Kathmandu Press

प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने आधार र कारण छन्, तर माओवादीमा छलफल भएको छैन : बिडारी

माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार र कारण बनेको बताएका छन् । तर, आफ्नो पार्टीले उनीविरुद्ध महाभियोग लगाउनेबारे कुनै छलफल नै नगरेको उनको भनाइ छ ।
प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने आधार र कारण छन्, तर माओवादीमा छलफल भएको छैन : बिडारी

काठमाडौं, कात्तिक ९ : माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार र कारण बनेको बताएका छन् । तर, आफ्नो पार्टीले उनीविरुद्ध महाभियोग लगाउनेबारे कुनै छलफल नै नगरेको उनको भनाइ छ ।

रिपोर्टर्स क्लबको मंगलबारको साक्षात्कारमा बिडारीले महाभियोग नै लगाउने भए एमालेसहितका दलले निर्णय गर्नुपर्ने बताए । उनले भने, ‘महाभियोगको विषयमा त न एमाले न गठबन्धन, सबै एकमत हुनुपर्छ । न्यायालय बलियो बनाउनुपर्छ । यो दृष्टिकोणले दलले निर्णय गर्नुपर्छ ।’

न्यायालयमा प्रधानन्यायाधीश र बाँकी न्यायाधीशहरूबीच द्वन्द्व चल्नु विडम्बना भएको उनले बताए । ‘वास्तवमा प्रधानन्यायाधीश र सर्वोच्च अदालतका बाँकी न्यायाधीशहरूबीच जुन प्रकारको द्वन्द्व चलेको छ, यो विडम्बनाको अवस्था हो । प्रधानन्यायाधीश भनेको न्यायपालिकाको नेता हो,’ उनले भने न्यायालयभित्र यत्रो वितण्डा आउनु, पूर्वप्रधानन्यायाधीशहरूले जबराले न्यायालय हाँक्न सक्नुहुन्न भन्नु, बारले पनि राजीनामा माग्नु, सबै न्यायाधीशहरूले समस्त इजलास बहिष्कार गर्नु अनि न्यायाधीशहरूले प्रधानन्यायाधीशमा कार्यदक्षताको अभाव भयो भनेर भन्नु उहाँमाथि महाभियोग लगाउनसक्ने आधार र कारण बन्यो ।’

कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो पार्टीले प्रधानन्यायाधीश जबराको राजीनामा नमागेको बताए । उनले भने, ‘हाम्रो बैठक पनि बसेको छैन् । पार्टीमा महाभियोगको बारेमा छलफल नै भएको छैन । न्यायालयको झगडा छताछुल्ल हुनुहुँदैन । बरु, न्यायालय पुनर्संरचना गर्नुपर्छ ।’

एमाले स्थायी समिति सदस्य केशव बडालले आफ्नो पार्टी प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्ने पक्षमा नभएको स्पष्ट पारे । उनले भने, ‘महाभियोग लगाउने कि नलगाउने त्यो हाम्रो विषय नै होइन । गठबन्धन सरकारमा १६५ जना सांसदहरूको गणित छ, उहाँहरूले के गर्नुहुन्छ भन्ने उहाँहरूको कुरा हो । एमाले महाभियोगको विषयमा अघि बढ्न आवश्यक छैन । महाभियोग वा राजीनामा दिने, यो हाम्रो चासोको विषय होइन ।’

प्रकाशित मिति: १६:४८ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्