Kathmandu Press

गर्भवती महिलासँग ‘उपाध्यक्ष सन्चो विसन्चो’ कार्यक्रम सुरु

गर्भवती महिलासँग ‘उपाध्यक्ष सन्चो विसन्चो’ कार्यक्रम सुरु

पर्वत, कात्तिक १५ : दक्षिण पर्वतको पैंयु गाउँपालिकामा गर्भवती तथा सुत्केरी महिलासँग ‘उपाध्यक्ष सन्चो बिसन्चो’ कार्यक्रम सञ्चालन गरिएको छ।

गाउँपालिकाभित्रका कोही पनि गर्भवती महिला र नवजात शिशुहरु गुणस्तरयुक्त पोषण र उपचारको अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम सुरु गरिएको हो। आव २०७८÷७९ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत गर्भवती महिला र नवजात शिशुको पोषणका लागि यो कार्यक्रम अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिए।

Hardik ivf

उक्त कार्यक्रमका लागि  सञ्चालन कार्यविधि २०७८ समेत पारित गरेर गर्भवती अथवा सुत्केरी महिलालाई पोषणका लागि प्रतिसुत्केरी पाँच हजार प्रदान गर्ने व्यवस्था गरिएको छ। विपन्न परिवारका महिला तथा बालबालिकालाई दुई पटक पाँच÷पाँच हजार रुपैयाँका दरले र अन्य महिलालाई एक पटक पाँच हजार रुपैयाँका दरले रकम दिइने भएको छ। रकमसँगै आवश्यक सामग्रीसमेत सहयोग गरिने जनाइएको छ।

यो कार्यक्रम गत आइतबार गाउँपालिकाका उपाध्यक्ष जसमती गुरुङले वडा नं ३स्थित बेउलीबासमा शुभारम्भ गरेकी थिइन्। उक्त वडाका सुत्केरी महिलालाई उनले पाँच हजार रुपैयाँका दरले नगद प्रदान गरिन्। गाउँपालिकाले घरमै आएर सुत्केरी खर्च उपलब्ध गराएपछि महिला हर्षित बनेका थिए। गाउँपालिकाका सातवटै वडामा यो कार्यक्रम विस्तार गरिने भएको छ। यसबाट प्राय विपन्न परिवारका महिला र बालबालिका लाभान्वित हुने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति: १५:५२ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्