सुकुम्बासीको हातमा जग्गाको लालपुर्जा चाँडै प्राप्त हुँदै

मोरङ, कात्तिक १४ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सुकुम्बासीलाई चाँडै जग्गाको लाजपुर्जा वितरण गरिने बताएका छन्। प्रेस सङ्गठन नेपाल मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेसम्म आफ्नो जग्गामा पाइला हाल्न नसक्ने, छाप्रोसमेत नभएका सुकुम्बासी, गरिब, दलित भूमिहीनलाई जग्गा वितरण यथाशीघ्र गर्ने प्रतिबद्धता व्यक्त गरे।
डिजिटल नक्सा निकाल्ने बिचौलियाको चलखेल नियन्त्रण प्रक्रियाको थालनी भएको उनको भनाइ थियो। उनले नापी शाखामा सेवाग्राहीलाई जग्गाको हालसाविक गर्ने कार्य सरल एवं सहज ढङ्गले उपलब्ध गराउन मिलेमतो विचौलियामार्फत गरिने कार्य अविलम्ब रोक्ने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री श्रेष्ठ भूमि आयोग संवैधानिक व्यवस्था एवं ऐनअनुसार गठन भएको बताउँदै यो स्थायीरूपमा रहने र चाँडै पूर्वतयारी सम्पन्न भएपछि जिल्लामा गठन गरिने जानकारी दिए। उनले जिल्लास्तरीय भूमि आयोगमा आन्दोलनकर्मी एवं अधिकारीकर्मीको प्रतिनिधित्व हुनेछ भन्दै लाभमात्र खोज्नेलाई त्यसमा कुनै स्थान नहुने विचार राखे।
एक प्रश्नको जवाफमा उनले वर्तमान सरकार संविधानको रक्षा गर्न एवं सङ्घीय गणतन्त्रलाई संस्थागत गर्न नागरिक समाज, सञ्चारकर्मी एवं आन्दोलनकर्मी राजनीतिक दलको पहलमा संसद् स्थापनाबाट गठन भएको बताए।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
