दुर्गा घिमिरेलाई हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कार
काठमाडौं, कात्तिक १२ : विन्ध्यवासीनी धार्मिक क्षेत्र विकास समिति पोखराले अधिकारकर्मी एवम् समाजसेवी दुर्गा घिमिरेलाई हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कार २०७६ प्रदान गरेको...
काठमाडौं, कात्तिक १२ : विन्ध्यवासीनी धार्मिक क्षेत्र विकास समिति पोखराले अधिकारकर्मी एवम् समाजसेवी दुर्गा घिमिरेलाई हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कार २०७६ प्रदान गरेको छ।
कूल एक लाख एक हजार रुपैया राशि र सम्मानपत्रसहितको सो पुरस्कार शताब्दी पुरुष सत्यमोहन जोशीले आज ललितपुरमा आयोजित कार्यक्रममा प्रदान गरे।
यसअघि सो पुरस्कार जोशी, आत्मानन्द गिरी र तुलसी दिवसले प्राप्त गरिसकेका छन्। पोखराका हेमबहादुर प्रधानले आफ्ना आमाबुबाको नाममा सो पुरस्कारका लागि १५ लाख रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए।
कार्यक्रममा शताब्दी पुरुष जोशीले समाज सुधार र राष्ट्रका निमित्त घिमिरेले गरेको काम प्रशंसनीय रहेको बताए।
एबिसी नेपाल सामाजिक संस्थाको संस्थापक समेत रहेकी घिमिरेले महिलालाई आफ्नो हक अधिकार दिलाउन र उनीहरुलाई आत्मनिर्भर बनाउन अझे धेरै काम गर्नुपर्ने बताए।












