दक्षिण अफ्रिकी लेखक डामोनलाई बुकर पुरस्कार
लन्डन, कात्तिक १८ : विश्व प्रतिष्ठीत बुकर पुरस्कार यस वर्ष दक्षिण अफ्रिकी लेखक डामोन गाल्गोटलाई प्रदान गरिएको छ। चर्चित उपन्यासकार तथा नाटककार डाल्गोटको पुस्तक...
लन्डन, कात्तिक १८ : विश्व प्रतिष्ठीत बुकर पुरस्कार यस वर्ष दक्षिण अफ्रिकी लेखक डामोन गाल्गोटलाई प्रदान गरिएको छ।
चर्चित उपन्यासकार तथा नाटककार डाल्गोटको पुस्तक ‘द प्रमिज’का लागि सो पुरस्कार गरिएको हो। सो पुस्तकमा गएको चार दशकको अवधिमा एउटा दक्षिण अफ्रिकी परिवारको पतनको विषयलाई उल्लेख गरिएको छ। यो उनको नवौं पुस्तक हो।
यसअघि सन् २००३ र सन् २०१० मा पनि उक्त पुरस्कारका लागि उनी मनोनयनमा परेका थिए। तर पुरस्कार जित्न भने सकेका थिएनन्। उनलाई बुधवार एक समारोहबीच ५० हजार पाउन्डको पुरस्कार प्रदान गरिएको छ ।
निर्णायक मण्डलका अध्यक्ष माया जेसन्अफले उपन्यासमा अद्वितीय कथा, समृद्ध विषयवस्तु र दक्षिण अफ्रिकाको विगत ४० वर्षको इतिहास उत्कृष्ट किसिमले बुनिएकाले पुरस्कारका लागि छनोट गरिएको जानकारी दिए।
‘पुस्तकमा उत्कृष्ट शैली छ, उत्कृष्ट विचार छन् र यो संरचना र साहित्यिक शैलीमा उल्लेखनीय ध्यान दिएर सोच्न बाध्य बनाउने कुरा छन्,’ उनले भने।
एउटा श्वेत परिवारले आफ्नी अश्वेत सेविकालाई घरजग्गा दिन व्यक्त गरेको वाचाका आधारमा किताबको नामकरण गरिएको हो।
श्वेत सरकारको जातीय भेदभाव अन्त्य गरिएपछि अपूर्ण रहेका प्रतिबद्धतालाई पुस्तकमा विस्तृतमा उजागर गरिएको छ।
प्रिटोरियामा हुर्किएका ५७ वर्षीय लेखक गाल्गोटले अफ्रिकी समाजका फरकफरक पुस्ता र राजनीतिक परिस्थितिलाई पुस्तक मार्फत झल्काएका छन्।
पुस्तक लेख्न धेरै समय र धेरै मेहनेत लागेको बताउदै उनले त्यो मेहनेतको फल अहिले पाएको अनुभूति भएको अनुभव सुनाए।
उनले १७ वर्षको उमेरमै आफूले पहिलो उपन्यास लेखेको जानकारी दिए। निरन्तरको लेखाइका कारणले पनि आफू खारिँदै गएर अहिले यती ठूलो पुरस्कार पाउने अवसर जुटेको उनको भनाइ छ।












