Kathmandu Press

गण्डकी प्रदेश सरकारद्वारा विपद् उद्धार सामग्री हस्तान्तरण

गण्डकी, कात्तिक १० : गण्डकी प्रदेश सरकारले नेपाली सेना र सशस्त्र प्रहरी बललाई विपद् उद्धारसम्बन्धी सामग्री हस्तान्तरण गरेको छ।विभिन्न समयमा आइपर्ने विपत्तिमा सुरक्षाकर्मी नै...
गण्डकी प्रदेश सरकारद्वारा विपद् उद्धार सामग्री हस्तान्तरण

गण्डकी, कात्तिक १० : गण्डकी प्रदेश सरकारले नेपाली सेना र सशस्त्र प्रहरी बललाई विपद् उद्धारसम्बन्धी सामग्री हस्तान्तरण गरेको छ।

विभिन्न समयमा आइपर्ने विपत्तिमा सुरक्षाकर्मी नै पहिला खटिनुपर्ने र उनीहरूलाई स्रोतसाधनयुक्त बनाउन सके क्षति कम हुने उद्देश्यका साथ सामग्री हस्तान्तरण गरिएको हो। 

प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली सेनाको मध्यकमाण्ड प्रमुख उपरथी विनयविक्रम राणा र सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका बाहिनीपति शम्भु सुवेदीलाई विपद् उद्धार सामग्री हस्तान्तरण गरे।

सुरक्षा र विपद् व्यवस्थापन नेपाली सेना र सशस्त्र प्रहरीको मुख्य दायित्व भएकाले ती निकायलाई सुविधा सम्पन्न गराउन प्रदेश सरकार हरसम्भव प्रयासरत रहेको उनले बताए।

प्रदेशको क्षमताअनुसार सुरक्षा निकायलाई स्रोतसाधनयुक्त बनाउने प्रयासमा सरकार रहेको उनले बताए।

मुलुकमा विभिन्न समयमा आइपर्ने विपत्तिमा जहिल्यै अगाडि खट्ने सुरक्षाकर्मीप्रति जहिल्यै सम्मान व्यक्त गर्नुपर्ने भन्दै उनले कोभिड महामारीका बेलामा समेत सुरक्षाकर्मी अग्रपङ्क्तिमा खटिएको स्मरण गरे।

नेपाल मात्र नभएर विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनाका लागि समेत नेपाली सुरक्षाकर्मीको भूमिका उल्लेखनीय रहेको मुख्यमन्त्री पोखरेलले चर्चा गरे। 

ती सामग्रीको खरिद मूल्य करिब ८० लाख रुपैयाँ छ। गण्डकी प्रदेश सरकारका बिना विभागीय मन्त्री डोबाटे विश्वकर्माले सीमा सुरक्षासहित कानुन कार्यान्वयन र विपद् व्यवस्थापनमा सुरक्षाकर्मीले उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे।

प्रदेशका प्रमुख सचिव डा दामोदर रेग्मीले गण्डकी प्रदेश सरकारले बर्खा अगावै यी सामग्री हस्तान्तरण गर्न चाहेको भए पनि खरिद प्रक्रियामा केही ढिलाइ भएको बताए। जतिखेर पनि आइपर्ने विपद्बाट हुने जनधनको क्षति कम गराउनका लागि यी सामग्री उपयोगी सिद्ध हुने उनको भनाइ छ।

भूकम्प, आगलागी, बाढीपहिरो, सडक दुर्घटना, खोंचमा हुने दुर्घटनाबाट बचाउन प्रयोग गरिने १६ प्रकारका एक सय ८० थान सामग्री हस्तान्तरण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव मुक्तिनारायण भण्डारीले जानकारी दिए। 

प्रकाशित मिति: १४:५९ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्