Kathmandu Press

हैदरावाद हाउसमा प्रधानमन्त्री बालेन

त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा आपसी सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारी छ।
हैदरावाद हाउसमा प्रधानमन्त्री बालेन

काठमाडौं, मंसिर ७ : प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय वार्ता हुँदैछ। दुई देशबीचको सम्बन्धको समीक्षा तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका सम्भावनाबारे छलफल गर्न दुवै प्रधानमन्त्री हैदरावाद हाउस पुगेका हुन्।

वार्तामा विशेषगरी व्यापार, यातायात, लगानी तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य सुदृढ गर्ने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ। त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा आपसी सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारी छ।

भ्रमणका क्रममा कनेक्टिभिटी र ऊर्जा सहकार्यका विषय पनि महत्वपूर्ण एजेन्डाका रूपमा रहनेछन्। यी क्षेत्रमा सम्पन्न भएका विभिन्न परियोजनाको उद्घाटन तथा आगामी परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। यसले सीमापार पूर्वाधार तथा ऊर्जा सहकार्य विस्तार गर्ने दुवै देशको प्रयासलाई थप गति दिने अपेक्षा गरिएको छ।

सरकारी तहको वार्तासँगै भारत–नेपाल बिजनेस फोरम पनि आयोजना हुँदैछ। उक्त फोरममार्फत नेपालमा भारतीय लगानी आकर्षित गर्ने तथा दुवै देशका व्यवसायीबीच सहकार्यका सम्भावना खोजिनेछ। यसले दुई देशबीचको व्यापारिक सम्बन्ध र व्यावसायिक साझेदारी विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री शाह र उहाँसँगै आएको ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको सम्मानमा औपचारिक दिवाभोजको आयोजना गर्ने कार्यक्रम पनि छ।

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेञ्जनकारलगायत उच्च सरकारी अधिकारी भारत भ्रमणमा छन्। यसअघि सोमबार प्रधानमन्त्री शाहले भारतका राष्ट्रपिता महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए। उनले समाधिस्थलमा रहेको आगन्तुक पुस्तिकामा हस्ताक्षरसमेत गरेका थिए।

त्यसअघि राष्ट्रपति भवनमा प्रधानमन्त्री मोदीको उपस्थितिमा शाहलाई औपचारिक गार्ड अफ अनर प्रदान गरिएको थियो। दुईदिने राजकीय भ्रमणले नेपाल–भारत द्विपक्षीय साझेदारीको समीक्षा गर्दै जारी सहकार्यलाई निरन्तरता दिने र व्यापार, पूर्वाधार, ऊर्जा तथा अन्य साझा चासोका क्षेत्रमा सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। 

प्रकाशित मिति: १२:२२ बजे, सोमबार, मंसिर ७, २०८३