Kathmandu Press

नासाका अन्तरिक्ष यात्रीले अन्तरिक्षमै फलाए खुर्सानी

अमेरिकी संस्था नासाका अन्तरिक्ष यात्रीहरूले अन्तरिक्षमै खुर्सानी फलाएका छन् । अन्तरिक्षमा खुर्सानी रोपेर फलाइएको यो पहिलो घटना हो।
नासाका अन्तरिक्ष यात्रीले अन्तरिक्षमै फलाए खुर्सानी

वासिङ्टन, कात्तिक १८ : अमेरिकी संस्था नासाका अन्तरिक्ष यात्रीहरूले अन्तरिक्षमै खुर्सानी फलाएका छन्। अन्तरिक्षमा खुर्सानी रोपेर फलाइएको यो पहिलो घटना हो।

अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस)मा अहिले बसिरहेका अन्तरिक्ष यात्रीहरूको समूहले खुर्सानी रोपेर फलाएका हुन्। फलेका खुर्सानी अन्तरिक्ष यात्रीले आफ्नो खाना ‘ट्याकोज्’ का लागि प्रयोग गरे। अन्तरिक्षमा कुन खाद्य पदार्थ उब्जाउन सकिन्छ भनेर अन्तरिक्ष यात्रीहरूले गत जुनमा आईएसएसमा खुर्सानीको बीउ रोपेका थिए।

खासगरी मंगल ग्रहमा भविष्यमा पठाइने लामो अन्तरिक्ष मिसनमा सहभागी हुने यात्रीका लागि खाद्य स्रोतहरू स्थापित गर्न मद्दतका लागि यो प्रयोग गरिएको हो। नासाका अनुसार गत शुक्रबार राति आईएसएसमा फलाइएको खुर्सानीको ‘पहिलो बाली’ उठाइयो। नासाका अन्तरिक्ष यात्री मेगन म्याक आर्थरले ट्विट गर्दै आईएसएसका चालक दलले खुर्सानी चाखेको र ट्याकोज्मा प्रयोग गरिएको उल्लेख गरेकी छन्। ‘त्यो अहिलेसम्मकै सबैभन्दा स्वादिष्ट ट्याकोज् थियो,’ उनले लेखेकी छन्।

नासाले गत जुलाईमा आईएसएसमा रोपिएको बिरुवा ‘ह्याबिटेट–०४’लाई परीक्षणको एक हिस्साका रूपमा करिब चार महिना बढ्न दिइने बताएको थियो। ‘पहिलोपटक हाम्रा अन्तरिक्ष यात्री बीउको परिपक्वता परीक्षण गर्न आईएसएसमा खुर्सानी फलाउँदै छन्,’ नासाले भनेको थियो, ‘उनीहरूलाई ठीक लाग्यो भने आईएसएसको चालक दलका सदस्यहरूले खुर्सानी चाख्ने छन् र थोरै परिमाण पृथ्वीमा पनि पठाउने छन्।’

अन्तरिक्ष यात्रीलाई स्वाद चखाउनु पनि सर्वेक्षणको एक हिस्सा भएको म्याक आर्थरले आफ्नो ट्विटमा उल्लेख गरेकी छन्। ‘अन्तरिक्षमा खाद्य पदार्थ उब्जाउँदा पृथ्वीबाट प्याकेज्ड खाना लैजानुभन्दा बढी प्रभावकारी बन्दोबस्त हुन सक्छ,’ नासाले भनेको छ, ‘अनि आईएसएसमै खाद्यान्न राख्दा चालक दलका लागि पनि मनोवैज्ञानिक लाभ हुन सक्छ।’

अमेरिकाको नासा, रुसको रोस्कस्मोस, जापानको जाक्सा, युरोपको ईएसए र क्यानाडाको सीएसए गरी पाँचवटा अन्तरिक मिसनको संयुक्त अभियानको आईएसएस। यो परियोजनामा अमेरिका, रुस र युरोपेली अन्तरिक्ष अभियानको संयुक्त लगानी छ। त्यसबाहेक ब्राजिल र इटालीका स्पेस एजेन्सीहरू पनि यसमा संलग्न छन्।

अन्तर्राष्ट्रिय स्पेस स्टेसनको निर्माण सन् १९९८ मा सुरु भएको हो, जुन सन् २०११ देखि प्रयोगमा आयो। पृथ्वीको तल्लो कक्षमा स्थापित गरिएको यो हालसम्मको मानव निर्मित सबैभन्दा ठूलो भूउपग्रह हो। यसले कम्तिमा सन् २०२८ सम्म काम गर्ने अनुमान छ। यसको विकास र विस्तार जारी छ। थप तीन वैज्ञानिकलाई यसमा बस्ने प्रबन्ध गर्ने प्रयासमा छ, नासा। उक्त प्रयास सफल भए ६ जना वैज्ञानिकले निरन्तर पृथ्वीको परिक्रमा गर्न सक्नेछन्। अहिले तीनजना अन्तरिक्ष यात्री यसमा रहँदै आएका छन्। हरेक ६ महिनामा अन्तरिक्ष यात्री परिवर्तन हुन्छन्।

२ नोभेम्बर २००० मा पहिलो एक्स्पिडिसन दल पठाइएयता आईएसएसमा निरन्तर मानवीय उपस्थिति छ। र, यसले दुई दशकभन्दा बढी समयदेखि लगातार तल्लो कक्षमा रहेर पृथ्वीको निगरानी गरिरहेको छ।

पृथ्वीबाट तीन सय ३० देखि चार सय ३५ किलोमिटर उचाइमा रहेर धर्तिको परिक्रमा गरिरहेको छ, यस स्टेसनले। औसत २७ हजार सात सय २४ किलोमिटर प्रतिघण्टाको गतिमा उड्ने यो स्टेसनले दैनिक १५ दशमलव सात पटक पृथ्वीको परिक्रमा गर्छ।

आईएसएस एक माइक्रोग्राभिटी र अन्तरिक्ष पर्यावरण अनुसन्धान प्रयोगशाला हो। त्यहाँ रहने वैज्ञानिकहरूले जीव विज्ञान, मानव विज्ञान, भौतिकशास्त्र, खगोल विज्ञान, मौसम विज्ञानलगायत क्षेत्रमा अनुसन्धान गर्छन्। त्यहाँ रहने वैज्ञानिकहरूका लागि आवश्यक खाद्यान्नलगायत अत्यावश्यक वस्तु लिएर समय–समयमा मानवरहित यानहरू पनि पठाइने गरेको छ।

नासालगायत अन्तरिक्ष एजेन्सीहरू मंगल ग्रह र सम्भव भएसम्म अझ टाढाका ग्रहहरूसम्म मानिस पठाउने लक्ष्यमा छन्। त्यसका लागि खाद्यान्न जोहो अन्तरिक्षमै गर्न सके सहज हुने उनीहरूको बुझाइ देखिन्छ। आईएसएसमा खुर्सानी फलाउने नासाको योजना सफल भएपछि एक कदम अगाडि बढेको छ। यसअघि चीनले चन्द्रमाको ‘डार्क साइड’मा पठाइएको अन्तरिक्ष यानमा तरकारी फलाइएको थियो।

प्रकाशित मिति: ०६:४१ बजे, बिहीबार, कात्तिक १८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्