Kathmandu Press

अन्तर्राष्‍ट्रिय मञ्‍चमा प्रधानमन्त्री देउवाले बढाएको शान

जलवायु सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्‍वका नेताहरू सामु प्रष्‍ट रूपमा हिमालको विशिष्‍ट जलवायु जोखिम पहिचान गर्न र जलवायुसम्बन्धी सबै वार्तामा हिमालयको एजेन्डालाई उच्च प्राथमिकता दिन कुरा राख्‍नु अर्को महत्त्वपूर्ण उपलब्धी हो।
अन्तर्राष्‍ट्रिय मञ्‍चमा प्रधानमन्त्री देउवाले बढाएको शान

विश्‍व जलवायु सम्मेलन कोप-२६ मा भाग लिन स्कटल्यान्डको ग्लास्गो सहर पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किसकेका छन्। जलवायु सम्मेलनमा पुग्‍नु र फर्किनु खासै ठूलो कुरो थिएन। १ नोभेम्बरमा सुरु भएको विश्‍व नेताहरूको दुईदिने शिखर सम्मेलनमा विश्‍वका नेताहरूसँग भएको भेटघाट खास महत्त्वको रह्यो। प्रधानमन्त्री देउवा पाँचौँपटक प्रधानमन्त्री भएपछिको यो पहिलो विदेश भ्रमण थियो। जलवायु सम्मेलनमा देउवाले विश्‍वका नेताहरू सामु प्रष्‍ट रूपमा हिमालको विशिष्‍ट जलवायु जोखिम पहिचान गर्न र जलवायुसम्बन्धी सबै वार्तामा हिमालयको एजेन्डालाई उच्च प्राथमिकता दिन कुरा राख्‍नु अर्को महत्त्वपूर्ण उपलब्धी हो।

दरिलो सम्बोधन, दुनियाँलाई सन्देश

जलवायुजन्य प्रकोपका कारण बढ्दो हानी नोक्सानी प्रमुख चिन्ताको विषय भएको कुरा देउवाले अन्तर्राष्‍ट्रिय फोरममा निर्धक्कसाथ राखे। यति मात्र नभई यो विषयलाई वार्ताको एक मात्र एजेन्डा बनाउन र त्यसका लागि थप वित्तीय सहयोगको रूपरेखामा सहमत हुन आह्वान गरिएको सन्दर्भले विश्‍वको ध्यान खिच्यो। कोप २६ ले वित्तीय, प्राविधिक र क्षमता अभिवृद्धिका स्रोतहरू बढाएर उच्च जोखिमयुक्त देशहरूलाई अनुकूलनका लागि पर्याप्त सहयोग सुनिश्‍चित गर्नैपर्ने प्रष्‍ट धारणासमेत राखिएको छ।

Hardik ivf

अन्तर्राष्‍ट्रिय सम्मेलनमा प्रधानमन्त्री देउवाले पेरिस सम्झौता कार्यान्वयन गर्न दृढ रूपमा प्रतिबद्ध रहेको र यसको प्रमाण नेपालले अर्थतन्त्रको सबै क्षेत्रमा कार्बनमुक्त गर्ने महत्त्वाकांक्षी एनडीसी (नेसनल्ली डिटरमाइन्ड कन्ट्रिब्युसन) योजना पेश गरेको सन्दर्भसमेत विश्‍वका नेतासमक्ष बताए। उनले प्रचुर मात्रामा जल, जंगल र जैविक विविधताका स्रोतहरू भएका कारण स्वच्छ, हरित र प्रकृति आधारित जलवायु समाधानको बाँडफाँटमा नेपाल यस क्षेत्रकै नेता बन्‍न सक्ने दरिलो धारणा राखेको जानकारी विश्‍वका नेताले पाए।

राष्‍ट्र प्रमुख र सरकार प्रमुखसहित एक सय १७ मुलुकको सहभागिता रहेको सम्मेलनमा प्रधानमन्त्री देउवाले विश्‍वका नेताहरूलाई हिमालको विशिष्‍ट जलवायु जोखिम पहिचान गर्न र जलवायुसम्बन्धी सबै वार्तामा हिमालयको एजेन्डालाई उच्च प्राथमिकता दिन आग्रहसमेत गरे।

विश्‍व नेतासँग अर्थपूर्ण भेटघाट

प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेको र मोदीलाई भ्रमणको निम्तो दिएको कुरासमेत बाहिर आएको छ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्‍ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्‍ट्रको २६ औँ सम्मेलन (कोप-२६) अन्तर्गत विश्‍व नेताहरूको शिखर सम्मेलनमा सहभागी हुन आएका मोदीका अतिरिक्त बेलायती प्रधानमन्त्री बोरिस जोनसन, अमेरिकी राष्‍ट्रपति जो बाइडेनसँगको प्रत्यक्ष भेटघाटले नेपालको शाख अन्तर्राष्‍ट्रिय रूपमा उँचो पारेको छ। महाशक्ति राष्‍ट्रका नेताहरूसँग कुममा कुम जोडेर अनि कुइनो ठोक्काएर गाँसिएको मित्रताले नेपालको शान बढाएको मात्र छैन, दिगो सम्बन्ध गाँस्न ‘माइल्ड स्टोन’का रूपमा इतिहासमा अंकित हुने विश्‍वास छ।

