Kathmandu Press

तिहार नजिकिएसँगै माला उन्न व्यस्त वनमाला टोलका बासिन्दा

तिहार नजिकिएसँगै माला उन्न व्यस्त वनमाला टोलका बासिन्दा

काठमाडौं, कात्तिक ९ : तिहार नजिकिँदै छ। बारीभरि ढकमक्क फुलेका सयपत्रीदेखि राताम्मे देखिने मखमली फूल पनि बिक्री गरेर सिध्याउनु छ। चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई यतिखेर भ्याइनभ्याइ भएको छ।

बारीभरि लगाएको मखमली फूल टिपेर दिउँसो र साँझ माला उन्दै बस्छन्, यहाँका वनमाला। विगतमा वनमालाले मात्रै व्यावसायिक फूलखेती गर्दै आएपनि यसबाट राम्रो आम्दानी हुने भएपछि पछिल्ला केही वर्षदेखि वनमाला बाहेकका अरु जातजातिले पनि फूलखेती गर्न थालेका छन्। वर्षौंदेखि पुख्र्यौली पेशाको रुपमा फूलखेती गर्दै आएका स्थानीयवासी श्याम वनमालाले फूलखेतीबाट चित्तबुझ्दो कमाइ हुने बताए।

धेरैवर्ष यहाँ वनमालाले मात्रै फूलखेती गर्ने गरेको भएपनि अहिले धेरैले फूलखेती गर्न थालेकाले वनमालाको आम्दानीलाई असर नपरेको उनी बताउँछन् । पुख्र्यौली पेशाकै रुपमा फूलखेती गर्दै आएकी पार्वती वनमाला आफ्ना बाजे ससुराको पालादेखि नै फूलखेती गर्दै आएको थाहा पाएको उनले बताए । कतिपय वनमालाले फूलखेती छाडे पनि धेरैले भने गरिरहेको भन्दै उनले १५ वर्ष अगाडिसम्म यहाँ वनमालाले मात्रै फूलखेती गर्ने भएकाले फूल र माला खोज्न वनमालाको घरमा टाढाटाढादेखि आउने गरेको बताए ।

विगत १० वर्षदेखि मखमली फूलको खेती गर्दै आएका स्थानीयवासी शोभा बालाले यहाँ दुईआना जग्गामा फूलखेती गर्नेले पनि एक सिजनमा ३० हजार कमाउने गरेको बताउँछन् । राम्रोसँग फूलखेती गर्न सके एक रोपनी जग्गामा ७० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ ।

भारतबाट आयात हुने फूल र माला रोकेर सरकारले नेपालकै मात्र फूल बिक्री गर्ने नीति बनाए यहाँ अहिलेको भन्दा दोब्बर आम्दानी हुने र धेरै किसानले विदेशिनु नपर्ने उनी बताउँछिन् । फूलखेतीकै लागि रोजगारीका लागि मलेसिया गएका श्रीमानलाई नेपाल फर्काएको उनी बताउँछिन् ।

स्थानीयवासी सन्तमाया बालाले पनि यस वर्ष ८२ हजार रुपैयाँको माला उत्पादन गरेकी छन् । ‘घरघरमै फूलको माला लिन आउनेलाई ४२ हजारको माला बेचियो, अझै ४५ हजार जतिको माला तयार छ, केही दिनमै बिक्री हुन्छ,’ उनले भनिन् । मखमली फूलको खेती गर्ने जग्गामा मकै र भटमास समेत उत्पादन गर्न सकिने भएपछि किसानले एउटै सिजनमा एउटै जग्गाबाट दोहोरो आम्दानी हुने भएकाले यसतर्फ आकर्षण बढेको हो ।

बाला गाउँकै दिलमाया बालाले आधा रोपनी जग्गामा गरेको मखमली फूलबाट ४० हजार रुपैयाँ आम्दानी गरेको बताइन् । किसानले बजारमा आफैंले माला लैजाँदा एउटा मालाको ४० देखि १०० रुपैयाँसम्म बिक्री गर्न सक्छन् भने गाउँमै लिन आउने व्यापारीले भने एउटा मालाको २५ देखि ३५ रुपैयाँसम्म दिने गरेका छन् ।

नजिकिँदै गरेको तिहारका लागि आवश्यक पर्ने मखमली फूलको माला गाँस्न र बजारमा लैजान व्यस्त स्थानीय बासिन्दा मखमली फूलबाटै मनग्ये आम्दानी गर्न थालेका हुन् । पाँच वर्ष कतारमा र सात वर्ष मलेसिया बसेर स्वदेश फर्किएका स्थानीय युवा अहिले विदेशिन छाडेर फूलखेतीमै रमाउन थालेको शोभा बताउँछिन् ।

फूलखेतीमा रोग लाग्न थालेपछि भने किसानले फूलमा औषधि राख्न थालेका छन् । एक रोपनी जग्गामा फूलखेती गर्दा करिब २५ हजार खर्च हुन्छ भने आम्दानी एक लाख रुपैयाँसम्मको हुने गरेको छ । धान खेतमा चौगुणा आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । फूल र माला खोज्दै गाउँमै उपत्यकादेखि पोखरासम्मका व्यापारी आउने गरेपछि बजारको अभाव पनि छैन । रासस

प्रकाशित मिति: १५:०६ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्