Kathmandu Press

खेलाडीलाई हौसला दिंदै गृहमन्त्रीले भने, ‘विजयी भएर आउनुहोस् सरकारले सुशोभित गर्नेछ’ 

काठमाडौं, कात्तिक १० : गृहमन्त्री बालकृष्ण खाँणले अन्तर्राष्ट्रिय खेलमा विजयी भएर आए खेलाडी तथा खेल व्यवस्थापक टोलीलाई राष्ट्रिय रुपमा तक्मा दिएर सुशोभित गर्ने...
खेलाडीलाई हौसला दिंदै गृहमन्त्रीले भने, ‘विजयी भएर आउनुहोस् सरकारले सुशोभित गर्नेछ’ 

काठमाडौं, कात्तिक १० : गृहमन्त्री बालकृष्ण खाँणले अन्तर्राष्ट्रिय खेलमा विजयी भएर आए खेलाडी तथा खेल व्यवस्थापक टोलीलाई राष्ट्रिय रुपमा तक्मा दिएर सुशोभित गर्ने बताएका छन् । 

राजधानीमा आज साफ च्याम्पियनसिप २०२१ मा सहभागी नेपाली राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गर्दै गृहमन्त्री खाँणले नेपाली फुटबल टिमका क्याप्टेन किरण चेम्जोङलाई तक्मा दिन चाहेको कुरा आफैँले फोन गरेर भनेको  सुनाए । सम्मान समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले भने, “अर्को पटक नेपाली फुटबल टिम विजयी भएर आयो भने सबै सदस्य र व्यवस्थापकलाई राष्ट्रिय तक्माबाट सुशोभित गर्नेछौँ ।” 

गत असोज ३० मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाली फुटबल टोली उपविजेता बन्न सफल भएको थियो । विगत २८ वर्षको इतिहासमा पहिलोपटक नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएपछि उपविजेतामा चित्त बुझाएको थियो ।

नेपाली कांग्रेस तरुण विभाग केन्द्रीय समितिद्वारा आयोजित ती खेलाडीका लागि उक्त सम्मान समारोहमा मन्त्री खाँडले सरकारले बजेटका सीमितताका बीच साफ च्याम्पियनसिपमा सहभागी प्रतिखेलाडीलाई पाँच लाख र टिम व्यवस्थापकलाई तीन लाख दिने घोषणा गरेको जानकारी पनि दिए । “यसले खेलाडीलाई हौसला प्रदान गरिएको हो, यसले नेपालको खेल क्षेत्रलाई माथि उठाउन प्रोत्साहन मिल्ने विश्वास छ”, गृहमन्त्रीले थपे ।

 उनले खेलकुद जीवनको अभिन्न अङ्ग भएको पनि बताए । मन्त्री खाँणले हरेक प्रहरी अधिकृत र जवानको पेट पनि खेलाडीको जस्तै बनाउन भनेको र यसअघि आफू रक्षामन्त्री हुँदा सेनालाई पनि त्यही अभ्यास गराएको जानकारी दिए । फरक प्रसङ्ग जोड्दै गृहमन्त्री खाँणले नेपाल प्रहरीमा परिवर्तन ल्याउने प्रयास सुरु गरिएको र कुनै पनि हाकिमले कर्मचारीलाई तँ भन्न नपाउने गरी निर्देशन जारी गरेको बताए । उनले प्रहरी परिचर, सिपाहीको वृत्ति विकासका लागि प्रहरी नियमावली संशोधन गर्न थालिएको जानकारी दिए । उनले जातीय विभेदविरुद्ध कडाइका साथ कानून कार्यान्वयनमा लाग्न निर्देशन जारी गरेको उल्लेख गरे । 

समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख शङ्कर भण्डारीले खेलाडी राष्ट्रको अमूल्य निधि भएको उल्लेख गर्दै खेलकुदको विकासले मात्रै मुलुकको विकास सम्भव रहेको बताए । नेता भण्डारीले नेपाल सरकार र हरेक राजनीतिक दलले खेलकुदको विकासका साथै खेलाडीमैत्री नीति नियम होस् भन्ने खेलाडीको चाहना पूरा गर्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताए । 

समारोहमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीको सम्मानको सुरुआत आजबाट भएकोमा खुशी व्यक्त गर्दै मुलुकमा आफूले फुटबलको नेतृत्व गरे पनि सन्तुष्टि हुने ठाउँ नरहेको बताए । खेलाडी सुजल श्रेष्ठले नेपालीको माया र सहयोगले नै नेपाली फुटबल यहाँसम्म पुगेको बताउँदै अझै हौसलाको खाँचो रहेको औँल्याए । 

प्रकाशित मिति: १८:५१ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्