‘सूर्यवंशी’ले सय करोड क्लबमा प्रवेश पाउने पक्का, तीन दिनमै कमायो करिब ८० करोड
बलिउड चलचित्र ‘सूर्यवंशी’ले भारतीय बक्स अफिसमा तीन दिनमा ७८.६५ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ ।
काठमाडौं, कात्तिक २२ : बलिउड चलचित्र ‘सूर्यवंशी’ले भारतीय बक्स अफिसमा तीन दिनमा ७८.६५ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ ।
शुक्रबार भारतका हलहरूमा प्रदर्शनमा आएको उक्त सिनेमाले सोही दिन २६ दशमलव २९ करोड कमाइ गरेको थियो । शनिबार सो सिनेमाले २३ दशमलव ८५ करोडको व्यापार गरेको थियो ।
उक्त सिनेमाले आइतबार पनि राम्रै व्यापार गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएको छ । आइतबार मात्रै सो सिनेमाले २८ दशमलव ५० करोड (प्रारम्भिक अनुमान) व्यापार गरेको छ । तीन दिनमा चलचित्रको व्यापार ८० करोडको आसपासमा पुगेको सञ्चार माध्यमले जनाएका छन् । यससँगै ‘सूर्यवंशी’ कोरोना महामारीपछि सय करोड क्लबमा प्रवेश गर्ने पहिलो बलिउड चलचित्र बन्ने पक्का देखिएको छ ।
साथै अहिले नेपालभर एक सयवटा पर्दामा ‘सूर्यवंशी’ रिलिज भएको छ । रोहित सेट्ठीको निर्देशनमा बनेको उक्त सिनेमामा अक्षय कुमार, अजय देवगन, रणवीर सिंह, कट्रिना कैफलगायतका कलाकारको मुख्य भूमिका छ ।












