Kathmandu Press

चैत मसान्तसम्म सबै नागरिकलाई निःशुल्क कोभिड खोप दिइसक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बिहान बालुवाटारमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठक बसेको छ।
चैत मसान्तसम्म सबै नागरिकलाई निःशुल्क कोभिड खोप दिइसक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, कात्तिक ११ : प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बिहान बालुवाटारमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठक बसेको छ ।

कोभिड संकट व्यवस्थापनसम्बन्धी अध्यादेश निश्क्रिय भएपछि सरकारले आदेश जारी गर्दै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र गठन गरेको थियो । बिहीबारको बैठकमा केन्द्र र स्वास्थ्य मन्त्रालयको तर्फबाट प्रस्तुतीकरण गरिएको थियो ।

हालसम्म कोभिड–१९ संकटको अवस्था कस्तो छ, चाडबाडको बीचमा कोरोना प्रसार कस्तो रह्यो, अन्तर्राष्ट्रिय र नेपालको ट्रेन्ड के छ भन्नेबारेमा बैठकमा प्रस्तुती दिइएको थियो । स्वास्थ्य मन्त्रालयले खोपको हालसम्मको कभरेज र उपलब्धताको अवस्थाबारे पनि बैठकमा ‘ब्रिफ’ गरेको थियो ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रमा जनशक्ति व्यवस्थापन र आवश्यक संरचनाबारे पनि बैठकमा छलफल भएको थियो । केन्द्रका संयोजक पूर्वरथी बालानन्द शर्मालगायतलाई बैठकमा हालसम्म गरेको कामका लागि धन्यवाद ज्ञापन गरिएको थियो ।

बैठकमा प्रधानमन्त्री देउवाले खोपको कमी हुन नदिन र नागरिकलाई निःशुल्क उपलब्ध गराउन निर्देशन दिएका थिए । दाताहरूसँग सहयोग माग्न र सरकार आफैंँले पनि खरिद गर्ने थप प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री देउवाले निर्देशन दिएका थिए ।

यस वर्षको अन्त्यसम्ममा सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने दिशामा अगाडि बढ्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका थिए ।

बैठकमा स्वास्थ्य मन्त्रालयको तर्फबाट असोज मसान्तसम्ममा एक चौथाइ जनसंख्यालाई खोप उपलब्ध गराउने सरकारी लक्ष्यमा पहिलो डोज पाउने नागरिकको तथ्यांकले कभरेज गरेको बताइएको थियो ।

फाइजर एक लाख डोज आइसकेको, मोडर्ना ४० हजार डोज आउँदै गरेको र चीनबाट भेरोसेल ४० लाख डोज आउँदै गरेको जानकारी मन्त्रालयले दिएको थियो । अन्य दाताबाट पनि खोप आउने क्रममा रहेको बैठकमा जानकारी दिइएको थियो ।

प्रकाशित मिति: ११:०८ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्