनन्। उनी बिहान नौ बजे घरबाट हिँड्छन्। बाटोको दूरी ४५ मिनटदेखि एक घण्टामा तय गरिने हुनाले आफूअनुकुलको समय हेरेर उनी घरबाट हिँड्छन्।
एकपटक गाडी छुटेपछि एक घण्टादेखि ४५ मिनटसम्म कुर्नुपर्छ उनले। त्यति समयमा त उनी हिँडेरै भक्तपुर पुगिसक्छन्। केही वर्षदेखि झौखेलसम्म गाडी चलिरहेको भए पनि चालकको मनोमानीका कारण फाट्फुट्ट मात्र गुड्छन्। त्यसैले उनी गाडीको भर पर्न चाहँदैनन्।
भक्तपुरकै जितपुरमा भने बसको सुविधा छ। तर, त्यहाँ एक-एक घण्टामा मात्र बस छुट्छ। विकसित मुलुकमा सेकेन्ड र मिनटले ठूलो फरक पार्छन्। एक घण्टा कुर्नुपर्दा ग्रामीण भेगका बासिन्दाले बेहोर्नुपरिरहेको समस्याको गिन्ती नै छैन। यसरी हेर्दा केन्द्रमै पनि यातायात सुविधा निकै कमजोर र शिथिल देखिन्छ।
जितपुरकै बासिन्दा हुन्, सविना सुवाल। ठिमीस्थित फाइनान्समा काम गरिरहेकी उनलाई बिहान आठ बजे खाना खाएर हिँडिसक्नुपर्छ। कारण- साढे आठ बजेको गाडी छुट्यो भने पैदल यात्राको विकल्प रहँदैन। बुहारी भएकाले घरायसी कामकाज, खाना र थान्कोमुन्को सकेर गाडी भेट्न पुग्न उनलाई भ्याइनभ्याइ हुन्छ।
त्यसका लागि उनलाई बिहान सखारै उठ्नुपर्छ। त्यति गरे मात्र उनी समयमा अफिस पुग्छिन्। नत्र उनका लागि समयमा अफिस पुग्न सम्भव छैन। साढे आठ बजेको गाडी नभ्याए एक घण्टापछि मात्र अर्को गाडी चल्छ।
‘गाडी मात्र समय-समयमा चलिदिए धेरै सहज हुन्थ्यो,’ थकित मुद्रामा उनी भन्छिन्, ‘बिहानै खाना रुच्दैन, अफिसमा दिउँसो भोक लाग्छ चाँडै। दैनिकी निकै अस्तव्यस्त छ।’
यातायात सुविधा कमजोर र चुस्त नहुँदाको परिणाम भक्तपुरका ग्रामीण भेगका बासिन्दाले भोग्दै आएका छन्। चालकहरूको मनोमानीका कारण उपत्यकाका ग्रामीण क्षेत्रले चुस्त यातायात सेवा लिन पाएका छैनन्।
काठमाडौं र ललितपुरमा पनि उस्तै
भक्तपुर मात्र नभई काठमाडौं बूढानीलकण्ठमाथिको तारेभिर गाउँमा पनि उस्तै समस्या छ। सडक तारेभिरसम्मै पुगेको छ तर सार्वजनिक यातायातका साधन चल्दैनन्।
सोही कारण दैनिक बालबालिका र कलेज पढ्ने विद्यार्थीले पैदलै स्कुल, कलेज पुग्नुपर्छ। बूढानीलकण्ठ र गोकर्ण गरी तारेभिरबाट काठमाडौं सहरका लागि दुई बाटा छन्। गोकर्णेश्वर यातायात सेवा सुन्काथानसम्म पुग्छ। त्यहाँबाट भने पुनः तारेभिरसम्म हिँडेरै पुग्नुपर्छ। र, अर्को बूढानीलकण्ठ देउवा चोक (प्रधानमन्त्री शेरबहादुर देउवाको निवास क्षेत्र) हुँदै तारेभिर गाउँ पुग्ने बाटो छ। तारेभिरसम्म सार्वजनिक यातायात चलाउनेबारे व्यवसायीले सोचेकै छैनन्।
तारेभिरबाट सुन्ताखानसम्म आउजाउका लागि टेम्पो भने चल्छ। यद्यपि, एकपटक आउजाउ गर्दा करिब पाँच सय रुपैयाँ भाडा माग्छन्, टेम्पो चालकले।
भक्तपुर, काठमाडौंजस्तै समस्याबाट ललितपुरका ग्रामीण भेग पनि अछुतो छैन। लेले, लाँकुरी भञ्ज्याङ, फर्पिङलगायत ठाउँमा गाडी चढ्न एक-एक घण्टा पर्खिनुपर्छ। काठमाडौंको केन्द्र रत्नपार्कबाट चार-पाँच किलोमिटर टाढा अवस्थित ग्रामीण क्षेत्रमा जनताका लागि सर्वसुलभ सवारी साधनको पहुँच कहाँ !
