‘अपरिचित अनुहार’मा परम्परा र नवीनता
गण्डकी, कात्तिक १० : आख्यानकार तथा समालोचक महेश पौड्यालद्वारा लिखित कथा सङ्ग्रह ‘अपरिचित अनुहार’ परम्परा र नवीनताको सेतु भएको वक्ताहरूले टिप्पणी गरेका छन्...
गण्डकी, कात्तिक १० : आख्यानकार तथा समालोचक महेश पौड्यालद्वारा लिखित कथा सङ्ग्रह ‘अपरिचित अनुहार’ परम्परा र नवीनताको सेतु भएको वक्ताहरूले टिप्पणी गरेका छन् ।
पोखरेली युवा सांस्कृतिक परिवारद्वारा आयोजित कृति परिचर्चा कार्यक्रममा वक्ताले कथा सङ्ग्रहलाई लिएर विभिन्न दृष्टिकोण एवं विचार व्यक्त गरे। नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्त पौड्याललाई वर्तमान समयका सिर्जनशील, बुहआयामिकता भएको लेखकको रुपमा चर्चा गर्दै अपरिचित अनुहार परम्परा र नविनताको सेतु भएको टिप्पणी गरे।
समालोचक राजकुमार बानियाँले नेपाली लेखकहरू कथाको नाममा घटनाको मुचुल्का उठाउने वर्तमान समयमा पौड्यालले अपरिचित अनुहारमा त्यसबाट बचेर नेपाली कथामा नयाँ दृष्टि भित्रिएको बताए।
समवेदना र अनुभूतिको कथा लेख्न खप्पिस कथाकार पौड्यालको लेखनमा धेरै सरलता भएको उहाँले टिप्पणी गरे। समीक्षक अशोक थापाले ‘महेश पौड्यालको व्यक्तिगत संवेगलाई सार्वजनिक संवेगमा परिवर्तन गर्ने प्रवृत्ति जुन कथामा प्रयोग भएको छ, त्यो निकै प्रशंसनीय रहेको बताए।
कथाकार महेश पौड्यालले घटनाको मुचुल्का लेख्ने खतरा आफूमा पनि रहेको स्वीकार्दै सदासर्वदा म फरक हुँ भन्ने कुरा भनिरहुनुपर्ने र त्यो लेखनमा पनि परिलक्षित पार्ने बताए।
शिखा बुक्सद्वारा प्रकाशित ‘अपरिचित अनुहार’मा १८ वटा कथा छन्। पुस्तकको मूल्य रु. २७५ रहेको छ। पौड्यालको यसअघि ‘फुलेन गोदावरी’ कथा सङ्ग्रहलगायतका कृति प्रकाशनमा आइसकेका छन्।
कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेल, कोषाध्यक्ष अर्जुन अधिकारी र सचिव डा चैतन्य अधिकारीलगायतले बोलेका थिए।
‘साहित्य, कला र सङ्गीतको उत्थानः हाम्रो प्रण’ भन्ने मूल नाराका साथ २०३४ सालमा स्थापित पोखरेली युवा सांस्कृतिक परिवार गण्डकी प्रदेशको मात्रै नभर्इ देशकै साहित्य, कला र सङ्गीतको विकासमा ४४ वर्षदेखि सक्रिय छ।












