प्रकाश र मीना बने ‘दोहोरी च्याम्पियन’
काठमाडौं, कात्तिक १४ : पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको जोडीले उचालेको छ।पोखरास्थित फेवाताल किनारमा शनिबार साँझ सम्पन्न ‘फाइनल’ मा...
काठमाडौं, कात्तिक १४ : पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको जोडीले उचालेको छ।
पोखरास्थित फेवाताल किनारमा शनिबार साँझ सम्पन्न ‘फाइनल’ मा यो जोडीले उपाधिसहित २० लाख र एक करोड बराबरको जीवन बिमा पुरस्कार प्राप्त गर्न सफल भएको छ।
यसैगरी बालचन्द्र बराल र शोभा कार्कीको जोडी द्वितीय घोषित भएका छन्। उनीहरुले १० लाख र ५० लाखको बिमा पुस्कार पाएका छन्।
सविन आचार्य र रीता रावतको जोडी तृतीय बन्दै तीन लाख पुरस्कार पाएको छ। राजेन्द्र पाठक र मीना नेपालको जोडीले सान्त्वना स्थान हासिल गरेर दुई लाख पुरस्कार पाएको छ।
प्रतियोगितामा विजयी कलाकारलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बललगायतले पुरस्कार प्रदान गरेका छन्।
प्रतियोगिताको निर्णायकमा वरिष्ठ लोकगायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष गीतकार रमेश बिजी र गायक तथा गीतकार चन्द्र शर्मा रहेका थिए। नेपाल टेलिभिजनमार्फत हरेक हप्ताको शनिबार दोहोरी च्याम्पियन कार्यक्रम प्रसारण हुँदै आएको थियो।
देशभरबाट डिजिटल अडिशनबाट छनोट भएकामध्ये ३५ समूहको फिजिकल अडिशन हुँदै उत्कृष्ट २४ समूह छनोट गरिएको थियो। उत्कृष्ट २४ समूहबीच प्रतिस्पर्धा हुँदै ‘दोहोरी च्याम्पियन’ फिनालेसम्म पुगेको आयोजक नेपाल टेलिभिजनले जनाएको छ।












