Kathmandu Press

पहिलो चरणको जनगणना : झापामा दुई लाख ४७ हजार घर परिवार

पहिलो चरणको जनगणना : झापामा दुई लाख ४७ हजार घर परिवार
Hardik ivf

झापा, कात्तिक ९ : पहिलो चरणको जनगणनाको तथ्याङ्कअनुसार १५ स्थानीय तह रहेको जिल्लामा दुई लाख ४७ हजार २३६ घर परिवार रहेका छन्। जिल्ला जनगणना कार्यालय झापाले १५० जना सुपरिवेक्षक परिचालन गरी सो तथ्याङ्क सङ्कलन गरेको हो। 

गत भदौ ३० गतेदेखि असोज १९ गतेसम्म पहिलो चरणमा जिल्लाका १३१ वडाबाट कार्यालयले सुपरिवेक्षक परिचालन गरी घर परिवारको सङ्ख्याको विवरण, कृषि तथा पशुपन्छीसम्बन्धी विवरण, बैंकिङ पहुँचको विवरण सङ्कलन गरेको कार्यालयका प्रमुख चूडामणि लुइँटेलले बताए। उनले सुपरिवेक्षकलाई तथ्याङ्क सङ्कलन गर्ने कार्य शहर बजारमा भन्दा ग्रामीण क्षेत्रमा सहज भएको बताए। प्रायः शहरबजार क्षेत्रका बिर्तामोड, भद्रपुर, काँकडभिट्टा, दमकमा तथ्याङ्क सङ्कलनमा समस्या भएको हो। अधिकांश घर बहालमा बसेका पटकपटक जाँदासमेत नभेटिने र घरधनीले समेत सहयोग नगरेका कारण समस्या भएको उनको भनाइ थियो। प्रमुख लुइँटेलले अन्य पालिकाको तुलनामा बाह्रदशी र बुद्धशान्ति गाउँपालिकामा विगतको तुलनामा उलेख्य मात्रमा घर परिवारको सङ्ख्या बढी देखिएको जानकारी दिए। 

उनले दोस्रो चरणको गणनाका लागि जिल्लामा एक हजार २२० जना गणक छनोट गरिएको बताए। छनोट गरिएका गणकलाई बुधबारदेखि तालिम दिएर यही कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म फिल्डमा परिचालन गरिने बताए। गणकले सुपरिवेक्षकले दिएको तथ्याङ्कका आधारमा घरघर पुगेर जनसङ्ख्याको विवरण सङ्कलन गर्नेछन्। उनका अनुसार सेनाको ब्यारेक, सशस्त्र प्रहरीे बलको गण, प्रहरी कार्यालय र कारागारमा भने कार्यालयबाटै कर्मचारी खटाएर तथ्याङ्क सङ्कलन गरिने छ । 

प्रकाशित मिति: १९:५९ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्