प्रधानन्यायाधीशको इजलासमा मुद्दाको सुनुवाइ, अन्य ‘बेन्च नबसेको’ सूचीमा
सर्वोच्च अदालतमा बुधबारका लागि पेशी तोकिएका ११ इजलासमध्ये प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको एकल पूर्ण इजलासमा मात्र मुद्दाको सुनुवाइ भएको छ।
काठमाडौं, कात्तिक १० : सर्वोच्च अदालतमा बुधबारका लागि पेशी तोकिएका ११ इजलासमध्ये प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको एकल पूर्ण इजलासमा मात्र मुद्दाको सुनुवाइ भएको छ ।
अन्य इजलासमध्ये हालसम्म अधिकांशको ‘मुद्दाको स्थिति’ ‘बेन्च बस्न नसकेको’मा परेको छ ।
प्रधानन्यायाधीश जबराले दुईवटा मुद्दामा अन्तिम आदेश गरेका छन्, जसमध्ये एउटाको निवेदन फिर्ता भएको छ । यस्तै, दुईवटा मुद्दामा कारण देखाउ आदेश दिएका छन्, त्यसमध्ये दुवै बन्दी प्रत्यक्षीकरणका मुद्दा छन् । एउटा मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश प्रधानन्यायाधीश जबराले दिएका छन् । हालसम्म एक सय एक वटा मुद्दाको स्थिति ‘बेन्च नबसकेको’मा परेको छ ।
सर्वोच्चमा बुधबार ११ वटा इजलासका लागि दुई सय ७८ थान मुद्दाको पेशी तोकिएको छ । तर, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनका लागि चौतर्फी दबाब बढिरहँदा बुधबार पनि सर्वोच्चमा तोकिएका १० वटा इजलास बसेका छैनन् ।
प्रधानन्यायाधीश जबराले बुधबारका लागि दुईवटा पूर्ण इजलास पनि तोकेका छन् । त्यसमध्ये एउटा प्रधानन्यायाधीशको एकल पूर्ण इजलास छ । अन्य संयुक्त इजलास तोकिएको छ । अर्को संवैधानिक इजलास हो, जसमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठलाई तोकिएको छ ।
सर्वोच्चका १५ जना न्यायाधीश प्रधानन्यायाधीश जबराको बहिर्गमनका पक्षमा उभिएका छन् । बुधबार पनि उनीहरू अलग्गै छलफलमा छन्, इजलासमा जाने सम्भावना कम छ ।
नेपाल बार एसोसिएन, सर्वोच्च बार, पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीश फोरम, वरिष्ठ अधिवक्ताहरूले प्रधानन्यायाधीश जबराको बहिर्गमनको पक्षमा उभिएका छन् । नेपाल बारले त देशव्यापी इजलास बहिष्कारसहित आन्दोलनमा उत्रिने चेतावनी नै दिएको छ ।








-1788856868.jpg)


