बलिउड चलचित्र ‘उचाइ’को नेपालको छायांकन सकियो
काठमाडौं, कात्तिक १४ : बलिउड चलचित्र ‘उचाई’को नेपालको छायांकन सकिएको छ। नेपालमा २५ दिनको छायांकन सकेर ‘उचाई’ले नेपालको छायांकन तालिका सकाएको छ।दुई दिन...
काठमाडौं, कात्तिक १४ : बलिउड चलचित्र ‘उचाई’को नेपालको छायांकन सकिएको छ। नेपालमा २५ दिनको छायांकन सकेर ‘उचाई’ले नेपालको छायांकन तालिका सकाएको छ।
दुई दिन काठमाडौं र बाँकी समय हिमाली जिल्लामा छायांकन भएको फिल्मले २८ अक्टोबरमा नेपाल सेड्युल पूरा गरेको हो। खोटाङको नाम्चेदेखि मनाङका विभिन्न ठाउँमा छायांकन गरिएको चलचित्रको शुक्रबार पहिलो तालिकाअन्तर्गतको छायांकन सकिएको छ भने दोस्रो भारतका विभिन्न स्थानमा हुने राजश्री प्रोडक्सनले जनाएको छ।
उक्त प्रोडक्सनले निर्माण गरेको चलचित्रको छायाङ्कन नेपालमा ४ अक्टोबरबाट सुरु भएको थियो। काठमाडौंमा ह्यात होटल र एयरपोर्टमा केही दृश्य खिचेर टोली नाम्चे लागेको थियो। सुरज वाडजात्याद्वारा निर्देशित चलचित्रमा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडालगायत कलाकारले नेपाल आएर छायांकन गरिएको थियो।
चलचित्रमा अमिताभ बच्चन भए तापनि स्वास्थ्यका कारण उनी नेपाल आउन नसकेपछि उनको बडी डबललाई राखेर छायांकन गरिएको थियो। चलचित्रका निर्माण टोलीका केही सदस्य अहिले पनि मनाङमै छन् भने केही काठमाडौं फर्किसकेका छन्। चलचित्रको मुख्य टोली शनिबार एयर इण्डियाको विमानमार्फत भारत फर्किएको छ।












