Kathmandu Press

गण्डकीमा नेकपा (एस)को तीन महिने पार्टी सुदृढीकरण अभियान

पोखरा, कात्तिक ११ : सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले गण्डकी प्रदेशमा तीन महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ।पार्टी प्रदेश...
गण्डकीमा नेकपा (एस)को तीन महिने पार्टी सुदृढीकरण अभियान

पोखरा, कात्तिक ११ : सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले गण्डकी प्रदेशमा तीन महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ।

पार्टी प्रदेश कमिटीको बुधबार पोखरामा सम्पन्न दोस्रो पूर्ण बैठकले अभियानलाई गण्डकी प्रदेशमा व्यवस्थित तरिकाले सञ्चालन गर्ने र सङ्गठन विस्तारमा जोड दिने निर्णय गरेको स्थायी समिति सदस्य चूडामणि जङ्गलीले जानकारी दिए। प्रदेशका ११ वटै जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, नगरपालिका, गाउँपालिका तथा वडा कमिटीसम्म अभियान सञ्चालन गर्न पार्टीका केन्द्रीय समिति तथा प्रदेश कमिटीका सदस्यलाई इञ्चार्जको जिम्मेवारी तोकिएको छ।

कास्कीमा केन्द्रीय कमिटी सदस्य गजकुमारी गुरुङलाई  क्षेत्र नं १, जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य धनराज आचार्यलाई क्षेत्र नं २ र केन्द्रीय सदस्य रत्ना गुरुङलाई क्षेत्र नं ३ को जिम्मेवारी तोकिएको छ। पोखरा महानगरपालिकाको जिम्मेवारी केन्द्रीय सदस्य कृष्ण नेपालीलाई दिइएको छ। बैठकमा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इञ्चार्ज केशवलाल श्रेष्ठले गरिब, मजदूर किसान, श्रमजीवी वर्गमा सङ्गठन विस्तार गर्नुपर्नेमा जोड दिए।

बैठकले अभियानलाई व्यवस्थितरुपमा सञ्चालन गर्दै परिणाममुखी बनाउने, पाँच दलीय गठबन्धनको एकतालाई थप मजबुत बनाउँदै यसलाई प्रदेश, जिल्ला र स्थानीय तहसम्म सहकार्य गर्ने वातावरण तयार गर्न गठबन्धनलाई अनुरोध गर्ने, जनताले दैनिकरुपमा भोगेका समस्या समाधन गर्दै जनचाहाना अनुसार सरकारका काम कारबाहीलाई जनमुखी बनाउँदै केन्द्र सरकार र प्रदेश सरकारलार्ई काम गर्न अनुरोध गर्नेलगायत प्रस्ताव पारित गरेको छ।

यसैगरी हालै बेमौसमी वर्षाका कारण मुलुकका विभिन्न ठाउँमा आएको बाढी पहिरामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको उपचार, मृतकका परिवारलार्ई उचित राहत र नोक्सान भएको धान बालीको उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग अनुरोध गर्ने, चाडबाडको समयमा बजारमा कृत्रिम अभाव देखाउँदै उपभोग्य सामग्रीको मूल्यवृद्धि गर्ने कार्य भइरहेकाले त्यस्ता कार्य तुरुन्त रोक्न सरकारसँग अनुरोध गर्ने निर्णय बैठकले गरेको पार्टी प्रदेश कमिटीका उपाध्यक्ष श्रीनाव बरालले जानकारी दिए।

प्रदेश अध्यक्ष तुलबहादुर गुरुङको अध्यक्षतामा भएको बैठकमा स्थायी कमिटी सदस्य जङ्गली, शारदाप्रसाद सुवेदी, रामजी शर्मा, प्रदेशका सचिव प्रतापलाल श्रेष्ठ उपसचिवद्वय बराल र रेखा बस्याललगायतले समसामयिक विषयमा पार्टीको धारणा राखेका थिए। रासस

 

प्रकाशित मिति: १०:४६ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्