नल-दमयन्तीको कथा सम्झाउने अफगानिस्तान : जहाँ भोजन जुटाउन आफ्नै सन्तान बिक्री गर्छन् बाबुआमा
चरम आर्थिक संकट र भोकमरीको फन्दामा परेका अफगानिस्तानका नागरिक पेट पाल्नकै लागि आफ्नै सन्तानको बिक्री गरिरहेका छन्, धमाधम। र, उनीहरूका लागि जाडोयाम अझ प्राणघातक बनेर आउँदैछ।
काबुल, कात्तिक २४ : अफगानिस्तानको हेरात सहरको बाहिरी क्षेत्रमा टहल्दै गर्दा भीडभाडयुक्त सडक छिचोलेर लामो र सुनसान राजमार्ग भेटिन्छ। तालिबानका दुईवटा जाँच चौकी पार गर्ने क्रममा उक्त समूहका लडाकुहरू त्यस सुनसान सडकमा कसको राज छ भन्ने बताउँदै थिए।
पहिलो चौकीमा भेटिएका लडाकु मिलनसार थिए। तर, उनी हाम्रो कार र त्यहाँको संस्कृति मन्त्रालयले उपलब्ध गराएको ‘पर्मिट’लाई ओल्टाइपल्टाइ हेरे उनले। चौकीबाट अगाडि बढ्ने क्रममा काँधमा असल्ट राइफल भिरेका लडाकुले मन्द मुस्कानका साथ भने, ‘तालिबानसँग नडराउनूस्, हामी राम्रा मान्छे हौँ।’
दोस्रो जाँच चौकीका लडाकुहरू भने पहिलोका भन्दा फरक थिए- रुष्ट व्यवहारका उनीहरू खतरनाक थिए। त्यही चौकीका लडाकुले विरोध प्रदर्शन ‘कभर’ गर्दै गरेका अफगानी पत्रकारहरूलाई मरणासन्न हुने गरी पिटेका थिए। एक विदेशी फोटोग्राफरसहितका पत्रकारहरूलाई बन्दुकको कुन्दाले निर्घात पिट्दै गरेको भिडियो भाइरल भएको थियो।
हाम्रो भाग्य थियो, त्यस जाँच चौकीबाट छिट्टै छुटकारा मिल्यो। तथापि, जाँच चौकीका लडाकुले धम्कीमिश्रित भाषामा हामीलाई भने, ‘हाम्रोबारेमा राम्रा कुरा मात्र लेख्नु होला। त्यही हेक्का राख्नूस्।’
हेरातबाट करिब १५ किलोमिटर टाढा हामी माटो र इँटाबाट बनेका एककोठे घरहरूको एक ठूलो बस्तीमा पुग्यौँ। वर्षौँको लडाइँ र लामो खडेरीका कारण टाढा-टाढाका गाउँबाट मानिस यस बस्तीमा बसाइँ सरेर आएका हुन्। नजिकको हेरात सहरमा काम र सुरक्षा पाउने उनीहरूको बुझाइ हुन सक्छ।
हामी कारबाट बाहिर निस्किँदा धुलोले ढाक्यो। केही समयपछि यहाँ धुलोका साथ चिसो हावाको साम्राज्य हुनेछ। किनकि, जाडोयाम सुरु भइसकेको छ।
त्यस बस्तीमा हामी चर्को गरिबीका कारण आफ्नै नाबालक सन्तानको बिक्री गरिरहेका मानिसको बारेमा खोजी गर्न पुगेका थियौँ। पंक्तिकारलाई लागेको थियो, त्यस्ता १-२ वटा केस मात्र होलान्। तर, त्यहाँ पुगेर जे पाइयो, त्यसका लागि हामी पूर्ण रूपमा तयार थिएनौँ।
हामी त्यहाँ पुग्नासाथ एक व्यक्तिले हाम्रो टोलीका एक सदस्यलाई सीधै सोधे, ‘बच्चा खरिद गर्न आउनुभएको हो ?’ र, त्यसका लागि नौ सय डलर मागिरहेका थिए। हाम्रा सहयोगीले उनलाई सोधे, ‘किन आफ्नो बच्चा बिक्री गर्न चाहनुहुन्छ ?’ उनले जवाफ दिए, ‘मेरा आठ बच्चा छन्, उनीहरूलाई खुवाउने भोजन छैन।’
हामीले हेर्दाहेर्दै ६ महिनाकी छोरीलाई ती बाबुले बेचिदिए। जब ती बच्ची हिँड्न थाल्नेछिन्, खरिदकर्ता आएर लैजाने छन्।
बालबालिका बिक्री गरेर भोजन जुटाउने मजबुरी
हामी केही अगाडि बढ्यौँ। एक बच्चीलाई साथमा लिएकी महिला हामीनजिक आयौँ। उनी आत्तिएर हडबडाउँदै कुरा गर्न थालिन्। हाम्रा दोभाषेले बताएअनुसार उनी काखमा रहेका डेढ वर्षे छोरालाई पैसाको अति जरुरी हुँदा उनले पहिले नै बिक्री गरिसकेकी छन्।
