हराएका २३ मोटरसाइकल बरामदपछि धनीलाई हस्तान्तरण
ट्राफिक प्रहरीले विभिन्न समयमा हराएका २३ वटा मोटरसाइकल बरामद गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
काठमाडौं, कात्तिक १२ : ट्राफिक प्रहरीले विभिन्न समयमा हराएका २३ वटा मोटरसाइकल बरामद गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
जिम्मा लगाइएकामध्ये १५ वटा मोटरसाइकल र आठवटा स्कुटर छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा हुने सवारी साधन चोरी न्यूनीकरण एवं नियन्त्रण गर्न विशेष टोली परिचालन गरिएको छ । सवारी धनीले उपलब्ध गराउने हुलियाका आधारमा टोलीले मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाउने गरेको छ । यस्तै, चोरीमा संलग्नहरूलाई नियन्त्रणमा लिई कारवाही गर्दै आएको छ ।
‘हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण गर्न हामी निरन्तर लागिपरेका छौँ । मोटरसाइकल हराउनै नदिन सबैको सहयोग र हातेमालोको खाँचो छ, विशेषगरी सवारी धनी थप सजग र जिम्मेवार हुनुपर्छ,’ महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले भने ।
पछिल्लो समय स्कुटर चोरीका निवेदन महाशाखामा बढेको छ । स्कुटर चालकहरूले बिलबुक डिक्कीमै राख्ने गर्छन् । कतिपय बेलामा चाबीसहित छाडिएका स्कुटरहरू चोरी हुने गरेको पाइन्छ ।
त्यसरी चोरिएका स्कुटरको नम्बर प्लेट परिवर्तन नगरी चोरीमा संलग्न व्यक्तिले प्रयोग गरिरहेको पाइएको महाशाखाको भनाइ छ । कारण– बिलबुल उनीहरूसँग हुन्छ । ट्राफिक जाँचका क्रममा बिलबुक देखाएर उनीहरू सजिलै छुट्ने गरेका छन् ।
जथाभावी, एकान्त स्थान र लामो समयसम्म पार्किङ नगर्न तथा थप अतिरिक्त सुरक्षाका उपाय अवलम्बन गर्न महाशाखाले स्कुटर र मोटरसाइकल चालकलाई आग्रह गर्दै आएको छ ।
चालु आर्थिक वर्ष ०७८–७९ को हालसम्म ट्राफिक प्रहरीले हराएका तीन सय ८७ मध्ये एक सय ७१ मोटरसाइकल नियन्त्रणमा लिएको छ । तीमध्ये एक सय ६८ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइएको महाशाखाले जनाएको छ ।
यस्तै, मोटरसाइकल चोरीमा संलग्न १९ जनालाई चोरीका मोटरसाइकलसहित सम्बन्धित प्रहरी वृत्तहरूमा कारवाहीका लागि पठाइएको महाशाखाले जनाएको छ ।












