Kathmandu Press

जागिर परित्यागको ‘महानता’ : किन रोजगारी छाड्दै छन् लाखौँ अमेरिकी?

ठूलो संख्याका अमेरिकी नागरिकहरू धमाधम जागिर छाड्दै छन्। अगस्ट २०२१ मा मात्र जागिर छाड्ने अमेरिकी नागरिकको संख्या ४३ लाख थियो।
जागिर परित्यागको ‘महानता’ : किन रोजगारी छाड्दै छन् लाखौँ अमेरिकी?

वासिङ्टन, कात्तिक १४ : ठूलो संख्याका अमेरिकी नागरिकहरू धमाधम जागिर छाड्दै छन्। अगस्ट २०२१ मा मात्र जागिर छाड्ने अमेरिकी नागरिकको संख्या ४३ लाख थियो।

अमेरिकी ‘वर्कफोर्स’का अभिन्न सदस्य रहेको उमेर समूहका धेरै नागरिकले जागिर परित्यागको महानता किन देखाइरहेका छन् ? अमेरिकी अधिकारीहरूको चिन्ता यही प्रश्नको जवाफ खोज्नमा देखिन थालेको छ। र, सँगसँगै प्रश्न खडा भएको छ, रोजगारीको सुरक्षा र ‘ह्यान्डसम तलब’को ग्यारेन्टीमाथि पनि।

अमेरिकी श्रम विभागको ‘जब ओपनिङ एन्ड लेबर टर्नओभर सर्वे’का अनुसार जागिर छाड्ने दर अगस्टमा बढेर २.९ प्रतिशत पुगेको छ। यसको मापन कुल रोजगारीसँग तुलनाका आधारमा गरिन्छ।

Hardik ivf

‘हामी सबै अघिल्लो वर्ष (सन् २०२०) एक कदम पछि सर्न सक्षम थियौँ। र, अन्य चिज गर्नमा अधिक समय बिताउँदै थियौँ। वास्तवमा हामी जे काम गरिरहेका थियौँ, त्यसको मूल्यमाथि बढी प्रश्न गरिरहेका थियौँ,’ टेक्सस ए एन्ड एम युनिभर्सिटीमा व्यवस्थापनका प्राध्यापक एन्थोनी क्लोज भन्छन्, ‘त्यसैले धेरै व्यक्तिले आफू कहीँ न कहीँ परिवर्तित हुनुपर्ने निर्णय लिए। र, उनीहरूले दैनिक जीवनमा परिवर्तन खोजे।’

‘द ग्रेट रेजिग्नेसन’ भनिने यो ट्रेन्डका कारण श्रमिकको पलायनमा तीव्र गति देखिएको छ, अमेरिकामा। अनि कम्पनीहरूलाई कामदार भर्ना लिन चुनौति खडा भएको छ। गत वर्ष नै जागिर छाडेका लाखौँ कामदारको ठाउँमा कम्पनीहरूले नयाँ श्रमिक भित्र्याउन सकेका थिएनन्। त्यसमाथि यस वर्ष यो दर बढ्दो छ।

अगस्टकै ‘जब सिकर सर्वे’ले भने अर्कै पाटोतिर संकेत गर्छ। जागिर छाड्ने क्रम जति उकालो लाग्दैछ, त्यति नै आफूले गरिहेकोभन्दा केही नयाँ र नौलो प्रकारको रोजगारी खोज्ने अमेरिकी कामदारको संख्या ठूलो छ।

नौलो रोजगारीको खोजीमा रहेका अमेरिकी कामदारको संख्या कुल ‘वर्कफोर्स’को आधाभन्दा बढी देखिएका छन्। यो तथ्य ‘बैंकरेट्स’ नामक कम्पनीको सर्वेमा सामुन्ने आएको हो। र, त्यस्ता श्रमिकले सन् २०२२ सम्ममा नयाँ प्रकारको रोजगारी प्राप्त गरिसक्ने लक्ष्य लिएका छन्।

सर्वेमा सहभागी ५६ प्रतिशत श्रमिकले आफू ‘एडजस्ट’ हुन सक्ने ‘वर्किङ आवर’ र कम्पनीमा सशरीर उपस्थित नभई भर्चुअल माध्यमबाट काम गर्न पाइने कुरालाई प्राथमिकतामा राखेको बताएका छन्।

कामकाजी महिलामाथि पछिल्ला दिनमा अतिरिक्त कार्यबोझ बढेको पाइएको छ। उनीहरूले बालबच्चाको रेखदेखको कर्तव्य पूरा गर्नुपरेको छ। बालबच्चाको भर्चुअल पढाइ पनि हेर्नुपरिरहेको छ। अनि आफ्नो करिअरमा पनि ध्यान दिनुपरिरहेको छ।

त्यसो भए कर्मचारी र व्यवसायको ‘वर्कफोर्स’को पुनर्गठनको अर्थ के हो ? र, रोजगारी छोड्ने दर कसरी नियन्त्रणमा लिन सकिन्छ ? यी प्रश्नहरूको जवाफ खोज्न अमेरिकी अधिकारीहरू लागिपरेका छन्।

(सीएनबीसी डट कमबाट।)

प्रकाशित मिति: ०६:३९ बजे, आइतबार, कात्तिक १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्