Kathmandu Press

कलम र कुचीमा महाकविको विम्ब

कलम र कुचीमा महाकविको विम्ब

नवलपुर, कात्तिक १६ : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीका अवसरमा उनीसम्बन्धी चित्र कोरिएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित किसान आर्ट ग्यालरीमा आज आयोजित ‘महाकविका विम्ब २०७८’ मा १९ वर्षीय किशोरदेखि ७० वर्षीय कलाकार एकै ठाउँमा बसेर देवकोटाको चित्र कोरेका छन्।  

महाकवीप्रति श्रद्धासुमन अर्पण गर्न कलाकार भेला भएर चित्र कोरिएको कलाकारका अध्यक्ष भीम शर्माले बताए। लक्ष्मी जयन्ती मनाउँदै गर्दा कलाकार एकै ठाउँमा भेला भएर क्यानभासमा चित्र कोर्दा कलाकालाई प्रोत्साहन हुने उनले सुनाए। ‘आफूले गरेको कामबारे छलफल पनि हुने अनि कलाको गुणस्तर पनि वृद्धि हुने भएकाले सबै कलाकार एकै ठाउँमा जम्मा भएर तस्वीर कोरिएको हो,’ उनले भने, ‘विभिन्न अवसर पारेर चित्र कोरिदा चित्रकलालाई अभियानकै रुपमा लैजान सजिलो हुन्छ।’

Hardik ivf

नवलपरासी (बर्दघाट–सुस्तापूर्व), चितवन, इटहरीलगायतका ठाउँबाट जम्मा भएका कलाकारले देवकोटासम्बन्धी चित्र कोरेका छन्। आज बिहान कोरिएको चित्र केही दिनसम्म सोही स्थानमा प्रदर्शनीका लागि राखिने कलाकार शर्माले जानकारी दिए। ‘चित्रमा एकरुपता ल्याउनका लागि सबै क्यानभासको एउटै आकारको छ,’ उनले भने, ‘एउटै आकारमा कोरिएका चित्रले देवकोटा र उहाँको योगदानका बारेमा बुझ्न समेत सहज हुन्छ ।’
    
कलाकारका उपाध्यक्ष प्रकाश थापा ‘प्रथा’ले बेलाबेलामा कलाकार भेला भएर चित्र कोर्दा कलामासमेत निखारता आउने जानकारी दिए। ‘धेरै कलाकार एकै ठाउँमा भेला भएर चित्र कोर्ने अवसर मिल्छ,‘ उनी भन्छन्, ‘चित्र कोर्दा हुने कमीकमजोरीको बारेमा समेत छलफलसँगै सुधार गर्न पनि सकिन्छ ।’ चित्रकलामा रुचि भएका कलाकार सहभागी भएर देवकोटालाई सम्झिने काम गरिएको कलाकार थापाले बताए।

किशोरदेखि प्रौढ कलाकार सहभागी

११३औँ लक्ष्मी जयन्तीको अवसर पारेर  कलाकार, कलावती आर्ट, त्रिवेणी साहित्य परिषद्ले संयुक्त रुपमा आयोजना गरेको देवकोटा विम्बमा भरखरै कला क्षेत्रमा प्रवेश गरेकादेखि प्रौढ कलाकार सहभागी छन् । सो कार्यक्रममा चितवनको भरतपुरका १९ वर्षीय दिवस न्यौपानेदेखि गैँडाकोटका ७० वर्षीय कलाकार गोविन्द विनोदीसँगै चित्र कोर्दै छन्। अनुजहरुसँग बसेर चित्र कोर्दा रमाइलो लाग्ने कलाकार विनोदीले बताए।

‘मैले चित्र कोर्न लगभग छोडिसकेको थिएँ, अहिले फेरि ४६ वर्षपछि चित्र कोर्न सुरु गरेँ,’ उनले भने, ‘सानैदेखि कलामा भएको रुचिका कारण चित्र कोर्ने गरेको भए पनि बीचमा कार्य व्यस्तताका कारण छोडेको थिएँ ।’ विनोदीले लामो समय व्यावसायिक रुपमा चित्र कोर्नुभएको भए पनि बीचमा चित्रकलाबाट टाढिएका थिए । कलाकार  शर्माले निरन्तर रुपमा आफूलाई चित्र कोर्न आग्रह गरेपछि पुनः चित्रकलामा प्रवेश गरेको विनोदीको भनाइ छ।
    
त्यस्तै, १९ वर्षीय कलाकार न्यौपाने आफ्नो सानैदेखि रुचिको विषय चित्रकला भएका कारण अध्ययनसँगै चित्रकलालाई अगाडि बढाइरहेको जानकारी दिए । भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा विज्ञान सङ्कायमा स्नातक दोस्रो वर्षमा अध्ययनरत उनी हालसम्म २०० भन्दा बढी चित्र कोरिसकेको बताए। ‘अहिलेसम्म दुई सय बढी चित्र कोरिसकेको छु, तर यसरी सबैको माझमा बसेर भने पहिलो पटक चित्र कोर्दैछु,’ उनले भने, ‘सबैको बीचमा बसेर चित्र कोर्नभन्दा एकान्तमा बसेर चित्र कोर्न सहज हुने अनुभूति गरेँ।’

मूर्त चित्र भन्दा पनि अमूर्त चित्र कोर्न रुचि लाग्ने कलाकार न्यौपानेले बताए। ‘वाटर पेन्ट’, ‘प्रोटेट पेन्ट’, ‘एब्स्ट्रयाक्ट’लगायतका चित्र कोर्ने गरेको जनाउँदै उनले चर्चित व्यक्तिको चित्र समेत कोर्न सहज हुने बताए। पछिल्लो समय नवलपुरको यस क्षेत्रमा चित्रकलासम्बन्धी कार्यशाला बढ्दै गइरहेका छन् । रासस
 

 

प्रकाशित मिति: १४:५७ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्