२ नोभेम्बरमा बेलायती रक्षामन्त्री बेन वालेससँग भएको भेटमा ब्रिटिस गोर्खा सैनिकको गुनासो र हितका साथै नेपाललाई कोरोनाविरुद्धको खोपमा बेलायती सहयोगबारे छलफल हुनुले पनि सौहाद्र्रता बढेको संकेतका रूपमा बुझ्‍न सकिन्छ। स्कटल्यान्डका फस्ट मिनिस्टरले सीमित राज्य र सरकार प्रमुखहरूको स्वागतमा आयोजना गरेको समारोहमा सहभागी भएका बेला बेलायतका रक्षामन्त्री बेन वालेससँग देउवाको साइडलाइन बैठक भएको थियो। त्यस अवसरमा श्रीलंकाका राष्‍ट्रपति गोटाबाय राजपाक्षे र मंगोलियाका राष्‍ट्रपति उखना खुरेलसुख्दसँग पनि द्विपक्षीय भेटवार्ता हुनुले अन्तर्राष्‍ट्रिय सम्बन्धको आयाम थप वृद्धि भएको छ।

यस अतिरिक्त विश्‍व बैंक समूहका प्रबन्ध निर्देशक मारी पांगेस्टुसँग भएको अर्को भेटमा नेपाललाई हरित विकास, जलवायुजन्य असर र कोभिड-१९ रोकथाममा सहयोग गर्नेलगायत विषयमा छलफल भएकोसमेत जानकारीमा आएको छ। अन्तर्राष्‍ट्रिय समुद्री संगठनका महासचिव किटैक लिमसँगको शिष्‍टाचार भेटमा समुद्री क्षेत्रमा नेपालीलाई रोजगारीका नयाँ अवसर प्रदान गर्न सकिने सम्बन्धमा कुरा हुनुले विशेष महत्त्व राख्छ। अमेरिकी राष्‍ट्रपति बाइडेन, बेलायतका प्रधानमन्त्री जोनसन र भारतीय प्रधानमन्त्री मोदीसँगको प्रत्यक्ष भेटघाटले अन्तर्राष्‍ट्रिय तहमा नेपालको प्रतिष्‍ठा बढाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय औपचारिक संवादले त सरकारका विषयमा रहेका अनेक शंका उपशंका हटाएर जनमानसमा विश्‍वासको वातावरण बनेको छ। दुई छिमेकी मुलुकको आपसी सम्बन्धलाई अझै दरिलो पार्ने अपेक्षा छ। प्रधानमन्त्री देउवाले मोदीलाई र मोदीले देउवालाई भ्रमणको निम्तो दिनुले अवश्य नै आपसी सदभावका साथमा नयाँ सम्बन्धको रक्तसञ्‍चार गराएको छ।

महाशक्ति राष्‍ट्रका नेतासँगको सामिप्य

प्रधानमन्त्री देउवा र विश्‍वका नेताहरूको सामिप्यले पक्कै पनि नेपाललाई विश्‍वसामु चिनाउने र बुझ्‍ने दिशामा सकारात्मक सन्देश दिएको छ। उक्त भेटले भविष्‍यमा विश्‍व समुदायबाट नेपालको राजनीतिक र आर्थिक विकासमा बहुआयामिक सम्बन्ध कायम गर्दै सहयोग पुर्‍याउन मद्दत मिल्ने अपेक्षा गर्न सकिन्छ। यो भेटले नेपालको दीर्घकालीन शान्ति, सुरक्षा र राष्‍ट्रहितमा सदभावको विकासमा महत्त्वपूर्ण आयाम थप्‍ने छ।

अर्को अर्थमा असंलग्‍न नीतिअन्तर्गत राष्‍ट्रिय स्वाधिनतालाई बलियो बनाउँदै शोषण, प्रभुत्वमुक्त र न्यायमा आधारित सुसम्बन्ध कायम राख्‍न मद्दत पुग्‍ने विश्‍वास छ। अन्तर्राष्‍ट्रिय राजनीतिमा अन्य राष्‍ट्रहरूलाई प्रभावित पार्न सक्ने क्षमता पनि एक प्रकारको शक्ति आर्जन नै हो, जसले एकअर्काबीच समन्वय, समझदारी र सहयोगको भावना वृद्धी गराउँछ।

