Kathmandu Press

आपसी समझदारीमै न्यायालयको समस्या समाधान गर्नुपर्छ : पूर्वन्यायाधीश भण्डारी

सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन् । उनले आफूले तत्काल समस्या समाधान भएर जनताले न्याय पाउन सकुन् भन्ने शुभेच्छा लिएको बताए ।
आपसी समझदारीमै न्यायालयको समस्या समाधान गर्नुपर्छ : पूर्वन्यायाधीश भण्डारी

काठमाडौं, कात्तिक १० : सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन् । उनले आफूले तत्काल समस्या समाधान भएर जनताले न्याय पाउन सकुन् भन्ने शुभेच्छा लिएको बताए ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा बुधबार उनले बिहीबारसम्म समाधान निस्किन सक्ने आशा पनि व्यक्त गरे । ‘न्यायाधीशहरूले बेञ्च बहिष्कार गरेको होइन । मलाई लाग्छ, उहाँहरूको हिजो पनि मिटिङ थियो । आज प्रधानन्यायाधीशको मात्रै बेन्च बस्यो । न्यायाधीशहरूले बेन्च बहिष्कार गर्ने वा नगर्ने, के गर्दा उपयुक्त हुन्छ भन्ने कुरा उहाँहरूले सोच्ने कुरा हो । हेरौं भोलिसम्म सोलुसन निस्कियोस्,’ उनले भने, ‘छिटो समाधान होस् भन्ने म शुभेच्छा व्यक्त गर्छु । मेरो त धारणा के हो भने छलफल र संवाद गरेर निकास निकाल्नुपर्छ । समझदारीपूर्ण तवरले जे गर्दा ठीक हुन्छ, त्यही गर्नुपर्छ ।’

देशमा जब राजनीतिक अस्थिरता आउँछ, त्यसको असर सम्पूर्ण अंगमा पर्ने टिप्पणी उनको थियो । उनले भने, ‘दलहरूले राज्य सञ्चालनमा सुशासन कायम गरिदिएको भए यस्तो समस्या आउँदैन थियो ।’

प्रधानन्यायाधीश मुक्त हुने कुरा संविधानको धारा १३१ ले मात्रै गरेको उनले उल्लेख गरे । ‘देहायको कुनै अवस्थामा प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशको पद रिक्त हुनेछ– (क) निजले राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा (ख) निजको उमेर ६५ वर्ष पूरा भएमा (ग) निजको विरुद्ध धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा (घ) शारीरिक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेको भनी प्रधान न्यायाधीशको हकमा संवैधानिक परिषद र सर्वाेच्च अदालतको न्यायाधीशको हकमा न्याय परिषदको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेमा (ङ) निजले नैतिक पतन देखिने फौजदारी कसूरमा अदालतबाट सजाय पाएमा (च) निजको मृत्यु भएमा,’ उनले संवैधानिक प्रावधान उल्लेख गरे । प्रधान्यायाधीश हट्ने तीबाहेक अरू प्रावधान नरहेको उनको दाबी थियो ।

प्रकाशित मिति: १६:३९ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्