के भन्छन् यातायात व्यवसायी ?
भक्तपुर जितपुर रुटमा करिब नौ वर्षदेखि सार्वजनिक सवारी साधन चालक कुमार खत्री सवारी साधनको संख्या कम भएका कारण एक-एक घण्टामा मात्र सेवा दिनुपरेको बताउँछन्। उनका अनुसार जितपुरमा कुल ६ वटा सार्वजनिक सवारी साधन छन्, जसमा एउटा गाडीले मुहानपोखरीको रुट दैनिक कभर गर्नुपर्छ।
‘बाँकी पाँचवटा गाडी पनि कुनै बिग्रिएर थन्किएका छन् त कुनै रिजर्भमा गइदिन्छन्,’ उनी भन्छन्, ‘धन्न एक-एक घण्टाको समय मिलाएर चलाइरहेका छौँ।’
उनका अनुसार बिहान र साँझ मात्र यात्री हुन्छन्, दिउँसो भने डेढ घण्टा फरकमा गाडी चल्छन्। ‘दिउँसो त मान्छे नै हुँदैनन्। चार-पाँच जना यात्री मात्र बोकेर पनि गाडी खाली चलाइरहेका छौँ,’ उनी भन्छन्, ‘पेट्रोल, डिजेलको भाउ उस्तै बढिरहेको छ। हाम्रो समस्या भने कसले बुझिदिने ?’ अन्य स्थानका गाडी चालकहरूको तर्क पनि यस्तै हुन्छ।
जितपुर यातायात व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामहरि बानिया भने चालकहरूको मनोमानी चल्ने गरेको बताउँछन्। समय-समयमा यस विषयमा चालकहरूलाई सचेत गराए पनि उनीहरूको प्रवृत्तिमा सुधार नआएको उनी बताउँछन्।
‘एउटाले एक घण्टाको क्यू खाइदियो भने अर्कोले डेढ घण्टा खाइदिन्छ,’ उनी भन्छन्, ‘बिहान आधा घण्टा र दिउँसो ४५ मिनटको फरकमा चलाऊ भन्दा पनि तालिका मिलाएनन्।’ समितिले भनेको नमान्ने र मनोमानी हुँदा उनले उक्त रुटमा गाडी चलाउन छोडिदिएका छन्।
के भन्छन् स्थानीय तह र सरोकारवाला ?
चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रका अनुसार यातायात र रुट पर्मिटको दायित्व जिल्ला प्रशासनको हो। विद्युतीय सवारीको हकमा मात्र स्थानीय तहलाई जिम्मेवारी मिलेको उनी बताउँछन्।
छालिङ क्षेत्रको विषयमा भने बाटो फराकिलो र सहज नभएका कारण पनि यातायातको सुविधा पुग्न नसकेको उनको भनाइ छ। उनको भनाइ जे भए पनि त्यस क्षेत्रको सडक फराकिलो बनाउन छुट्याइएको रकम फ्रिज भएको छ।
सैनिक क्षेत्र छोएका कारण सडक विस्तार गर्न सेनाले नदिएको मेयर मिश्र बताउँछन्। ‘सेनासँग थप कुराकानी भइरहेको छ, छलफल सकारात्मक हुन थालेको छ,’ उनी भन्छन्।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रमादेवी अधिकारी भने हालसम्म यस विषयमा कुनै प्रकारको जानकारी नभएको दाबी गर्छिन्। सोही कारण समस्या समाधानमा कुनै पहल हुन नसकेको उनको अनुमान छ। त्यसका लागि स्थानीय तहको बैठक डाकेर आवश्यक निर्णय लिइने उनको भनाइ छ।
यस्तै, काठमाडौं गोकर्णेश्वर-३ का वडाध्यक्ष राजेन्द्र भण्डारीका अनुसार तारेभिर क्षेत्रका लागि रुट पर्मिट हुँदा पनि सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन्। यात्री कम भएको बताउँदै गाडी चालक र समितिकै मनोमानी चलेको उनी बताउँछन्। अहिले हरेकको घरमा व्यक्तिगत सवारी हुँदा पनि सार्वजनिक सवारीतर्फ स्थानीय बासिन्दाले पनि चासो र माग नगरेको उनको बुझाइ छ।
यस्तै, बूढानीलकण्ठबाट तारेभिर जोड्ने सडकको अवस्था पनि खासै राम्रो नहुनु यातायातका साधन नचल्नुको अर्को कारण रहेको भण्डारीको भनाइ छ। भन्छन्, ‘गाडी सञ्चालनमा आए पनि हिउँदमा मात्र चल्छन्। वर्षाको समयमा बाटो साँघुरो र कच्ची भएका कारण चालकले जोखिम मोल्न चाहँदैनन्।’
यातायात व्यवसायीले तारेभिरका लागि लिएको रुट पर्मिट अन्य रुटमा लगेर प्रयोग गरिरहेको उनको भनाइ छ। यस विषयमा स्थानीय तहभन्दा ट्राफिक प्रहरीको कडा निगरानी र नियमन जरुरी रहेको उनको तर्क छ।
उपत्यकाका बासिन्दाको यातायातका यस्ता तमाम समस्याको सम्बोधन हुने तर त्यसका लागि लिखित निवेदन आउनुपर्ने राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला बताउँछन्। उनका अनुसार हरेक क्षेत्रमा रुट पर्मिट हुन्छ।
‘यदि त्यस प्रकारका समस्या छन् भने हामीलाई लिखित रूपमा समस्या पर्यो भनी पत्र आएमा काम अगाडि बढ्छ,’ सिटौला भन्छन्।
यद्यपि, उपत्यकाकै ग्रामीण भेगमा रात्रिकालीन सेवा भने सहज नहुने उनको तर्क छ। ‘रातको समय टाढा जान सुरक्षा र यात्रुकै चाप पनि कम हुने कारण सकिँदैन,’ उनी भन्छन्।
सहरमै छैन राात्रिकालीन सेवा
रातको समयमा काठमाडौंमै पनि आठ बजेपछि सार्वजनिक यातायातका साधन पाउन धौधौ हुन्छ। चक्रपथ रुटमा राति १० बजेसम्म फाट्टफुट्ट गाडी पाइन्छन्। तर,
काठमाडौंदेखि भक्तपुर र ललितपुरका लागि आठ बजेपछि गाडी पाउन कठिन छ। यसरी हेर्दा केन्द्रमै यातायातको समस्या चर्को देखिन्छ। संघीय राजधानीमै त सार्वजनिक यातायातको यो अवस्था छ भने अन्य जिल्लाका बासिन्दाले के आशा गर्ने ?
राजधानीबाट १० देखि १५ किलोमिटर दूरीमा मात्र रहेको भक्तपुरसम्म रात्रिकालीन यातायात सुविधा नहुनु आफैँमा दुःखद् रहेको ख्वपः भक्तपुर मिनीबस यातायात प्रालिका सहायक कार्यालय प्रमुख भोलाप्रसाद न्यौपाने स्वीकार्छन्।
केही समयअघि काठमाडौं महानगरले रात्रिकालीन यातायात सेवा नचलाएको होइन। तर, त्यो लामो समय टिकेन। भक्तपुरबाट सात बजे अन्तिम गाडी काठमाडौं आउँछ र सोही गाडी फर्किेन्छ। त्यसपछि ट्याक्सीमा महँगो भाडा तिरेर यात्राको गर्नुको विकल्प रहँदैन।