प्रधानमन्त्री देउवा र अन्तर्राष्‍ट्रिय नेताहरूको भेटलाई राष्‍ट्रिय हित अभिवृद्धि गर्ने कूटनीतिक माध्यमका रूपमा पनि लिन सकिन्छ। यो भ्रमण इज्जत र प्रतिष्‍ठा बढाउँदै विश्‍व समुदायमाझ नेपालको नाम उँचो राख्‍न सफल भएको छ। स्वाभाविक रूपमा अन्तर्राष्‍ट्रियस्तरमा पहुँच बढेको छ। विश्‍व समुदायका शीर्ष नेताहरूको भेटघाटले राष्‍ट्रिय हित रक्षाको प्रबर्द्धन हुने आशा जगाएको छ। पारस्परिक आदानप्रदानको नीतिलाई कूटनीतिक माध्यमबाट अघि बढाएर सदभावनाको स्थापना हुने आशा बढेको छ।

यथार्थ सत्य के हो भने प्रत्येक मुलुकले अन्तर्राष्‍ट्रिय सम्बन्ध विस्तार गर्ने सवालमा राष्‍ट्रिय हितलाई केन्द्रमा राखेका हुन्छन्। अन्तर्राष्‍ट्रिय राजनीतिमा राष्‍ट्रिय हितको विषयले जति स्थान प्राप्त गर्छ, त्यति नै त्यो मुलुक र जनता सार्वभौम हुन्छन्। राष्‍ट्रिय हितको सम्बन्ध प्रत्यक्ष रूपले राष्‍ट्रियतासँग जोडिएको हुन्छ। राष्‍ट्रिय हितको सवालमा आवश्यक सन्तुलन कायम गर्न नसक्दा विश्‍व इतिहासमा युद्ध र द्वन्द्वका घाउहरूको लामो श्रृंखला छ।

यसरी अन्तर्राष्‍ट्रिय सम्बन्धमा राष्‍ट्रिय हित वा स्वार्थ अति महत्त्वपूर्ण विषय हो। यसले नै राष्‍ट्रको अस्तित्व, सुरक्षा, आर्थिक समुन्‍नति र राष्‍ट्रिय शक्तिको वृद्धि गर्छ। अर्को कोणबाट हेर्दा अन्तर्राष्‍ट्रियस्तरमा नेपालको नाम उँचो राख्दै इज्जत र प्रतिष्‍ठा बढाउन प्रधानमन्त्री देउवाको यो भ्रमण सफल भएको छ। नेपालको आत्मसम्मान वृद्धि गराएको छ।

संयुक्त राष्‍ट्रसंघको बडापत्र तथा सार्वभौम समानताको अवधारणाले सबै राज्यलाई समान मानिए पनि व्यवहारमा सार्वभौम राज्यहरू बीच असमानता रहेको विडम्बनापूर्ण अवस्था विद्यमान छ। यसो हुनुमा भौगोलिक अवस्थिति, आर्थिक, सामाजिक, राजनीतिक, औद्योगिकलगायत अन्तरवस्तुको भूमिका रहन्छ। शक्तिका आधारमा अन्तर्राष्‍ट्रिय राजनीतिसमेतको निर्धारण हुने गरेको छ। पक्कै पनि प्रधानमन्त्री देउवा र अन्तर्राष्‍ट्रिय नेताहरूको भेटले रणनीतिक, आर्थिक र राजनीतिक आयाम थपेको रूपमा बुझ्‍न पनि आवश्यक छ।

विश्‍वव्यापीकरणसँगको साक्षात्कार

खासगरी ०६२-६३ को आन्दोलनपछि परराष्‍ट्र नीतिलाई समावेशी लोकतन्त्रको आधारमा गति दिने विश्‍वासका साथ नेपाल अघि बढिरहेको छ। यस सन्दर्भमा विश्‍वव्यापीकरणका आयाम सँगसँगै हिँड्नुपर्ने हाम्रो आजको आवश्यकता हो। विश्‍वव्यापीकरणको प्रभाव हरेक नीतिहरूमा परिरहेको अवस्थामा नेपालको विदेश नीतिमासमेत यसले प्रभाव पारेको छ। विज्ञान, प्रविधि र सञ्‍चारमा आएको तीव्र परिवर्तनले संसारलाई विश्‍वव्यापीकरणको अवस्थामा पुर्‍याएको छ। विश्‍व परिवारमा रहेका राष्‍ट्र अन्तर्राष्‍ट्रिय रूपमा एक्लै रहन अब सम्भव छैन।