हाम्रो वरिपरि जम्मा भएको भीडमा एक युवकले भने, ‘१३ महिनाकी मेरी भान्जीलाई पहिले नै बेचिसक्यौँ।’ उनकी भान्जीलाई घोर प्रान्तका एक व्यक्तिले धेरै टाढाबाट आएर खरिद गरे। ती बालिका ठूली भएपछि आफ्नो छोरासँग विवाह गरिदिने ती व्यक्तिले बताएका छन्।
त्यसरी बिक्री गरिएका बालबालिकाको भविष्य के हुन्छ ? उनीहरूका मातापितालाई त्यसको अन्दाजसम्म छैन।
एक घरमा हामीले एक बालिका सुतिरहेको भेट्यौँ। उनका अभिभावकबाट जानकारी पायौँ, उनलाई पनि हिँड्न थालेपछि खरिद गर्ने व्यक्तिले लिएर जानेछन्। उनका मातापिता अरू तीन बच्चा छन्, हरियो आँखावाला साना तीन बालक। परिवारका बाँकी सदस्यको पेट पाल्न ती सानी बच्ची बिक्री भएकी हुन्। त्यसका बावजुद त्यो परिवारले कति छाक भोकै बिताउनुपर्छ। उनका बाबु कुँडा कर्कट जम्मा पारेर गुजारा चलाउँछन्।
उनले हामीलाई भने, ‘अब धेरै दिन कुनै कमाइ हुने छैन। जब कमाइ हुन्छ, ६-७ वटा ब्रेड किन्छौँ र आपसमा बाँडेर खान्छौँ। मेरी श्रीमती छोरीलाई बेच्ने कुरामा सहमत थिइनन्। तर, म लाचार छु, जिउने कुनै बाटो बाँकी रहेन।’
उनकी पत्नीको आँखामा क्रोध र लाचारी झल्किन्थ्यो। ती निराश आँखालाई कदापि भुल्न सकिने छैन। छोरीलाई बिक्री गरेवापत प्राप्त रकमले यो परिवारलाई केही दिन जीवित रहन मद्दत गर्नेछ। तर, त्यस पैसाबाट खरिद गरिएको चोजन पनि केही महिनामै सकिनेछ।
बस्तीबाट निस्किँदै गर्दा एक महिला हाम्रो सामु आइन्। उनी आफ्नो बच्चा हामीलाई सुम्पिन तयार थिइन्। र, हामीसँग पैसा दिन इशारा गर्दै थिइन्। पेट पाल्ने लाचारीबीच उनका श्रीमानले ६ महिनाकी छोरीलाई बिक्री गर्न तयार भएका थिए।
त्यस बस्तीमा पुग्दै गर्दा यति धेरै परिवार आफ्ना सन्तान बिक्री गर्न मजबुर छन् भन्ने हामीलाई हेक्कासम्म थिएन।
बस्तीबाट फर्केपछि हामीले संयुक्त राष्ट्रसंघीय संस्था युनिसेफका अधिकारीसँग आफूलाई प्राप्त जानकारी सेयर गर्यौँ। उनीहरूले ती परिवारसम्म पुग्न हाम्रो मद्दत मागिरहेका थिए। र, उनीहरूलाई मद्दत गर्ने इच्छा जनाइरहेका थिए।
अफगानिस्तानको अर्थतन्त्र विदेशी धनबाट चल्दै आएको छ। गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि विदेशी धन पनि आउन बन्द भएको छ। त्यसको अर्थ हो, सरकारी कर्मचारीको तलब भत्तादेखि सबै सुविधा रोकिएको छ।
अर्थतन्त्रको यस जटिलताबीच गरिब परिवारका लागि अझ गम्भीर परिस्थिति पैदा भएको छ, जो गत अगस्टसम्म दुःख सुख गुजारा गरिरहेका थिए।
स्वाभाविक छ- मानव अधिकारको ग्यारेन्टी नभएसम्म विदेशी दाताहरूले अफगानिस्तानलाई कुनै सहायता दिने छैनन्। र, त्यसो नहुँदासम्म पैसा दिनु खतरनाक हुन जानेछ। तर, त्यसबाट अफगानिस्तानका नागरिकको जीवन दिनानुदिन कष्टकर बन्दै गएको छ। भोकमरी अझै बढ्ने छ। हेरात सहर र बाहिरी इलाकामा हामीले जे देख्यौँ, त्यसबाट प्रष्ट छ- अफगानिस्तानका लाखौँ मानिसका लागि जाडोयाम प्राणघातक बनेर आउँदैछ।
(लेखक बीबीसी संवाददाता हुन्। यो लेख बीबीसी हिन्दीबाट अनुवाद गरिएको हो।)











