नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो
काठमाडौं, कात्तिक १० : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ।नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक...
काठमाडौं, कात्तिक १० : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक १८.०६ अङ्कले उकालो लागेर दुई हजार ७६९.१३ मा पुगेको छ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४९ अङ्कले बढेर ५१६.५६ मा पुगेको छ। कुल २२८ कम्पनीको एक करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर रु छ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० मा खरिद बिक्री भए।
कारोबार भएका १३ उपसमूहमध्ये सबैभन्दा बढी जीवन बीमा समूह ३१७.७४ विन्दुले उकालो लागेको छ। बैंकिङ १३.२६, व्यापार २३.४६, वित्त ९.६६, निर्जीवन बीमा १७८.२३, अन्य २२.८१, लघुवित्त ५८.६ र सामूहिक लगानी कोष ०.१४ अङ्कले बढेका छन्।
त्यस्तै कारोबारमा आएका समूहमध्ये होटल तथा पर्यटन १०.२४, विकास बैंक १।५५, जलविद्युत २०.३८ र उत्पादन ४४.०८ अङ्कले घटेका छन्।
कारोबारका आधारमा नविल बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको शेयर रु ४३ करोड १९ लाख ३१ हजार ५३३ मा कारोबार भएको छ। यस्तै आइसीएफसी फाइनान्स रु २० करोड ९२ लाख ९६ हजार ९०७, एनआइसी एशिया बैंक रु १९ करोड ६१ लाख ५२ हजार १०, अरुण भ्याली हाइड्रोपावर रु. १७ करोड ९७ लाख ९ हजार २१२ र बेष्ट फाइनान्स रु. १७ करोड १० लाख ५१ हजार ७०४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
आजको कारोबारमा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नाफा बढेको विवरण सार्वजनिक गरेको बेष्ट फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.६८ प्रतिशतले बढेको छ।
त्यस्तै एनआइसी एशिया लघुवित्तको शेयर ७.२१ प्रतिशतले, गुह्येश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सको शेयरमूल्य ६.७४ प्रतिशतले र मानुषी लघुवित्तको शेयरमूल्य ६.११ प्रतिशतले बढेका छन् ।
आज रैराङ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४.७१ प्रतिशतले घटेको छ। आँखुखोला हाइड्रोपावरको ३.८६ प्रतिशत, सिंगटी हाइड्रोपावर २.८८ प्रतिशत, हिमालयन पावर पार्टनरको २.६६ प्रतिशत र आरम्भ चौतारी लघुवित्तको २.६३ प्रतिशतले शेयर मूल्य घटेको छ।
बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ७६ अर्ब ७४ करोड ७८ लाख ६० हजार पुगेको छ।











