वागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई प्राविधिक विषय पढाउने
वागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषय पढाउने भएको छ ।
हेटौंडा, कात्तिक १२ : वागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषय पढाउने भएको छ ।
बिहीबार साँझ नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेकोे अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशका ११९ वटै पालिकाका एसईई उत्तीर्ण दलित, लोपोन्मुख र पिछडिएका वर्गबाट छनोट गरी ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषयमा अध्ययनको व्यवस्था मिलाउने निर्णय गरेको हो ।
सो कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयले आगामी १५ दिनभित्र कार्यविधि तयार गरी पेश गर्नसमेत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले बताए । सरकारले प्रदेशका सबै पालिकाबाट विद्यार्थी छनोट गरी इच्छाएको विषय अध्ययन गर्ने व्यवस्था मिलाउने र अध्ययनपश्चात सम्बन्धित पालिकामा सरकारले ताकेको निश्चित समय सेवा गर्नुपर्ने निर्णय गरिएको उनले बताए ।
यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानूनमन्त्री खनाललाई तोकेको छ । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट पहिलोपटक सत्ता सम्हालेका मुख्यमन्त्री पाण्डेलाई बिहीबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराएका थिए ।












