राष्ट्रियसभाबाट पनि चिकित्सा शिक्षा विधेयक पारित
काठमाडौं, माघ १७– प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको अवरोधबीच राष्ट्रियसभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ बहुमतले पारित गरेको छ।
....काठमाडौं, माघ १७– प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको अवरोधबीच राष्ट्रियसभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ बहुमतले पारित गरेको छ।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रस्तावमा तीन सांसदले संशोधन पेश गरेका थिए । संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसद वृषेशचन्द्र लालले विधेयकलाई संशोधनसहित विधायन समितिमा पठाउन माग गरेका थिए ।
‘सरकारले डा। गोविन्द केसीसँग गरेको सहमति अक्षरशः पालना गर्नुपर्छ, सहमति संविधान विपरीत गरेको भए त्यस्तो सरकार एक मिनेट पनि रहन सक्दैन, संविधानबमोजिम नै सहमति गरेको भए कुन अहं र दम्भले सरकार यसबाट पछि हट्यो ?,’ उनले भने ।
संशोधन प्रस्ताव राखेका सांसदद्वय राधेश्याम अधिकारी र सरिता प्रसाईंले आफूहरू अवरोधसहित विरोधमा रहेकाले भाग नलिने जानकारी गराएका थिए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विधेयकले प्रा। डा। गोविन्द केसीसँगको सम्झौताको मूलभूत पक्षलाई समेटेको बताए ।
‘विधेयकमा आयोग गठनको व्यवस्था रहेकाले चिकित्सा शिक्षा सुधारका लागि अझै काम भइरहनेछ, विधेयक पारित भए पनि डा। गोविन्द केसीको जीवनरक्षाका लागि अभिभावकका रूपमा सरकार लागिपर्नेछ,’ उनले भने ।
सभाको अर्को बैठक यही माघ २० गते अपराह्न १ बजेसम्मका लागि स्थगन भएको छ ।