Kathmandu Press

मौलिक संस्कृति भावी पुस्तालाई हस्तान्तरण गरौँ : उपराष्ट्रपति

मौलिक संस्कृति भावी पुस्तालाई हस्तान्तरण गरौँ : उपराष्ट्रपति

काठमाडौं, कात्तिक ९ : उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक भाषा, कला, संस्कृतिमाथि अतिक्रमण भइरहेकामा चिन्ता व्यक्त गर्दै यसको जगेर्ना गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठान र लोकवार्ता परिषद् नेपालको सहकार्यमा परिषद्को १०औँ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले मौलिक संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्न आग्रह गरे।

‘मौलिक भाषा, संस्कृति, कलामाथि अतिक्रमण भइरहेको छ। हामी जानीनजानी यो अतिक्रमणमा परिरहेका छौँ। हामी सोचौँ त हाम्रो मौलिक भाषा रहेन भने, हाम्रो कला, संस्कृति रहेन भने हाम्रो पहिचान रहला ?,’ उनले भने, ‘भूगोलले मात्रै हाम्रो पहिचान रहन सक्दैन। राष्ट्र भनेको भूगोल मात्रै होइन। मेरो आग्रह छ –हाम्रो मौलिक भाषा, कला, संस्कार, संस्कृति जोगाऔँ। प्रवर्द्धन गरौँ। र, भावी पुस्तालाई हस्तान्तरण गरौँ ।’

लोकवार्तासँग सम्बन्धित सबै क्षेत्रको संरक्षण, सम्वृद्र्धन र विकास गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उनले राज्य उक्त दायित्वबाट पछि हट्न नमिल्ने बताए । ‘यो अभियानमा प्राज्ञिक, बौद्धिक, अनुसन्धानकर्ताका साथै सम्बन्धित क्षेत्रका व्यक्ति र समुदायको साथ र सहयोग रहनुपर्दछ,’ उनले भने।
 
‘लोकवार्तासँग सम्बन्धित थुप्रै क्षेत्रको उत्खनन, अनुसन्धान गर्नुछ। यससँगै हामीले हाम्रो मौलिकता, हामीले गौरव गरिरहेका हाम्रा भाषा, संस्कृति, सम्पदा, कलाको संरक्षण र सम्वर्द्धन गर्नुपर्नेछ,’ उपराष्ट्रपतिले भने, ‘यी दुईवटा दायित्वलाई हामीले सँगसँगै पूरा गर्नैपर्छ । विश्वजगत समक्ष नेपालको चिनारी बढाउन र भावी सन्ततिलाई हस्तान्तरण गर्नका लागि यसो गर्नु अनिवार्य छ।’

लोकवार्तासँग सम्बन्धित क्षेत्रको अनुसन्धान, अध्ययन र संरक्षण तथा सम्वर्द्धनका लागि लोकवार्ता परिषद्ले गरिरहेको काम र नेपाल प्रज्ञा–प्रतिष्ठानले गरिरहेको सहयोगको प्रसंशा गर्दै उपराष्ट्रपतिले यसले नेपालको लोकवार्ताको अनुसन्धान, संरक्षण र प्रवद्र्धनका लागि सहयोग गरेको बताए। कार्यक्रममा नेपालको लोकवार्तासँग सम्बन्धित पाँच वटा पुस्तक लोकार्पण गरिएको थियो।

 

प्रकाशित मिति: १३:५९ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्