व्यापारिक कारोबारका लागि सीमारहित विश्‍वको परिकल्पना नै विश्‍वव्यापीकरण हो। सूचना प्रविधिको विकास, भूमण्डलीकरण, राजनीतिक परिवर्तन, आतंकवाद, जलवायु परिवर्तन, एकअर्को मुलुकले प्रत्यक्ष वा परोक्ष रूपमा विश्‍वव्यापी प्रभाव पार्छन्। यसकारण आधुनिक युगमा एक्लै अघि बढ्न सकिँदैन। यसरी तीव्र रूपमा विकसित भइरहेको २१ औँ शताब्दीको विश्‍व व्यवस्था अनेक कारणले अत्यन्त संवेदनशील छ। विश्‍वव्यापी प्रभावले गर्दा अन्तर्राष्‍ट्रिय सम्बन्धमा क्रान्तिकारी परिवर्तन मात्रै आएको छैन, यसको महत्त्वसमेत झनझन् बढ्दो छ।

प्रधानमन्त्री देउवा र विश्‍वस्तरका नेताको प्रत्यक्ष भेटघाटले मुलुकको समुन्‍नति एवं राष्‍ट्रिय हितको वृद्धि गर्ने आधार तय हुनेछ। आज अन्तर्राष्‍ट्रिय राजनीतिमा शक्तिका बहुकेन्द्रहरू छन्। अहिले एउटा केन्द्र हाबी होला, कुनै बेला अर्को केन्द्र हाबी हुन सक्छ। २१ औँ शताब्दीको वर्तमान अवस्थामा दक्षिण एसिया उदाउँदो अवस्थामा छ। चीन र भारतको आर्थिक र सामरिक सामथ्र्यमा व्यापक विस्तार हुँदै गएको छ। आगामी दिनमा अन्तर्राष्‍ट्रिय राजनीतिमा एसियाली शक्तिले प्रमुखता कायम गर्ने सम्भावना प्रबल हुँदैछ। यस अवस्थामा राष्‍ट्रको हित, आत्मरक्षा, सुरक्षा र लोक कल्याणका लागि नेपालको पहुँच विस्तारमा व्यापकता रहने छ। 

बीपीपछि देउवा ‘डिप्लोमेसी’

विश्‍व जलवायु सम्मेलन कोप-२६ मा प्रधानमन्त्री देउवाको उपस्थिति हिमाली राज्य नेपालका लागि सुनौलो अवसर हुनसक्ने सम्भावना छ। अर्को अर्थमा भन्‍ने हो भने नेपाली कांग्रेसका आदर्श पुरुष बीपी कोइरालापछि ‘देउवा डिप्लोमेसी’का रूपमा इतिहासमा सम्झिइने छ। एक अर्थमा बीपीले कायम गरेको उचाइमा झण्डै ६० वर्षपछि आएर कांग्रेसकै सभापति देउवाले अर्को तला थप्‍ने काम गरेका छन्। यसले निःसन्देह नेपालको विदेश नीतिका लक्ष्‍यलाई नै बल पुर्‍याउने छ। विदेश नीति एउटा साध्य हो भने कूटनीति यसलाई प्राप्त गर्ने एक साधन। द्विपक्षीय संकट तथा समस्याको समाधान मैत्रीपूर्ण तवरबाट हुनसक्यो भने त्यो कूटनीतिको ठूलो सफलता ठहर्छ। आजको युगमा कूटनीतिक समाधान नै प्रमुख अस्त्र हो।

अन्तर्राष्‍ट्रिय राजनीतिमा समेत अहिलेको सदभावपूर्ण उपस्थितिले कूटनीतिक रूपमा विशेष स्थान राख्‍नेछ। यसर्थ पनि नेपालको अर्को राष्‍ट्र राष्‍ट्रसँगको सम्बन्धमा आफ्ना हित, आकांक्षा र उद्देश्यप्रति संबर्द्धन र जगेर्ना गर्ने दिशामा यी भेटहरू अत्यन्त सार्थक रहने छन्। यो सौहाद्र्रपूर्ण सु-सम्बन्धलाई कुनै मानेमा संकुचित अर्थमा लिइनु हुँदैन। औपचारिक रूपमा मात्र व्याख्या गरिनु हुँदैन। सबै किसिमका राज्य प्रमुखबीच सबै किसिमका औपचारिक एवं अनौपचारिक सम्बन्धहरू तथा विचारको राष्‍ट्रिय सीमाभन्दा बाहिरको आदानप्रदानको समग्र सम्बन्धको व्यापक अर्थमा लिइनुपर्छ।

हाम्रा प्रधानमन्त्रीले विश्‍व नेतासँग गरेको यो भेट र कायम गरेको सम्बन्ध राष्‍ट्रको आकांक्षा, हित प्रबर्द्धन र स्वार्थको समग्रताका रूपमा सम्झिइने छ। बुद्ध र सगरमाथाको देशका रूपमा नेपालको नाम विश्‍वसामु सदा अमर रहनेछ।

प्रकाशित मिति: १८:२७ बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्